ऊर्जामा बैंकहरूको लगानीः नबिल र कुमारी अगाडि, एनआईसी एसिया पुछारमा

Sep 03, 2026 06:02 AM Merolagani



नेपालका बैंकहरूले जलविद्युत र ऊर्जा क्षेत्रमा गरेको लगानी राम्रै बढेको छ। केन्द्रीय बैंकको पछिल्लो विवरण अनुसार २०८३ असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले यो क्षेत्रमा कुल ५ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन्। 

तर, सबै बैंकको लगानी भने एकनासको छैन। रकमका हिसाबले नबिल बैंकले सबैभन्दा धेरै लगानी गरेको छ भने कुल कर्जाको हिस्सा हेर्दा कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ।

विवरण अनुसार नबिल बैंकले ५३ अर्ब ५३ करोड रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेकाे छ। यो रकम उसको कुल कर्जाको करिब ११ प्रतिशत हुन आउँछ। यता, ५२ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको कुमारी बैंकको कुल कर्जामा ऊर्जाको हिस्सा १७ दशमलव ४० प्रतिशत पुगेको छ, जुन समग्र बैंकहरूको औसतभन्दा धेरै हो।

वाणिज्य बैंकहरुकाे ऊर्जा क्षेत्र कर्जा लगानी 2083 Asar End

क्र.सं.बैंकऊर्जा क्षेत्र कर्जा (अर्ब रु.)बैंकको कुल कर्जा (अर्ब रु.)कुल कर्जामा हिस्सा
नबिल बैंक ५३.५३ ४,८७९.८२ १०.९७%
कुमारी बैंक ५२.६० ३,०२३.८६ १७.४०%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३६.४८ ३,६०७.३१ १०.११%
लक्ष्मी सनराइज बैंक ३४.१२ ३,२१०.१४ १०.६३%
ग्लोबल आइएमई बैंक ३२.०९ ४,७६८.४० ६.७३%
एनएमबी बैंक ३०.६८ २,६७९.५५ ११.४५%
सानिमा बैंक ३०.४५ २,०६५.२२ १४.७४%
एभरेष्ट बैंक २७.६७ २,४७६.५७ ११.१७%
राष्ट्रिय वाणिज्य बैंक २७.४० ३,४६७.१९ ७.९०%
१० प्राइम कमर्सियल बैंक २६.८७ २,४४५.९७ १०.९९%
११ सिटिजन्स बैंक २४.१६ १,७७३.३२ १३.६३%
१२ सिद्धार्थ बैंक २२.३९ २,४८१.२५ ९.०२%
१३ प्रभु बैंक १९.८८ २,३२१.९० ८.५६%
१४ हिमालयन बैं १८.२५ २,५६५.८४ ७.११%
१५ नेपाल बैंक १७.४७ २,६१७.७१ ६.६७%
१६ माछापुच्छ्रे बैं १६.३२ १,७१२.५३ ९.५३%
१७ कृषि विकास बैंक १३.७६ २,४५७.९४ ५.६०%
१८ नेपाल एसबिआई बैं ११.७२ १,५३१.०८ ७.६६%
१९ स्ट्यान्डर्ड चार्टर्ड बैंक ५.७५ ७०८.६० ८.१२%
२० एनआइसी एशिया बैंक २.२५ २,१११.२८ १.०७%
  जम्मा (२० वाणिज्य बैंक) ५०३.८५ ५२,९०५.४८ ९.५२%

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३६ अर्ब ४८ करोड र लक्ष्मी सनराइज बैंकले ३४ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका छन्। ग्लोबल आइएमई बैंकको लगानी ३२ अर्ब ९ करोड, एनएमबी बैंकको ३० अर्ब ६८ करोड र सानिमा बैंकको ३० अर्ब ४५ करोड रुपैयाँ छ।

सूचीका अन्य बैंकहरूमा एभरेष्ट बैंकले २७ अर्ब ६७ करोड, राष्ट्रिय वाणिज्य बैंकले २७ अर्ब ४० करोड, प्राइम कमर्सियल बैंकले २६ अर्ब ८७ करोड र सिटिजन्स बैंकले २४ अर्ब १६ करोड रुपैयाँ ऊर्जामा लगाएका छन्। सिद्धार्थ बैंकको २२ अर्ब ३९ करोड, प्रभु बैंकको १९ अर्ब ८८ करोड, हिमालयन बैंकको १८ अर्ब २५ करोड, नेपाल बैंकको १७ अर्ब ४७ करोड र माछापुच्छ्रे बैंकको १६ अर्ब ३२ करोड रुपैयाँ लगानी छ।

त्यसैगरी, कृषि विकास बैंकले १३ अर्ब ७६ करोड, नेपाल एसबिआई बैंकले ११ अर्ब ७२ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ अर्ब ७५ करोड रुपैयाँ यो क्षेत्रमा खन्याएका छन्। २० वटा वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंकको लगानी भने सबैभन्दा कम २ अर्ब २५ करोड रुपैयाँ (कुल कर्जाको १ दशमलव ०७ प्रतिशत मात्र) छ।

के देखिन्छ त समग्रमा?

रकमको आधारमा नबिल बैंक ठूलो लगानीकर्ता देखिए पनि कुल कर्जाको आकार ठूला भएकाले यसको प्रतिशत भने कम छ। अर्कोतर्फ, कुमारी बैंकले आफ्नो कुल कर्जाको १७ प्रतिशतभन्दा बढी हिस्सा ऊर्जामा लगानी गरेर अरूलाई पछाडि छाडेको छ। सानिमा र सिटिजन्स बैंक पनि ऊर्जा क्षेत्रमा राम्रो लगानी गर्नेमा पर्छन्।

२० वटा बैंकमध्ये १२ वटा बैंकको लगानी औसतभन्दा कम छ भने ८ वटा बैंक मात्र औसतभन्दा माथि छन्। यसले गर्दा ऊर्जामा हुने लगानी केही गनिएका बैंकहरूमा मात्र बढी केन्द्रित भएको प्रष्ट हुन्छ। नेपाल राष्ट्र बैंकले २०८५ असारभित्र सबै बैंकलाई कुल कर्जाको कम्तीमा १० प्रतिशत ऊर्जा क्षेत्रमा पुर्‍याउनै पर्ने नियम बनाएको छ। त्यसैले, अहिले यो लक्ष्यभन्दा तल रहेका बैंकहरूलाई आगामी दुई वर्षभित्र यो क्षेत्रमा लगानी बढाउनुपर्ने दबाब बढेको छ।