हाथवे इन्भेष्टमेन्ट: शेयर बिक्रीसम्बन्धी पत्र नक्कली भएको स्पष्टीकरण
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो नाम, लेटरहेड, छाप तथा कम्पनी सचिवको हस्ताक्षर दुरुपयोग गरी सामाजिक सञ्जाल तथा केही अनलाइनहरूमा फैलाइएको शेयर बिक्रीसम्बन्धी पत्र पूर्ण रूपमा नक्कली (फर्जी) भएको स्पष्ट पारेको छ।
सामाजिक सञ्जालमा कम्पनीका शेयरधनी अम्बिकाप्रसाद पौडेलले आगामी तीन महिनाभित्र १५ लाख कित्ता शेयर बिक्री गर्न लागेको भनी भ्रमपूर्ण पत्र सार्वजनिक गरिएको थियो। यस सम्बन्धमा कम्पनीले कुनै पनि पत्र जारी नगरेको र पौडेलबाट समेत शेयर बिक्री गर्ने मनसायको कुनै निवेदन प्राप्त नभएको जनाएको छ। नियामक धितोपत्र बोर्ड तथा नेप्सेमा जालसाजी गर्नेहरूविरुद्ध उजुरी दिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै कम्पनीले यस्ता अप्रमाणित र भ्रामक हल्लाको पछि नलाग्न शेयरधनी तथा लगानीकर्ताहरूलाई अनुरोध गरेको छ।
सोपान फर्मास्युटिकल्स: सामूहिक लगानी कोषको शेयरको ‘लक-इन’ कात्तिक १६ पछि समाप्त हुने
सोपान फर्मास्युटिकल्स लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि सुरक्षित गरिएको शेयरको ‘लक-इन’ (Lock-in) अवधि आगामी २०८३ कात्तिक १६ गतेपछि समाप्त हुने जानकारी गराएको छ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल ४२ लाख ९० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको थियो। ६ महिनाको लक-इन अवधि समाप्त भएपछि उक्त कोषहरूको स्वामित्वमा रहेको २ लाख १० हजार ९६५ कित्ता शेयर फुकुवा हुनेछ (परिपक्व भइसकेका २ वटा योजनाको ३,५३५ कित्ता शेयर यसअघि नै फुकुवा भइसकेको छ)।
सयपत्री हाइड्रोपावर: बाढी र लेदोले पावरहाउसमा क्षति, उत्पादन पूर्ण रूपमा बन्द
सयपत्री हाइड्रोपावर लिमिटेडको दरम खोलामा आएको बाढीका कारण आयोजनामा थप क्षति पुगेको छ। गत असोज ९ गतेको बाढीले ३३ के.भी. प्रसारण लाइनका पोल र तारमा क्षति पुर्याएकोमा असोज ११ गते बिहान करिब ३ बजे पावरहाउसभन्दा ७०० मिटर माथिबाट आएको माटोको लेदो सिसाको झ्यालहरूबाट पावरहाउसभित्र पसेको कम्पनीले जनाएको छ।
पावरहाउसभित्र ठूलो मात्रामा लेदो जमेकाले हाल विद्युत उत्पादन कार्य पूर्ण रूपमा बन्द रहेको छ। आयोजनामा मानवीय क्षति नभएको र हेडवर्क्स, पाइपलाइन तथा आवासगृहहरू सुरक्षित रहेको कम्पनीले उल्लेख गरेको छ। पावरहाउसको लेदो सफा गर्ने तथा क्षतिग्रस्त प्रसारण लाइन मर्मत गरी यथाशीघ्र विद्युत उत्पादन पुनः सञ्चालन गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।
रिज लाइन इनर्जी: १२.५०४ मेगावाटका लागि नयाँ सहायक कम्पनी खोल्ने
रिज लाइन इनर्जी लिमिटेडले नयाँ जलविद्युत आयोजना सर्वेक्षण तथा निर्माणका लागि सहायक कम्पनी स्थापना गर्ने निर्णय गरेको छ।
कम्पनीको असोज १३ गते सम्पन्न १२१औँ सञ्चालक समितिको बैठकले माइवा खोला जलविद्युत आयोजना (Maiwa Khola HPP - १२.५०४ मेगावाट) को सर्वेक्षण, अध्ययन तथा निर्माण कार्यका लागि शतप्रतिशत (१००%) स्वामित्व रहने गरी 'रिज पावर लिमिटेड (प्रस्तावित)' नामको सहायक कम्पनी संस्थापना गर्ने निर्णय गरी नेप्सेलाई जानकारी गराएको छ।