त्यही मन्त्रणा गरेको उपवित लगाउने वैदिक परम्परा र विधि नै जनैपूर्णिमाको मुख्य आकर्षण हो ।आफ्नो ऋषि परम्पराको याद गर्ने दिन भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।
उपनयन संस्कार भएका वा व्रतमा बाँधिएका व्यक्तिले जनै लगाउँछन् । यसले ब्रह्म (ईश्वर) को नजिक लान सहयोग गर्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।
जनैको अर्थ
जनैलाई यज्ञोपवीत भनिन्छ । यज्ञकै लागि संस्कार गरिएको वा निर्माण गरिएको सूत्र यज्ञोपवीत हो । यज्ञसूत्रको अर्को नाम ब्रह्मसूत्र हो । ब्रह्म भनेको चराचर जगत्को मूल कारण परमेश्वर र सूत्र धागो, यी दुई शब्दबाट ब्रह्मसूत्र बनेको छ । ब्रह्मसूत्रको धारणले यज्ञयागादिका माध्यमबाट वेदको ज्ञानपूर्वक ब्रह्मतत्व अर्थात् ईश्वरीय तत्वसंग सम्बन्ध जोडाउने भएकोले यसलाई ब्रह्मसूत्र भनिएको हो भन्ने भनाइ छ ।
देख्दा शरीरमा सामान्य धागो भिरेजस्तो लागे पनि यो सामान्य धागो मात्र होइन । विशेष विधिले निर्माण गरेर वेदमन्त्रद्वारा अभिमन्त्रित गरी देवत्वको आव्हानका साथ तयार पारिएको सूत्र हो । यस्तो सूत्र नै यज्ञोपवीतका निमित्त धारण योग्य बन्दछ । कातिएको कपासको धागो ग्रहण गरी मन्त्रोच्चारणपूर्वक ९६ अंगुल बराबरको धागालाई दायाँ हातका चार औँलामा ९६ पटक बेर्ने र तीन सरा बनाउने त्यसलाई एकै ठाउँमा मिसाएर पुनः तेब्बर पार्ने अनि ती तीन सरालाई एकत्रित गरेर प्रणवमन्त्रसहित ब्रह्मग्रन्थीले जोडिदिने यसरी जनै निर्माण पूरा हुन्छ । ९६ सङ्ख्या वेदमाता गायत्री र गायत्री मन्त्रको प्रतीक हो ।

जनैमा ३ वटा शिखाहरु हुन्छन् ।तीनले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । सत्वगुण,रजोगुण, तमोगुण तथा ब्रह्म, विष्णु, महेश्वर गरी ३ गुण, ३ तत्व, ३ परिस्थिति, ३ स्वभाव जस्ता अलगअलग त्रिकोणात्मक विषयहरु समेट्ने काम ३ वटा शिखाहरुले गर्दछ ।
जनै लगाउने प्रचलनको शुरुवात
किम्बदन्तीअनुसार प्राचीनकालमा श्रावण महिनामा ठूलाठूला ऋषिहरू गाउँगाउँ र नगरमा गएर मानिसहरूमा प्रेम,सद्भाव र आत्मीयता फैलाउन उपदेश दिन जाने गर्दा रहेछन्। श्रावणी अर्थात् जनै पूर्णिमाका दिन रक्षा बन्धन गर्ने ती ऋषिहरूले विभिन्न गाउँमा गएर ठूलाठूला यज्ञ गरेर गृहस्थी मानिसहरूलाई त्यस यज्ञमा भाग लिन लगाउने र भक्तजनहरूले पनि अति नै श्रद्धा राखेर ऋषिबाट गुरु मन्त्र लिने गर्दारहेछन्। ऋषिहरूले पनि मन्त्र दिनुअघि मानिसहरूले सत्य,प्रेम र सद्भावमा सधैँ बस्नुपर्ने उपदेश दिँदा रहेछन्। यसका साथै भक्तजनहरूले पनि गुरुको उपदेश जीवनभरि पालना गर्ने छु भनी सत्य बाचा बोल्दा रहेछन्। त्यही बाचाबन्धनलाई सधैँ पालना गर्छु भनी सम्झना गराई राख्न नै हरेक वर्ष ऋषिहरू मानिसहरूका घरघरमा गई हातमा रक्षा सूत्र बाँधी दिने र जनै धारण गरिदिने चलन रहेको हो।
दानवहरूका महाबली राजालाई जुन सत्यले बाँधिदिए, त्यही सत्यले बाँधिराख्न रक्षा सूत्र बाँधी दिएको हुँ। हे रक्षा सूत्र१ तिमी पनि अचल भई बस्नू भनी रक्षा सूत्र बाँधेका यजमान सत्यमा अचल भएर बस्छ भन्ने अर्थमा रक्षा सूत्र बाँधिदिने हो। रक्षा सूत्र बाँधिदिँदा यस्तो मन्त्र पढिन्छ।
येनबद्धो बली राजा दान मिन्द्रो महाबल।
तेन त्वां प्रतिबध्यानागि रक्षे मां चलमा चल।।
त्यस्तै जनै लगाइदिँदा पनि यसरी मन्त्र पढ्ने गरिन्छ–
यज्ञो पवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात।
आयुष्य मग्यं प्रतिमुञ्च भुभुं यज्ञोपवीतं बलमस्तुतेज।।
यही परम्पराअनुसार ब्राह्मण वा पुरेतले यजमानको हातमा रक्षा सूत्र बाँधिदिने र पुरानो जनै फेरेर नयाँ जनै लगाइदिन्छन्। यजमान सधैँ सत्यतामा बसोस् भनी गुरु पुरेतहरूले आशीर्वाद दिइरहन्छन्। सधैँ यजमानको जीवन सुखमय भएर जीवन सफलतापूर्वक अघि बढिरहोस् भनी पुरेतहरूले आशीर्वाद दिइरहन्छन्।
जनैको वैज्ञानिक महत्त्व
जनै लगाउँदा शरिरको सुक्ष्म स्नायुहरुलाई पनि सक्रिय हुन्छन् र स्नायु प्रणालीलाई संतुलन राख्न मद्दत गर्छ। हातमा बाधिएको रक्षाबन्धनले नाडीमा हुने धडकनको माध्यमबाट रक्तचाप तथा अन्य प्रक्रियालाई पनि संतुलन राख्न केही मद्दत गर्दछ। जनै दाहिने कानमा राख्ने चलन भने हिन्दू धार्मिक/शास्त्रीय परम्परामा वास्तवमै उल्लेखित छ।
कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्ने विश्वास छ । जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ । जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट जोगाउँछ भन्ने बिश्वास छ ।