यस दिन नेप्से परिसूचक १३.८५ अंक घटेर २५३१.५५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्ब १९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४१ स्टकको ४४ हजार १९८ पटकको कारोबारमा ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३२ रुपयाँ १० पैसा बढेर २४६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन दोल्ती पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन सर्वाधिक १४.९८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँभन्दा बढीकाे शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।
यस दिन पनि १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।