इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित आवेदन दिन सक्नेछन्। दरखास्त दिने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा लगतै कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।
उम्मेदवार हुनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको हुनुपर्नेछ। साथै, प्रचलित कानूनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्ने योग्यता पनि तोकिएको छ।
आवेदनसाथ पेस गर्नुपर्ने कागजातहरूमा उम्मेदवार स्वयंले प्रमाणित गरेका कागजातहरू, तीन हजार शब्दमा नबढ्ने गरी तयार पारिएको रणनीतिक कार्ययोजना, एक हजार शब्दमा नबढ्नै गरी तयार पारिएको उल्लेखनीय उपलब्धिसम्बन्धी प्रतिवेदन, र विभागीय स्वीकृति पत्र अनिवार्य गरिएको छ। उम्मेदवारले १५ हजार रुपैयाँ आवेदन दस्तुर नबिल बैंक लिमिटेड, तीनधारा शाखामा रहेको खातामा जम्मा गरी बैंक भौचर पेस गर्नुपर्नेछ।
दरखास्त फारम तथा कागजातहरू नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंस्थित कार्यकारी प्रमुखको सचिवालयमा बुझाउन सकिनेछ। यसका साथै इमेलमार्फत पनि कागजातहरू पठाई आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यससम्बन्धी थप विस्तृत जानकारी बोर्डको आधिकारिक वेबसाइटबाट लिन सकिनेछ।