रसुवा बाढीको क्षतिपछि पुनर्निर्माणको अपेक्षाले शेयर बजारमा सिमेन्ट कम्पनीतर्फ बढ्यो लगानीकर्ताको आकर्षण

Aug 30, 2026 05:32 AM Merolagani



बाबुकृष्ण महर्जन
रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण पछिल्लो दुई दिन शेयर बजारमा दोहोरो दबाब परेको छ । भौतिक संरचनामा पुगेको क्षति र त्यसले अर्थतन्त्रमा पार्ने प्रभावका कारण लगानीकर्तामा अन्योल छाउँदा समग्र बजार राताम्ये हुन पुग्यो । 

प्राकृतिक प्रकोपको उच्च जोखिममा रहने जलविद्युत, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आयो । तर, यसैबीच उत्पादनमूलक समूहअन्तर्गतका सिमेन्ट कम्पनीहरूको शेयर मूल्यमा भने उल्लेख्य वृद्धि र गतिशीलता देखिएको छ।

बाढीका कारण जलविद्युत समूह ओरालो लाग्नुको मुख्य कारण रसुवा क्षेत्रका आयोजनाहरूको बाँध, सुरुङमार्ग र प्रसारण लाइनमा पुगेको ठूलो क्षति हो । विद्युत उत्पादन ठप्प हुने र क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ठूलो लगानी तथा समय लाग्ने भएपछि भविष्यको नाफा घट्ने त्रासले लगानीकर्ताले सेयर बिक्री गरे, जसले समग्र जलविद्युत सूचकांकलाई दबाबमा ल्यायो। यसै क्रममा बिहीबारको बजारको टप लुजर अर्थात् सर्वाधिक गुमाउने कम्पनीहरूको सूचीमा अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४५ प्रतिशतले घटेर ६०४ रुपैयाँमा झरेको छ भने त्रिशूली जलविद्युत कम्पनीको ९ दशमलव २३ प्रतिशतले घटेर ३५४ रुपैयाँ कायम भएको छ । त्यसैगरी, रसुवागढी हाइड्रोपावर र चिलिमे हाइड्रोपावरको सेयर मूल्यमा पनि क्रमशः ८ दशमलव ३८ प्रतिशत र ५ दशमलव १५ प्रतिशतसम्मको ठूलो गिरावट आएको छ।

त्यस्तै, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूको शेयर मूल्य घट्नुको प्रमुख कारण पनि यही विपद् हो। यस्ता ठूला प्रकोपले जनधनको क्षति गराउने भएकाले बीमा र पुनर्बीमा कम्पनीहरूले ठूलो दाबी भुक्तानी दिनुपर्ने दायित्व सिर्जना हुन्छ । अप्रत्याशित दाबी भुक्तानीले कम्पनीहरूको नाफा र जगेडा कोषमा असर पार्ने निश्चित भएपछि लगानीकर्ताले जोखिमबाट बच्न यी समूहका सेयर तुरुन्तै बिक्री गरे। बीमा कम्पनीले जोखिम हस्तान्तरण गर्न पुनर्बिमा गरेको हुने कारणले नेप्सेमा सूचीकृत नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा पनि गिरावट देखियो।

रसुवा लगायतका क्षेत्रमा बाढीले पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि आगामी दिनमा भत्किएका पुल, सडक र जलविद्युत आयोजनाका संरचनाहरूको पुनर्निर्माण व्यापक रूपमा अगाडि बढ्ने निश्चितप्रायः छ । ठूला संरचनाहरूको पुनर्निर्माणमा सिमेन्टको अत्यधिक आवश्यकता पर्ने भएकाले उद्योगहरूको व्यापार र बजार माग बढ्ने बलियो सम्भावना छ । रसुवा बाढीमा कारण करिब २ खर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको समाचारका कारण अन्य क्षेत्रका सेयरमा निराशा छाइरहेको बेला भविष्यमा सिमेन्टको खपत उच्च हुने बलियो अपेक्षाले लगानीकर्ताले उत्पादनमूलक समूहतर्फ ध्यान केन्द्रित गरेका छन् । यसै कारण बिहिबारको टप गेनर तथा उच्च कारोबार हुने कम्पनीहरूको सूचीमा सिमेन्ट उद्योगहरू अगाडि आएका छन्, जसमा घोराही सिमेन्ट ८.१९ प्रतिशतले बढेर ३७० रुपैयाँ पुगेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको शेयर मूल्य ५ दशमलव शून्य ५ प्रतिशतले बढेर ४०८ रुपैयाँ पुगेको छ । त्यस्तै पाल्पा सिमेन्टमा ४.५३ प्रतिशतले वृद्धि स्वरुप ६२१ रुपैयाँ, शिवम सिमेन्ट ४.१७ प्रतिशतको वृद्धिसहित ६५० पुग्दा सर्वोत्तम सिमेन्ट सामान्य वृद्धि सहित ७९३ रुपैयाँमा कारोबार भयो । यता उत्पादनमूलक तथा सिमेन्टसम्बद्ध कम्पनीहरूमा पनि तीव्र खरिद चाप देखिँदा शिवम् सिमेन्टले २१ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सर्वाधिक कारोबार रकम आफ्नो नाममा पार्दै ६५० रुपैयाँ अन्तिम मूल्यमा स्थिर भएको छ ।

कस्तो छ सिमेन्ट कम्पनीको पछिल्लो वित्तीय विवरण

सूचीकृत सिमेन्ट कम्पनीहरूको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार समग्रमा उद्योगको औसत खुद नाफा ५७ दशमलव ८९ प्रतिशतले वृद्धि भई ३९ करोड २२ लाख रुपैयाँ पुगेको छ भने औसत प्रतिशेयर आम्दानी ८ रुपैयाँ २३ पैसा कायम भएको छ । यस अवधिमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले खुद नाफामा ५३८१ दशमलव ८४ प्रतिशतको उच्च छलाङ मार्दै ३३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ र यसको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९६ पैसा तथा बुक भ्यालु २०० रुपैयाँ ८१ पैसा पुगेको छ । त्यस्तै, सर्वोत्तम सिमेन्ट लिमिटेडले ११ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाउँदै २१ रुपैयाँ २० पैसा प्रतिशेयर आम्दानी कायम राखेको छ भने शिवम् सिमेन्ट्सले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरी १४ रुपैयाँ ३० पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ । उता, घोराही सिमेन्ट उद्योगको प्रतिशेयर आम्दानी नकारात्मक ६ रुपैयाँ १३ पैसा र खुद नाफा ३० करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहे पनि अघिल्लो वर्षको तुलनामा यसको नोक्सानी घट्दै गएको छ भने पाल्पा सिमेन्ट इन्डस्ट्रिजको खुद नाफा ३ करोड ९९ लाख रुपैयाँ रहेको छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।