नवनियुक्त उद्योगमन्त्रीले गरे ग्यासमा कडाइ, बढी मूल्य लिने किराना पसललाई ३ लाख जरिबाना

Sep 11, 2026 01:46 PM Merolagani



नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार शाह नियुक्त भएलगत्तै सरकारले खाना पकाउने एलपी ग्यासको बिक्रीमा कडाइ थालेको छ।

सरकारी निर्धारित मूल्यभन्दा बढी रकम असुल गरेर ग्यास बिक्री गर्ने एक किराना पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिबाना गरेको छ।

विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित अनिल किराना पसलले तोकिएको मूल्यभन्दा महँगोमा एलपी ग्यास बिक्री गरेको भेटिएपछि तत्काल कारबाही गरिएको हो।

विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार पसलले सरकारबाट निर्धारित प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँको मूल्यविपरीत सुगम ग्यास २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो।

सरकारी मूल्यभन्दा प्रतिसिलिन्डर ५ सय ४० रुपैयाँ बढी असुल गरेको प्रमाण भेटिएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम पसललाई ३ लाख रुपैयाँ जरिबाना गरेको जनाएको छ।

ग्यासको कृत्रिम अभाव र कालोबजारीको गुनासो बढिरहेका बेला विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो। सरकारले तोकेको मूल्यभन्दा बढी रकम असुल गर्ने व्यवसायीमाथि तत्काल कारबाही गरिने विभागले जनाएको छ।

नयाँ आपूर्ति मन्त्री शाह नियुक्त भएसँगै एलपी ग्यासको मूल्य, आपूर्ति तथा बजारमा भइरहेको सम्भावित कालोबजारी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको संकेतका रूपमा पछिल्लो कारबाहीलाई हेरिएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।