लाभांश र वित्तीय सूचकबीचको असन्तुलनः कुन कम्पनीको शेयर कति न्यायोचित?

Sep 04, 2026 05:47 AM Merolagani



शेयर बजारमा लगानीकर्ताका लागि कम्पनीले वितरण गर्ने लाभांश सबैभन्दा ठूलो आकर्षणको पक्ष हो। शेयर बजारमा लगानी गर्दा कम्पनीको प्रतिफल क्षमतालाई प्राथमिकता दिइएको हुन्छ।

शेयर बजार जोखिम लगानी क्षेत्र हो। बजारमा लगानी गर्नु अगाडि प्राविधिक र आधारभूत पक्षलाई सुक्ष्म अध्ययन गर्नु पर्छ। जसमा लगानीकर्ताको पहिलो ध्यान कम्पनीले वितरण गर्ने प्रतिफलमा रहेको हुन्छ। तर, लाभांशको दर हेरेर मात्र लगानी गर्नु नै सुरक्षित हुन्छ भन्नेमा ढुक्क हुन नसकिने बिज्ञहरुको भनाइ छ।

हाल दोस्रो बजारमा सूचीकृत कम्पनीहरुकाे लाभांश वितरण गर्ने समय हो। यस अवधिमा नेप्सेमा सूचीकृत भएका ९ वटा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरिसकेका छन्। यस अवधिमा कम्पनीहरुले वितरण गर्न घोषणा गरेको लाभांश दर, बुक भ्यालु र बजार मूल्यबीच सन्तुलन हेर्ने प्रयास गरिएको छ। पछिल्लो समाय नेप्से सूचकमा खासै रौनक देखिदैन। यस्तो अवस्थामा अधिकांश कम्पनीको शेयर मूल्य सस्तो दरमा रहेको आम लगानीकर्ताहरुको बुझाई छ।

यस पटक कम्पनीहरुले बोनश शेयर भन्दा पनि नगद लाभांशलाई प्रथामिकता दिएको देखिन्छ । हालसम्म लाभांश वितरण गर्ने कम्पनीहरु मध्ये सुपर मादी हाइड्रोपावरले सार्वाधिक १५.७८ प्रतिशत लाभाशं वितरण गर्ने घोषणा गरेको छ। त्यसैगरी, एभरेष्ट बैंक १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोश शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। त्यसैगरी कामना सेवा विकास बैंक १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

तर, यी कम्पनीहरूको बजार मूल्य र लाभांशको अनुपात हेर्दा भिन्न चित्र देखिन्छ। उदाहरणका लागि, १५ प्रतिशत लाभांश दिने एभरेष्ट बैंकको शेयर किन्न ७१६ रुपैयाँ तिर्नुपर्छ। अर्कोतर्फ, १० प्रतिशत लाभांश दिने ग्लोबल आइएमई बैंकको मूल्य मात्र २५० रुपैयाँ छ। यसको अर्थ, थोरै लगानीमा धेरै प्रतिफल (डिभिडेन्ड यिल्ड) खोज्ने लगानीकर्ताका लागि महँगो बजार मूल्य भएका कम्पनीभन्दा सस्तो मूल्य भएका र राम्रो लाभांश दिने कम्पनी बढी फाइदाजनक हुने बजार विश्लेषकहरुको बुझाई छ।

कम्पनीको वास्तविक मूल्य अर्थात् बुक भ्यालु र बजार मूल्यबीचको सन्तुलन अर्को महत्त्वपूर्ण पक्ष हो। अन्तर्राष्ट्रिय लगानीको सिद्धान्त अनुसार, बजार मूल्य बुक भ्यालुको तुलनामा १.५ देखि २ गुणासम्म हुनुलाई न्यायोचित मानिन्छ। तथ्याङ्कमा ग्लोबल आइएमई बैंकको बजार मूल्य यसको बुक भ्यालुको करिब १.३ गुणा मात्र छ। जुन लगानीका लागि निकै सुरक्षित संकेत हो। तर, माण्डु हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको बजार मूल्य उनीहरूको बुक भ्यालुको ४ गुणाभन्दा बढी पुगेको छ। यस्तो अवस्थामा कम्पनीको आन्तरिक सम्पत्ति भन्दा बजारमा मागका आधारमा मात्र मूल्य बढेको प्रष्ट पाइन्छ।

मूल्य आम्दानी अनुपात (पीई रेसियो)ले शेयर कति महँगो छ भन्ने अन्तिम पुष्टि गर्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा १५ देखि २० सम्मको पीई रेसियोलाई लगानीका लागि सुरक्षित मानिन्छ। पीई रेसियोको आधारमा सानिमा बैंक र ग्लोबल आइएमई बैंक सबैभन्दा सुरक्षित देखिन्छन्। यसको विपरित निफ्राको पीई रेसियो ५२.५ र माण्डु हाइड्रोपावरको ३१.८७ छ। ५२.५ पीई रेसियोको अर्थ हुन्छ, लगानीकर्ताले एक रुपैयाँ कमाउनका लागि ५२ रुपैयाँभन्दा बढी खर्च गरिरहेका छन्। यस्तो उच्च पीई रेसियोले बजारमा बबल वा अत्यधिक मूल्य वृद्धिको जोखिमलाई संकेत गरेको लगानीकर्ताहरुको बुझाई छ।

समग्रमा, एभरेष्ट बैंक र कामना सेवा जस्ता कम्पनीको लाभांशले लगानीकर्तालाई लोभ्याउने गरि प्रतिफल वितरण गरेका छन् । दोस्रो बजारमा उच्च मूल्यले ती कम्पनीहरुले घोषणा गरेको प्रतिफल दरलाई घटाएको लगानीकर्ताहरुको भनाई छ। अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार कम्पनीको आम्दानी, सम्पत्ति र बजार मूल्यबीच सन्तुलन हुनुपर्छ। तथ्याङ्क विश्लेषण गर्दा बैंकिङ क्षेत्रका कम्पनीहरूमा यो सन्तुलन मिलेको देखिन्छ भने हाइड्रोपावर र अन्य क्षेत्रका कम्पनीहरूको मूल्यांकन निकै उच्च छ। त्यसैले, सचेत लगानीकर्ताले लाभांशको अंकमा मात्र नलोभिएर पीई रेसियो र बुक भ्यालुको अवस्थालाई समेत हेरेर लगानीकर्ताले निर्णय लिनुपर्ने आम बुझाई छ।