प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा उनीहरूका लागि २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढेको जानकारी दिए। मन्त्री श्रेष्ठले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीहरूले खेलेको भुमिकाको प्रशंसा गरे। सुरक्षाकर्मीको समर्पण र राष्ट्रप्रतिको उच्च दायित्वबोधलाई सम्मान गर्दै उनीहरूलाई जलविद्युत आयोजनाको स्वामित्वमा सहभागी गराउने नीतिगत निर्णय लिइएको उनले स्पष्ट पारे ।
मन्त्री श्रेष्ठले भोटेकोशी विपत्तिमा मन्त्रालयअन्तर्गतका निकायहरू, विद्युत प्राधिकरण, सिंचाई विभाग र जल तथा मौसम विज्ञान विभागका कर्मचारीहरूले गरेको समन्वयकारी भुमिकाको समेत प्रशंसा गरे ।
विपद्ले दिएको क्षतिले भविष्यका लागि गम्भीर पाठ सिकाएको बताउँदै उनले भने, ‘हामीले क्षतिको लेखाजोखा गर्नुका साथै भविष्यमा यस्ता जोखिम न्युनिकरण गर्न सक्ने प्रविधि र संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ ।’
मन्त्री श्रेष्ठले भविष्यमा निर्माण हुने जलविद्युत आयोजनाहरूलाई विपद् प्रतिरोधी बनाउन सुरक्षा मापदण्डलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न मातहतका निकायलाई कडा निर्देशन दिइएको जानकारी दिए । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बंगालको खाडीमा विकसित न्युनचापीय प्रणालीका कारण नेपालमा पुनः भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै मन्त्री श्रेष्ठले सचेत रहन आग्रह गरे । उनले विशेष गरी मध्य र पश्चिम नेपालका साथै हालै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन र मौसमी सूचनालाई नियमित अनुगमन गर्न मातहतका निकायहरूलाई निर्देशन दिइसकेको बताए ।