नेप्सेसँगै घट्यो कारोबार रकम

Sep 23, 2026 03:09 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से यस दिन भने घटेर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक ३६.२५ अंक घटेर २६१८.०३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अंक घटेको छ।

  यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७ अर्ब ५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५२ स्टकको ५७ हजार ९४७ पटकको कारोबारमा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको २ करोड १६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १७५ रुपैयाँ बढेर १ हजार ३४१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.५४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ३४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।