खसीको भनेर बाख्रीको मासु बेच्ने तीन जना रातोपुलबाट पक्राउ

Sep 07, 2026 01:36 PM Merolagani



राजधानीको रातोपुल क्षेत्रमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

रातोपुल नजिकै रहेको सफिक मासु पसल सञ्चालन गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा भारतको सितामढी घर भई रातोपुल बस्ने २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोटका १८ वर्षीय अरुण कार्की र मकवानपुर हेटौँडाका २१ वर्षीय सुजन रसाइली रहेका छन्। उनीहरूले प्रतिकिलो १८ सय रुपैयाँका दरले खसीको मासुको मूल्य लिएर ग्राहकलाई बाख्रीको मासु झुक्क्याएर बेच्ने गरेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उक्त पसलबाट बाख्रीको मासु र काट्नका लागि ठिक्क पारिएको अर्को एउटा जीवित बाख्री समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखेर ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ।

चाडबाड नजिकिँदै गर्दा बजारमा यस्ता ठगीका घटना बढ्न सक्ने भन्दै प्रहरीले उपभोक्ताहरूलाई सचेत रहन र शङ्का लागेमा तत्काल जानकारी दिन आग्रह गरेको छ।