निर्माण लागत १.९४ प्रतिशतले बढ्यो, बिजुलीको तार र इँटाको मूल्यमा उच्च वृद्धि (तथ्याङ्कसहित)

Sep 09, 2026 12:21 PM Merolagani



पछिल्लो एक वर्षमा निर्माण सामग्री तथा श्रमिकको ज्यालादरमा भएको मूल्यवृद्धिका कारण समग्र निर्माण लागत बढेको छ। 

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख–असार) को ‘निर्माण सामग्री मूल्य सूचकाङ्क’ (IPICS) अनुसार गत आर्थिक वर्षमा समग्र निर्माण लागत वार्षिक औसत १.९४ प्रतिशतले बढेको छ।

आधार वर्ष २०७१/७२ लाई १०० मानेर तयार पारिएको प्रतिवेदन अनुसार आव २०८२/८३ मा समग्र मूल्य सूचकाङ्क १५५.६ अङ्क पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा १५२.६ अङ्क थियो।

चौथो त्रैमासिक (असार मसान्त) को तुलनामा मात्रै हेर्दा अघिल्लो वर्षको सोही अवधिको तुलनामा (Year-on-Year) समग्र सूचकाङ्क ३.८६ प्रतिशतले र अघिल्लो त्रैमासको तुलनामा १.७८ प्रतिशतले बढेको देखिन्छ।

कुन सामग्रीको मूल्य कति बढ्यो/घट्यो?

समग्र निर्माण लागतमा ७०.५० प्रतिशत भार ओगट्ने निर्माण सामग्रीहरूको औसत वार्षिक सूचकाङ्क १.३४ प्रतिशतले बढेको छ। सामग्रीहरूमध्ये बिजुलीको तार र इँटाको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ भने फलामे रड र काठको मूल्यमा गिरावट आएको छ।

  • बिजुलीको तार (Electrical Wire): यसको मूल्यमा सबैभन्दा उच्च वृद्धि देखिएको छ। अघिल्लो वर्षको तुलनामा यसको वार्षिक औसत मूल्य २१.६५ प्रतिशतले बढेको छ भने चौथो त्रैमासिकको तुलनामा वार्षिक बिन्दुगत (Y-o-Y) वृद्धिदर ३४.३६ प्रतिशत पुगेको छ।

  • इँटा (Bricks): इँटाको मूल्य वार्षिक औसत ९.२० प्रतिशत र चौथो त्रैमासिकमा वार्षिक बिन्दुगत आधारमा १७.९४ प्रतिशतले बढेको छ।

  • सिमेन्ट र गिट्टी/ढुङ्गा: सिमेन्टको वार्षिक औसत मूल्य ४.६० प्रतिशतले बढेको छ भने गिट्टी/ढुङ्गा/कङ्क्रिट समूहमा ३.९९ प्रतिशतको वृद्धि देखिएको छ।

  • जीआई पाइप र बिटुमिन: जीआई पाइप तथा यसका सामानको मूल्य वार्षिक ५.७६ प्रतिशतले बढेको छ। त्यस्तै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको चौथो त्रैमासमा वार्षिक बिन्दुगत वृद्धिदर ११.४३ प्रतिशत देखिएको छ।

मूल्य घटेका सामग्रीहरू:

  • ह्युम पाइप: ह्युम पाइपको मूल्यमा वार्षिक औसत १२.२९ प्रतिशत को भारी गिरावट आएको छ।

  • काठ (Wood): काठको मूल्य वार्षिक ६.९३ प्रतिशतले घटेको छ।

  • फलामे छड (Iron Rod): निर्माण क्षेत्रको मुख्य सामग्री फलामे छडको वार्षिक औसत मूल्यमा २.५९ प्रतिशत ले कमी आएको छ।

श्रमिकको ज्यालादरमा २.९२ प्रतिशतको वृद्धि

निर्माण क्षेत्रमा २९.५० प्रतिशत भार रहेको मानव संशाधन (ज्यालादर) को वार्षिक औसत सूचकाङ्क २.९२ प्रतिशतले बढेर २०२.७ पुगेको छ।

सबैभन्दा धेरै हिस्सा ओगट्ने सामान्य श्रमिक (Labour) को ज्यालादर वार्षिक औसत ३.१२ प्रतिशत ले बढेको छ।

  • पेन्टर (Painter): ज्यालादर वार्षिक ५.०५ प्रतिशतले वृद्धि।

  • सब-इन्जिनियर (Sub Engineer): वार्षिक ३.८५ प्रतिशतले वृद्धि।

  • सुपरभाइजर (Supervisor): वार्षिक ३.४५ प्रतिशतले वृद्धि।

  • इन्जिनियर (Engineer): ज्यालादर वार्षिक २.५७ प्रतिशतले वृद्धि।

  • डकर्मी/मेसन (Mason): ज्यालादर वार्षिक २.५० प्रतिशतले वृद्धि।

  • सिकर्मी (Carpenter): ज्यालादर वार्षिक २.३२ प्रतिशतले वृद्धि।

  • इलेक्ट्रिसियन (Electrician): ज्यालादर वार्षिक २.०९ प्रतिशतले वृद्धि।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार निर्माण सामग्रीको मूल्यमा भएको फेरबदल र श्रमिकको बढ्दो ज्यालादरले आवासीय तथा सार्वजनिक पूर्वाधार निर्माणको कुल लागतमा प्रत्यक्ष प्रभाव पारेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।