ट्राफिकले गलत चिट काटे के गर्ने ? जान्नैपर्ने ५ कुरा र चालकको हक अधिकारको रक्षासँग सम्वन्धित कानुनी पक्षहरु

Sep 23, 2026 06:02 PM Merolagani



त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिसौनीमा रोकिएको ऋद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसमा सोमबार दिउँसो आगो लाग्यो । 

२५ वर्षीय चालक अर्जुन दोङले गाडीभित्रै बसेर आगो सल्काएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जलेको बसमा यात्रु थिएनन्। दमकलले आगो निभायो। प्रहरीका अनुसार आफैँले लगाएको आगोबाट गम्भीर घाइते भएका दोङको केही घण्टापछि मृत्यु भयो । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर यस्तो कदम चालेको दावी गरिएको छ ।

केही महिनाअघि राइडसेयरिङ चालक गणेश नेपालीले महानगर प्रहरीसँग व्हील लकको विवादपछि शरिरमा पेट्रोल छर्किएर आत्मदाह गरेका थिए । उनको पनि उपचारकै क्रममा मृत्यु भयो ।

‘ट्राफिकको चिट’ नेपालका शहरियाहरुले सम्भवतः सबैभन्दा धेरै प्रयोग गर्ने दुई शब्द हुन् । त्यस्तो चिटको फन्दा नपर्ने शहरिया चालकहरु भेटाउन गाह्रो पर्छ । त्यसमाथि काठमाण्डौ उपत्यकाको चक्रपथ र त्यसभित्र गुड्ने सवारी साधनका चालकहरुको लागि त ‘ट्राफिकको चिट’ आतँकको एउटा परिचायक बनेको छ ।

पछिल्लो समय त्यो आतँक कतिसम्म डरलाग्दो बनिरहेको छ भन्ने कुरा केही समयको अन्तरमा त्रिपुरेश्वरमा घटेका माथि उल्लेखित दुई घटना हुन् ।

 

तर, तपाईलाई थाहा छ ? आफ्नो गल्ती नहुने हो भने ‘ट्राफिकले चिट’ काट्दैमा तिर्नु पर्छ भन्ने हुँदैन । ट्राफिकको कारवाही चित्त नबुझे प्रतिकार गर्ने नागरिकको अधिकार कानुनले सुरक्षित गरेको छ । तर, अधिकांशले त्यसको प्रयोग गर्दैनन । धेरैलाई कानुनले दिएको त्यो अधिकारको बारेमा थाहै छैन भने थाहा भएकाहरु पनि ‘ट्राफिकको झमेलामा परिहालियो, अब कता अदालतको चक्करमा पर्नु’ भन्ने ठानेर त्यसलाई वेवास्ता गरिरहेका हुन्छन् । त्यस्तै कतिलाई त ट्राफिकले ‘चिट’ काटिसकेपछि गल्ती नै नगरे पनि ‘त्यसै त चिट काटे न होला, मैले साँच्चै बिराएकै रहेछु कि क्या हो ?’ भन्ने लाग्छ ।

नेपाल प्रहरीले विद्युतीय चालान प्रणालीमार्फत ट्राफिक कारबाहीको विवरण अभिलेख राख्दै आएको छ। विद्युतीय चालानमा चालकको लाइसेन्स, उल्लङ्घनको विवरण र जरिवानासम्बन्धी अभिलेख डिजिटल रूपमा राखिन्छ। नेपाल ट्राफिक प्रहरीले नै आफ्नो आधिकारिक सूचनामा चालान गलत भएको लागेमा ट्राफिक प्रहरीसँग सम्पर्क गर्न, इमेलमार्फत गुनासो पठाउन सकिने र विवरण सच्याउन कुनै शुल्क लाग्दैन। 

पहिले चिटमा के गल्ती भएको हो, त्यो हेर्नुपर्छ

जरिवाना चित्त नबुझेको अवस्थामा पहिलो काम आवेशमा ट्राफिक प्रहरीसँग विवाद गर्नु होइन, चिट वा विद्युतीय अभिलेखमा उल्लेख भएको कसुर, मिति, स्थान, सवारी नम्बर र जरिवानाको विवरण जाँच गर्नु हो।

नेपाल ट्राफिक प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार ट्राफिक नियम उल्लङ्घनका विभिन्न कसुरमा फरक–फरक जरिवानाको व्यवस्था छ। उदाहरणका लागि रातो बत्ती उल्लङ्घन, गलत दिशाबाट सवारी चलाउने, एकतर्फी सडकमा विपरीत दिशाबाट चलाउने, तोकिएको गतिभन्दा बढी गति चलाउने, निषेध गरिएको स्थानमा सवारी रोक्ने, हेल्मेट नलगाउने वा सवारी चालक अनुमतिपत्र साथमा नराख्ने जस्ता कसुरमा पहिलो पटक, दोस्रो पटक र तेस्रो वा सोभन्दा बढी पटकका आधारमा जरिवाना फरक हुन सक्छ। त्यसैले चालकले आफूलाई लागेको जरिवाना कुन कानुनी व्यवस्थाअन्तर्गत गरिएको हो भन्ने कुरा पहिले बुझ्नुपर्छ। 

गलत चालान भएको लागे कहाँ उजुरी गर्ने ?

नेपाल ट्राफिक प्रहरीले आफ्नो वेबसाइटमै ‘उजुरी तथा गुनासो फारम’ उपलब्ध गराएको छ। त्यहाँ आफ्नो नाम, फोन नम्बर, सम्बन्धित जिल्ला, विषय र उजुरीको विवरण राखेर गुनासो पठाउन सकिन्छ। आवश्यक परे फोटो वा भिडियोसमेत प्रमाणका रूपमा अपलोड गर्न सकिन्छ। ट्राफिक प्रहरीको फारममा पाँच एमबीसम्मको फाइल अपलोड गर्न सकिने र त्यसभन्दा ठूलो फाइल भए त्यसको लिङ्क उजुरी विवरणमा राख्न सकिने उल्लेख छ।

त्यसैले गलत चालानको दाबी गर्ने चालकले सकेसम्म चिटको विवरण, घटनास्थलको फोटो वा भिडियो, सवारी साधनको विवरण, ड्यासबोर्ड क्यामेरा वा मोबाइलबाट खिचिएको प्रमाण तथा अन्य सम्बन्धित कागजात सुरक्षित राख्नु उपयोगी हुन्छ।

काठमाडौं उपत्यकाको हकमा ट्राफिक प्रहरीको आधिकारिक सम्पर्क नम्बर १०३ हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफ्नो सम्पर्क नम्बर ०१–५३१९६४१ र इमेल vtpo@nepalpolice.gov.np पनि सार्वजनिक गरेको छ। यसरी चालकले तत्काल सम्बन्धित ट्राफिक कार्यालयमा सम्पर्क गरेर आफ्नो गुनासो राख्न सक्छ।

कहिलेकाहीँ विवाद जरिवानाको रकममा मात्र हुँदैन। चालकले प्रहरीले दुर्व्यवहार गरेको, अनुचित आर्थिक माग गरेको, गुनासो नसुनेको वा काममा अनावश्यक ढिलाइ गरेको आरोप पनि लगाउन सक्छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको आधिकारिक गुनासो फारममा यस्ता विषयका लागि छुट्टाछुट्टै विकल्पसमेत राखिएका छन्। त्यहाँ प्रहरीद्वारा दुर्व्यवहार, आर्थिक माग, काममा ढिलासुस्ती, प्रतिक्रिया नदिएकोलगायत विषयमा गुनासो गर्न सकिने व्यवस्था छ।

अर्थात् ‘गलत जरिवाना’ र ‘प्रहरीको व्यवहार’ दुई फरक विषय हुन्। जरिवाना गलत भएको दाबी भए चालानसम्बन्धी विवरणसहित ट्राफिक प्रहरीमा गुनासो गर्न सकिन्छ भने प्रहरी कर्मचारीको आचरणसम्बन्धी गुनासो छुट्टै प्रहरी गुनासो संयन्त्रमा राख्न सकिन्छ।

जरिवाना तिर्नैपर्ने भयो भने अनलाइनबाट कसरी तिर्ने

नेपाल प्रहरीले सञ्चालन गरेको विद्युतीय चालान प्रणालीले ट्राफिक नियम उल्लङ्घनको विवरण डिजिटल रूपमा राख्ने व्यवस्था गरेको छ। नागरिक एपमा चालक अनुमतिपत्रको विवरण राखेपछि उल्लङ्घनको अभिलेख हेर्न र जरिवाना तिर्न सकिने व्यवस्था छ।

ट्राफिक प्रहरीको आधिकारिक सूचनाअनुसार नागरिक एपमा हेरेर उपलब्ध विद्युतीय माध्यमबाट जरिवाना भुक्तानी गर्न सकिन्छ। वैकल्पिक रूपमा राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी गर्ने व्यवस्था पनि उल्लेख गरिएको छ।

तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ—चालान गलत भएको दाबी छ भने पहिले विवरण सच्याउने विषय उठाउनु उचित हुन्छ। केवल जरिवाना तिरेर पछि प्रमाण खोज्नेभन्दा चिट जारी हुँदाकै अवस्थामा प्रमाण सुरक्षित राख्नु व्यावहारिक हुन्छ।

ट्राफिक जरिवाना चित्त नबुझे यो उपाय गरौं

सडक सुरक्षा र यातायात व्यवस्थापनको अभिन्न अंग ट्राफिक नियमहरू हुन्। यी नियमहरूको पालना गराउन ट्राफिक प्रहरीलाई जरिवाना लगाउने अधिकार दिइएको छ । तर ती जरिवाना अन्तिम होइनन् । ट्राफिक प्रहरीले गरेको कारबाहीमा चित्त नबुझे नेपालको प्रचलित कानूनले स्पष्ट कानुनी उपचार गर्न पाउने अधिकार दिएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (१) अनुसार ट्राफिक सङ्केत वा इसारा उल्लङ्घन, निषेधित ठाउँमा सवारी अड्याउने, चालक अनुमतिपत्र साथमा नराख्नेलगायतका कसुरमा पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो वा सोभन्दा बढी पटक एक हजार पाँच सय रुपैयाँ जरिवाना यातायात निरीक्षक वा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले तत्काल गर्न सक्ने व्यवस्था छ।

जरिवाना तत्काल बुझाउन नसके चौबिस घण्टाभित्र सम्बन्धित प्रहरी कार्यालयमा बुझाउन पुर्जी दिने, नबुझाए थप जरिवाना र अनुमतिपत्र निलम्बनसम्म हुन सक्छ।

तर ट्राफिक प्रहरीले यो अधिकार आफूखुसी प्रयोग गर्न पाउँदैन। ऐनको दफा १७१ अनुसार अधिकार प्राप्त अधिकारी, प्रहरी वा यातायात निरीक्षकले गरेको निर्णय वा सजायको आदेश उपर यातायात व्यवस्था विभाग समक्ष पुनरावेदन लाग्ने प्रावधान छ । त्यस्तै विभागले गरेको निर्णय वा आदेश उपर उच्च अदालत समक्ष अदालत पुनरावेदन लाग्ने व्यवस्था रहेको छ ।

ऐनको दफा १७२ अन्तर्गत उजुर गर्ने हदम्याद र पुनरावेदन गर्ने म्यादबारे व्यवस्था गरिएको छ । दफा १६१ अन्तर्गतको कसूरको हकमा मुलुकी अपराध संहिताको भाग-२ को परिच्छेद १२ मा उल्लिखित म्यादभित्र, दफा १६२ अन्तर्गतको कसूरको हकमा मुलुकी अपराध संहिताको भाग २, परिच्छेद १४ मा उल्लिखित म्यादभित्र र ऐन अन्तर्गतका अन्य कसूरको हकमा कसूर भएको मितिले तीस दिनभित्र उजुर गर्नु पर्ने व्यवस्था छ ।

त्यस्तै दफा १६१ र १६२ अन्तरगतका कसुरका सम्बन्धमा बाहेक ऐन अन्तरगतका अन्य कसुरका सम्बन्धमा निर्णय वा आदेशको सूचना पाएको मितिले पैंतीस दिनभित्र पुनरावेदन दिनु पर्नेछ । 

सवारी चालकले सम्झनुपर्ने पाँच कुरा

ट्राफिक प्रहरीले जरिवाना गरेपछि चित्त नबुझेमा पहिलो कुरा चिट वा विद्युतीय चालानको विवरण सुरक्षित राख्ने हो।

दोस्रो, आफूले नियम उल्लङ्घन नगरेको दाबी छ भने फोटो, भिडियो वा अन्य प्रमाण सुरक्षित गर्ने हो।

तेस्रो, तत्काल समाधानका लागि सम्बन्धित ट्राफिक प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको आधिकारिक गुनासो माध्यममा उजुरी गर्ने हो। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कन्ट्रोल नम्बर १०३ उपलब्ध छ।

चौथो, जरिवाना गलत भएको भए सच्याउन माग गर्दा चालान नम्बर र आफ्नो दाबी स्पष्ट रूपमा लेख्ने हो।

र पाँचौँ, कारबाहीविरुद्ध औपचारिक कानुनी चुनौती आवश्यक भए सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को पुनरावेदनसम्बन्धी व्यवस्था र हदम्यादलाई ध्यान दिनुपर्छ।