काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने यस प्रदर्शनीको संयुक्त आयोजना मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्रालिले गरेका हुन् । नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्य राखिएको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीहरूको स्टल रहनेछन् । प्रदर्शनीले उद्योग, व्यापार तथा प्रविधिबीच सहकार्य अभिवृद्धि गर्दै यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेपालमा बढ्दो जलविद्युत उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवर्द्धन तथा विद्युतीय पूर्वाधारको विकासलाई थप व्यवस्थित बनाउन प्रदर्शनीले विशेष भूमिका खेल्ने विश्वास आयोजकको छ । साथै ऊर्जा तथा विद्युतीय व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनमार्फत उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।#C6
प्रदर्शनीमा नेपाली उत्पादनसँगै बहुराष्ट्रिय कम्पनीहरूद्वारा उत्पादित ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, अत्याधुनिक स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि र वैकल्पिक ऊर्जा प्रणालीलगायतका सामग्रीहरू प्रदर्शन गरिनेछन् ।
प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, विद्युतीय व्यवसायी, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्वसाधारण गरी तीस हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाइटी अफ कन्सल्टीङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल सहयोगी संस्थाको रूपमा रहेका छन् ।