भेन्डर कम्पनी ‘वाइको’को बन्धकमा सिंगो पूँजी बजार: डाटा सेन्टरमा र्‍यानसमवेयर आक्रमण हुँदा नेप्सेले किन चलाएन डीआर ?

Sep 21, 2026 11:58 AM Merolagani



करोडौँ लगानीकर्ताको सम्पत्ति र मुलुकको अर्थतन्त्रको ऐना मानिने पूँजी बजार एउटा प्रविधि भेन्डर कम्पनी र डाटा सेन्टरको प्राविधिक असक्षमताको बन्धक बनेको छ। 

डाटा सेन्टर ‘डाटा हब प्रा.लि.’ मा प्राविधिक समस्या (र्‍यान्समवेयर आक्रमण) आएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित कारोबार नै स्थगित गरेर आफ्नो चरम गैरजिम्मेवारीपन प्रदर्शन गरेको छ।

नेप्सेले “कारोबार प्रणालीमा क्षति पुग्न सक्ने र ब्रोकर एसोसिएसनले समेत माग गरेको” बहाना बनाउँदै धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम कारोबार रोकेको सूचना टाँसेर पन्छिन खोजेको छ। तर, पर्दापछाडिको यथार्थ भने नेप्सेको कमजोर व्यवस्थापन, भेन्डर कम्पनीसँगको मिलेमतो र डिजास्टर रिकभरी (DR) प्रणालीको चरम असफलतासँग जोडिएको छ।

डाटा सेन्टरमा समस्या आउँदा ‘डिजास्टर रिकभरी (DR)’ किन चलेन ?

कुनै पनि अनलाइन वित्तीय प्रणालीको मेरुदण्ड भनेको यसको मुख्य डाटा सेन्टर (DC) डाउन हुँदा तत्काल काम थाल्ने ‘डिजास्टर रिकभरी (DR)’ प्रणाली हो। ब्रोकरहरू र नेप्सेको पुरानो टीएमएस सञ्चालन गरिरहेको भेन्डर कम्पनी वाइको (YCO) ले ब्याकअप र डीआर सर्भर रेडी राख्ने नाममा प्रतिमहिना मोटो रकम (करिब ७० हजार रुपैयाँभन्दा बढी) असुल्दै आएको छ।

यदि मुख्य डाटा सेन्टरमा र्‍यानसमवेयर आक्रमण वा अन्य प्राविधिक गडबडी आएको थियो भने तत्काल डीआर प्रणालीबाट कारोबार सञ्चालन हुनुपर्थ्यो। तर, लाखौँ रुपैयाँ शुल्क बुझाएर राखिएको डीआर प्रणाली संकटको बेला किन प्रयोगमा आएन ? पैसा उठाएर पनि ब्याकअप प्रणाली चुस्त नराख्ने भेन्डरलाई कारबाही गर्नुको साटो नेप्से किन उसको असक्षमतालाई ढाकछोप गर्न सिङ्गो बजार नै बन्द गरेर बस्यो ? यो गम्भीर छानबिनको विषय बनेको छ।

अरू प्रणाली चल्दा सिंगो बजार नै किन रोक्नुपर्‍यो ?

हाल बजारमा सबै ब्रोकरहरू वाइकोको एउटै डाटा हबमा मात्र निर्भर छैनन्। डिजी हब (Digi) अन्तर्गतका करिब २५–२६ वटा ब्रोकर र नासाजस्ता कम्पनीहरूको आफ्नै छुट्टै सर्भर र प्रणालीहरू निर्बाध रूपमा चलिरहेका थिए।

जसको प्रणाली सुरक्षित र चालू अवस्थामा थियो, उनीहरूको कारोबारलाई निरन्तरता दिन वा वैकल्पिक व्यवस्था गर्न सकिने विकल्प खुला हुँदाहुँदै एउटा भेन्डर (वाइको/डाटा हब) को कमजोरीका कारण सिंगो ५० लाखभन्दा बढी लगानीकर्तालाई कारोबारबाट वञ्चित गरिनु नेप्से नेतृत्वको अक्षमता हो।

र्‍यानसमवेयर आक्रमणको यथार्थ लुकाउने प्रयास

प्राप्त जानकारी अनुसार डाटा हबमा रहेको वाइकोको टीएमएस प्रणालीमा र्‍यानसमवेयर (ह्याकिङ/मालवेयर) आक्रमण भएपछि प्रणाली डाउन गर्नुपरेको हो। तर, नेप्सेले यसलाई सामान्य ‘प्राविधिक समस्या’ भन्दै वास्तविकता लुकाउने प्रयास गरेको छ। वित्तीय बजारको साइबर सुरक्षामा यति ठूलो खेलबाड हुँदा र डेटा सुरक्षामा जोखिम निम्तिँदा समेत नेप्से नेतृत्वले वास्तविक कारण खुलाउनुको सट्टा ब्रोकरहरूको निवेदनलाई ढाल बनाएर बजार बन्द गरिदिएको छ।

नेप्से नेतृत्वमाथि उठाइएका गम्भीर सवालहरू:

  1. डीआर प्रणालीको नाममा ठगी किन ?
    प्रति महिना ब्याकअप र डाटा रिकभरीको नाममा शुल्क लिने कम्पनीले समस्या पर्दा DR सुचारु गर्न नसक्नु सिधै सम्झौता विपरीतको कार्य हो। यसमा नेप्सेले वाइकोलाई कालोसूचीमा राखेर कारबाही किन गरेन?

  2. सधैँ लगानीकर्ताले नै क्षति बेहोर्नुपर्ने ?
    प्रविधिमा अर्बौँ लगानी भइसकेको दाबी गर्ने नेप्से सामान्य सर्भर समस्या र एउटा भेन्डरको भर पर्दा पटक-पटक बजार बन्द हुने अवस्था कहिलेसम्म रहने?

  3. पारदर्शिता खोइ ?
    समस्याको जड र्‍यानसमवेयर आक्रमण र डीआरको असफलता भए पनि सार्वजनिक सूचनामा गोलमटोल भाषा प्रयोग गरेर कसलाई बचाउन खोजिँदैछ?

पूँजी बजारलाई आधुनिक र सुरक्षित बनाउनुको साटो नेप्से पुरानै सिन्डिकेट र अक्षम भेन्डर कम्पनीहरूको बन्धक बनेको छ। लाखौँ लगानीकर्ताको विश्वास र अर्बौँको कारोबारसँग जोडिएको संवेदनशील प्रणालीमा देखिएको यो लापर्बाहीमाथि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (SEBON) र सम्बन्धित मन्त्रालयले तत्काल उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्छ।