कम्पनीको आम्दानी उच्च, शेयर मूल्य ‘क्रयास’: नेपाली लगानीकर्ताले सिक्नुपर्ने बुधबार अमेरिकी शेयर बजारमा भएको एउटा अनौठो घटना

Sep 10, 2026 02:38 PM Merolagani



शेयर बजारमा कारोबार गर्दा लगानीकर्ताले हेर्ने, बुझ्ने र विश्लेषण गर्ने कुरा हो-कम्पनीको नाफा, समग्र वित्तीय अवस्थासहितको पोर्टफोलियो र विगतको अवस्था ।

नेपालका लगानीकर्ताले मात्र होइन, विश्वभरका लगानीकर्ताले शेयर खरिद गर्नु अघि गर्ने त्यही हो । तर, ती सबै सूचकहरु अब्बल देखिदा देखिदै पनि कुनै कम्पनीको शेयर ‘क्रयास’ नै हुने गरि घट्न सक्छ ?  धेरैको लागि यो अविश्वसनिय कुरा हो ।

तर, बुधबार अमेरिकी शेयर बजारमा भएको एउटा घटनाले भने धेरै लगानीकर्ताहरुलाई झस्काएको छ ।

प्रसंग प्रविधिसम्वन्धि कम्पनी सर्भिस टाइटनको हो । मंगलबार अमेरिकी सफ्टवेयर कम्पनी सर्भिस टाइटनले बजारको अपेक्षाभन्दा राम्रो त्रैमासिक नतिजा सार्वजनिक गर्‍यो । आम्दानी करिब २१ प्रतिशत बढ्यो, समायोजित प्रतिशेयर नाफा पनि विश्लेषकको अनुमानभन्दा माथि आयो । कम्पनीको शेयर अघिल्लो कारोबार दिन करिब ८१.५८ डलर  थियो । सेप्टेम्बर ९ मा बजार खुलेपछि बिक्रीको चाप अत्यधिक बढ्यो र शेयर दिनभर करिब ५५.५५ डलरसम्म झर्‍यो । अन्ततः ५७.१२ डलरमा बन्द भयो । 

अर्थात् कम्पनीले ‘अति राम्रो’ रिपोर्ट सार्वजनिक गरेको भोली पल्ट शेयरधनीको विचल्ली भयो । एकैदिन करिब २४.४६ डलर, अर्थात् २९.९८ प्रतिशत मूल्य घट्यो ।

झन् महत्त्वपूर्ण कुरा, बजार पुँजीकरण घटेर करिब ४.७४ अर्ब डलरमा आयो। कारोबार पनि असाधारण रूपमा बढ्यो—करिब २२.८ मिलियन कित्ता शेयर कारोबार भयो, जबकि ५० दिनको औसत कारोबार करिब १.३४ मिलियन कित्ता मात्र थियो।

अर्थात् यो केही लगानीकर्ताले शेयर बेचेको सामान्य घटना होइन, बजारको ठूलो हिस्साले कम्पनीको मूल्यांकन पुनःनिर्धारण गरेको घटना हो ।

तर कम्पनीको  अवस्था वास्तवमा कस्तो थियो ?

कम्पनीको दोस्रो त्रैमासिक आम्दानी: २९२.८ मिलियन डलर

अघिल्लो वर्षको सोही अवधिमा करिब: २४२.१ मिलियन डलर अर्थात् आम्दानी करिब  २१ प्रतिशत बढ्यो । विश्लेषकले आम्दानी करिब २८५.९६ मिलियन डलर हुने अनुमान गरेका थिए ।

वास्तविक:  २९२.७६ मिलियन डलर

अर्थात् कम्पनीले बजारको अपेक्षाभन्दा करिब ६.८ मिलियन डलर बढी आम्दानी गर्‍यो।

प्रतिशेयर समायोजित नाफा:

अपेक्षा — ०.३५ डलर

वास्तविक — ०.४० डलर

अर्थात् अपेक्षाभन्दा करिब १४.२ प्रतिशत राम्रो।  त्यसैले ३० प्रतिशतको गिरावटले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ—के बजारले तत्कालको कमजोर संकेतलाई आवश्यकताभन्दा ठूलो सजाय दिएको हो ?

कतिपय विश्लेषकले यस्तै धारणा राखेका छन् । Truist Securities ले शेयरमा ‘Buy’ मूल्यांकन कायम राख्दै लक्ष्य मूल्य ११० बाट १०० डलरमा मात्र घटाएको छ। Google Finance मा देखिएका पछिल्ला विश्लेषक मूल्यांकनमा पनि अधिकांशले ‘Buy’ कायम राखेका छन्। त्यसैले पहिलो नजरमा प्रश्न स्वाभाविक छ—यति राम्रो नतिजा आएको कम्पनीको शेयर किन झर्‍यो ?

कारण १ : आगामी त्रैमासिकको अनुमान कमजोर भयो

यही नै शेयर बजारको मुख्य प्रतिक्रिया हो । कम्पनीले आगामी तेस्रो त्रैमासिकमा २८५ देखि २८७ मिलियन डलर आम्दानी हुने अनुमान गर्‍यो ।

तर विश्लेषकहरूको अपेक्षा: २८८ मिलियन डलर

अर्थात् कम्पनीले बजारले सोचेभन्दा केही कम आम्दानी हुने संकेत गर्‍यो। अन्तर केवल करिब १–३ मिलियन डलर हो । तर शेयर बजारमा यही सानो अन्तरले ठूलो असर पार्‍यो ।

किन ?

किनभने लगानीकर्ताले कम्पनीको आजको नतिजालाई पहिले नै शेयरको मूल्यमा समावेश गरिसकेका थिए । उनीहरूलाई चाहिएको थियो—राम्रो नतिजा  होइन, अपेक्षाभन्दा असाधारण रूपमा राम्रो भविष्य। त्यो संकेत नआएपछि शेयर बेच्न थाले।

 कारण २ : कम्पनी नाफामा देखिए पनि वास्तविक लेखा हिसाबमा अझै घाटा

सर्भिस टाइटनले समायोजित हिसाबमा प्रतिशेयर ०.४० डलर नाफा देखाएको हो । तर सामान्य लेखा प्रणालीअनुसार कम्पनी अझै खुद घाटामा छ।

पछिल्लो उपलब्ध वित्तीय विवरणमा कम्पनीको त्रैमासिक खुद नाफा करिब २२.८ मिलियन डलर घाटा देखिएको छ। अघिल्लो त्रैमासिकमा घाटा करिब २१.९ मिलियन डलर थियो।

यसले नेपाली लगानीकर्तालाई एउटा महत्त्वपूर्ण पाठ दिन्छ—प्रतिशेयर नाफा मात्र नहेर्नुहोस्, खुद नाफा, सञ्चालन नाफा र नगद प्रवाह पनि हेर्नुपर्छ।

कारण ३ : नाफा बढ्ने गति पनि घट्दैछ

कम्पनीको आम्दानी करिब २१ प्रतिशत बढे पनि नाफाको वृद्धि त्यति बलियो रहेन। Investor's Business Daily का अनुसार दोस्रो त्रैमासिकमा प्रतिशेयर समायोजित नाफाको करिब २१ प्रतिशत वृद्धि पछिल्ला कम्तीमा आठ त्रैमासिकमध्ये सबैभन्दा सुस्त वृद्धि थियो ।

अर्थात् कम्पनी अझै बढिरहेको छ। तर समस्या वृद्धि रोकियो भन्ने होइन।  समस्या वृद्धिको गति घट्दैछ भन्ने हो । शेयर बजारमा उच्च मूल्यांकन भएका कम्पनीका लागि यो ठूलो कुरा हो।

कारण ४ : कृत्रिम बुद्धिमत्ताको योजना अहिले आम्दानीमा उल्टै दबाब

सर्भिस टाइटनले आफ्नो ‘Max’ नामको कृत्रिम बुद्धिमत्तामा आधारित उत्पादनलाई तीव्र रूपमा विस्तार गरिरहेको छ।  यसअन्तर्गत कम्पनीले नयाँ ग्राहकका लागि सुरुआती शुल्क हटाउने र आम्दानीलाई लामो अवधिमा बाँडेर लिने व्यवस्था गरेको छ। यसको उद्देश्य भविष्यमा धेरै ग्राहक जोड्नु हो ।

तर छोटो अवधिमा यसले कम्पनीको आम्दानीमा करिब ४–५ मिलियन डलरको दबाब पार्न सक्ने विश्लेषकहरूले बताएका छन् । अर्थात् कम्पनीले अहिले केही आम्दानी त्यागेर भविष्यको ठूलो बजार कब्जा गर्न खोजिरहेको छ।

तर शेयर बजारका लगानीकर्ताले प्रश्न गरे—भविष्यको नाफा कहिले आउँछ ? यही अनिश्चितताले शेयरमा दबाब बढायो।

नेपाली लगानीकर्ताले यसबाट के सिक्ने ?

१. नाफा बढ्यो भन्दैमा शेयर बढ्दैन 

यो सबैभन्दा पहिलो पाठ हो । यदि बजारले कम्पनीले ५० प्रतिशत नाफा बढाउँछ भनेर पहिले नै अपेक्षा गरेको छ र कम्पनीले ३० प्रतिशत मात्र बढायो भने नाफा बढे पनि शेयर घट्न सक्छ। सर्भिस टाइटनमा यही मनोविज्ञान देखियो।

२. कम्पनीको नाफा र शेयरको नाफा एउटै होइन

कम्पनीको नाफा बढ्नु भनेको शेयरधनीले त्यही अनुपातमा पैसा कमाउँछन् भन्ने होइन। शेयरको मूल्यमा पहिल्यै भविष्यको वृद्धि समावेश भएको हुन सक्छ।

त्यसैले लगानी गर्दा  कम्पनीले कति कमाउँछ ? सँगै  बजारले उसले कति कमाउने अपेक्षा गरेको छ ? भन्ने प्रश्न पनि सोध्नुपर्छ ।

३. ‘समायोजित नाफा’ र वास्तविक खुद नाफा छुट्याउनुपर्छ

सर्भिस टाइटनले ०.४० डलर प्रतिशेयर समायोजित नाफा देखाए पनि सामान्य लेखा हिसाबमा खुद घाटा करिब २२.८ मिलियन डलर छ। त्यसैले नेपाली कम्पनीको त्रैमासिक विवरण हेर्दा पनि खुद नाफा, सञ्चालन नाफा, प्रतिशेयर आम्दानी, नगद प्रवाह, ऋण, समायोजित नाफा सबैलाई अलग-अलग हेर्नुपर्छ। एउटा मात्र अंक हेरेर शेयर किन्नु जोखिमपूर्ण हुन्छ।

४. भविष्यको अनुमान पढ्न सिक्नुपर्छ

सर्भिस टाइटनको सबैभन्दा ठूलो समाचार नाफा कमाउनु थिएन। त्योभन्दा ठूलो समाचार अर्को त्रैमासिकमा अपेक्षा गरिएकोभन्दा कम आम्दानी हुने संकेत थियो । त्यसले स्वभाविकरुपमै लगानीकर्तालाई निराश बनायो ।

त्यसैले कम्पनीको वित्तीय विवरण पढ्दा अन्तिम पृष्ठमा रहेको नाफा मात्र होइन, व्यवस्थापनले आगामी त्रैमासिक र वर्षबारे के भनेको छ भन्ने पनि पढ्नुपर्छ।

५. ठूलो कारोबार आफैंमा राम्रो संकेत होइन

त्यो दिन सर्भिस टाइटनको करिब  २२.८ मिलियन कित्ता शेयर कारोबार भयो, जबकि ५० दिनको औसत करिब १.३४ मिलियन थियो।  अर्थात् कारोबार करिब १७ गुणासम्म बढ्यो। तर ठूलो कारोबारसँगै मूल्य ३० प्रतिशत घट्यो।

यसले नेपाली लगानीकर्तालाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछ—कारोबार बढ्दैमा शेयर बढ्छ भन्ने मान्यता, सिद्धान्त, नियम केही छैन । त्यो संयोगको मात्रै कुरा हो । ठूलो कारोबार किन्ने र बेच्ने दुवैको ठूलो संघर्ष पनि हुन सक्छ।

त्यसैले शेयर किन्दा कम्पनीको आजको नाफा मात्र नहेर्नुहोस्, बजारले भोलिको नाफाबाट कति अपेक्षा गरिसकेको छ भन्ने बुझ्नुहोस्  ।  यही ठाउँमा राम्रो कम्पनी र राम्रो लगानी बीचको फरक सुरु हुन्छ।

(Investor's Business Daily, याहु फाइनान्स, गुगल फाइनान्सलगायतका संचारमाध्यममा प्रकाशित समाचारमा आधारित विश्लेषण । नेपाली सन्दर्भ मेरो लगानीको आन्तरिक विश्लेषण हो ।)




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।