कृष्णभीरको अवरोधले यातायात क्षेत्रमा ठूलो असरः एक हप्ताभित्र सुचारु होला त ?

Sep 08, 2026 12:54 PM Merolagani



राजधानी काठमाडौँको ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएरपछि करिब १० दिनदेखि समग्र यातायात क्षेत्र अवरुद्ध छ ।

यो राजमार्ग अवरुद्ध हुँदा काठमाडौं हुँदै देशका विभिन्न जिल्लामा पुग्ने लामो तथा छोटो दूरीका सवारीहरु चल्न सकेका छैनन् ।

खासगरी, लामो दूरीमा चल्ने ठूला बसहरुले सेवा दिन सकेका छैनन् । त्यतिमात्र होइन्, काठमाडौंलाई हरेक दिन आवश्यक पर्ने आपूर्ति र ढुवानी पनि यसै राजमार्गमार्फत हुने गरेको थियो । राजमार्ग अवरुद्ध भएपछि अत्यावश्यक वस्तुको मूल्य बढेको छ । आपूर्ति सहज नहुँदा ग्यासको अभावले उपभोक्ता मर्कामा छन् ।

राजमार्ग अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने यात्रुहरु मर्कामा छन् । गाडी चलाउन नपाउँदा यातायात व्यवसायीलाई समेत ठूलो नोक्सानी भएको छ । भदौ १० गतेको विनाशकारी बाढी र पहिरोपछि अवरुद्ध सडक खुलाउन पहल भइरहे पनि भौगोलिक जटिलता र सडकमा देखिएका चिराहरूले थप चुनौती थपेका छन्।

२४सै घण्टा काम, तर प्रकृति बाधक

सडक विभागले यातायात सुचारु गराउन रातिको समयमा समेत ‘फ्लड लाइट’ प्रयोग गरेर कामलाई तीव्रता दिएको छ। १४ भन्दा बढी मेसिनरी उपकरणहरू परिचालन गरिएका छन्। हाल देखिएका चिराहरूलाई तत्काल ‘सिल’ गर्ने काम भइरहेको छ ताकि वर्षाको पानी भित्र पसेर थप पहिरो नजाओस्। सडक विभागले नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूको परामर्शमा माटोको प्राविधिक विश्लेषण पनि सुरु गरेको छ।

एक हप्ताभित्र सहज होला त ?

यता, प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामार्फत कृष्णभीरको समस्या भदौ महिनाभित्र सम्पन्न गरेर यातायात सुचारु गर्ने उद्घोष गरेका छन् । भदौ महिना सकिन अब एक हप्ता बाँकी छ ।

उपभोक्ता र व्यवसायीहरूको प्रश्न छ, अबको एक हप्तामा सडक पूर्ण रूपमा सुचारु होला ? सडक विभागको लक्ष्य एक हप्ताभित्र कम्तीमा एकतर्फी रूपमा ठूला सवारी साधन (इन्धन र ग्यासका बुलेट) पठाउने रहेको छ।

जोखिम भने कायमै

हाल कृष्णभीरमा सडक भासिएर नयाँ ट्रयाक खोल्ने काम अघि बढिहरको छ । त्यसमा जोखिम भने अझै कायमै छ । यदि नयाँ ट्र्याकमा देखिएका चिराहरू गहिराइसम्मै पुगेका छन् भने सडक भासिने डर अझै रहने देखिन्छ ।

त्यस्तै, पुनः वर्षा भएमा पहाडको माथिल्लो भागबाट थप लेदो र ढुङ्गा खस्ने जोखिम कायमै छ। कृष्णभीरको यो सकसले काठमाडौँमा ग्यास, पेट्रोल र खाद्यान्नको आपूर्तिमा ठूलो असर पारेको छ। हाल ग्यासका सिलिन्डरहरू ट्रकमा हालेर कान्ति लोकपथ र त्रिभुवन राजपथबाट ल्याउने विकल्प अपनाइए पनि यो महँगो र झन्झटिलो छ। त्यसैले, काठमाडौँको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको सडक सुचारु हुनुको विकल्प छैन।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।