उपत्यकाबाहिरबाट एलपी ग्यास सिलिन्डरमा ‘बोटलिङ’ गर्न थालियो

Sep 03, 2026 09:59 AM Merolagani



पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौंबाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौं छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा भरेर लैजान थालिएको हो।

साल्ट ट्रेडिङ कर्पाेरेसनको एसटीसी ग्यास वीरगन्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ।

बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार, मंगलबार (भदौ १६) चितवनको बाबा ग्यासले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ।

श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा छ। यस्तै, यहाँको साइबाबाले आफ्नै ९०० सिलिन्डर काठमाडौं पठाएको छ।

नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको एक हजार २०० सिलिन्डर भरेर पठाएको छ।

गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको सहारामा काठमाडौंको एभरेस्ट र सुगमको ग्यास भरेर पठाइएको छ। उनले भने, “साल्ट ट्रेडिङ कर्पाेरेसनको एसटीसी ग्यास वीरगन्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ।”

सञ्चालक विमल कालाखेतीका अनुसार, बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाकै लोकप्रिय, सुपर ग्यास, तारा ग्यासलगायतले राजधानीबाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिन्डर त्रिभुवन राजपथबाट पठाउन सुरु गरेका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका सदस्य समेत रहेका सञ्चालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अरू उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताए।

गएको महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको जनाउँदै उनले यो मात्रा हालसम्मको बढी भएको बताए। सोही अनुपातमा ग्यास आइरहेकाले समस्या पर्ने अवस्था नरहेको उनले उल्लेख गरे।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको जानकारी दिए।

उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी भरेर उपत्यका लैजान थालेका छन्। उपत्यका र छिमेकी जिल्लामा कुल खपतको ४० प्रतिशत खपत हुने उनी बताउँछन्।