दुई कम्पनी र तीन म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 24, 2026 07:21 AM Merolagani



असोज ८ गते, बिहीबार, दुई कम्पनी र तीन म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन माछापुच्छ्रे बैंक, कालिञ्चोक दर्शन, आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

कालिञ्चोक दर्शन (KDL) ले भोली अर्थात असोज ९ गते बुकक्लोज गर्दैछ भने माछापुच्छ्रे बैंकले र आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले असोज १२ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी तथा इकाईधनीहरुले यी कम्पनी तथा योजनाहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।

कालिञ्चोक दर्शन लिमिटेड ले असोज १६ गते, शुक्रबार, जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीमा पूर्वनिर्धारित शतप्रतिशतको अनुपातमा ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन तथा समायोजन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले असोज २८ गते, बुधबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा वार्षिक साधारण सभा बोलाएको छ। बैंकको २८ औँ वार्षिक साधारण सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले अग्राधिकार शयरधनीहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयरको ८.२५ प्रतिशतका दरले असार मसान्तसम्मको समानुपातिक रुपमा हुने नगद लाभांश (कर सहित) वितरण गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक पदमा ४ वर्षका लागि अर्जुन कुमार गौतमलाई नियुक्ती गरिएको जानकारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

त्यस्तै, आरबिबि म्युचुअल फण्ड १ (RMF1) ले करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ (RMF2) का इकाईधनीहरुलाई करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ भने ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ (GIBF1) ले १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ।