कम्पनीको प्रस्तावित पूँजी संरचनाअनुसार कुल जारी पूँजी ४२ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३२ करोड रुपैयाँ संस्थापक समूह र १० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको छ। त्यस्तै, कम्पनीले इन्फोमेरिक्स नेपालबाट ‘बी प्लस’ इसुअर रेटिङ प्राप्त गरेको जनाएको छ। हाल अन्डरराइटरसँग सम्झौता, विवरणपत्र तयारी तथा कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित काम अघि बढिरहेको छ।
कम्पनीको योजनाअनुसार २०८३ मंसिरभित्र नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने र २०८४ जेठसम्म स्वीकृति प्राप्त गर्ने लक्ष्य राखिएको छ। यद्यपि, वास्तविक समय नियामकीय प्रक्रिया र स्वीकृतिमा निर्भर हुने कम्पनीले जनाएको छ।
व्यवसाय विस्तार तथा कार्यसञ्चालनका लागि कम्पनीले विभिन्न स्रोतबाट कुल ५० करोड रुपैयाँ जुटाउने योजना बनाएको छ। जसमा १९ करोड रुपैयाँ ऋण, १४ करोड रुपैयाँ जग्गा बिक्री, १० करोड रुपैयाँ आईपीओ र ७ करोड रुपैयाँ निजी प्लेसमेन्टबाट जुटाउने योजना छ।
कम्पनीले आगामी वर्षहरूमा नुडल्स उत्पादनको नयाँ लाइन थप्दै नयाँ उत्पादन बजारमा ल्याउने योजना पनि अघि सारेको छ। नयाँ उत्पादन लाइन सञ्चालनमा आएपछि आर्थिक वर्ष २०८४/८५ देखि आम्दानीमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
वि.सं. २०६९ मा स्थापना भएको अमूदी फुड्सको कर्पोरेट कार्यालय काठमाडौंको कोटेश्वरमा र उत्पादन कारखाना चितवनको भरतपुरमा रहेको छ। कम्पनीमा हाल करिब ११५ जना कर्मचारी कार्यरत रहेको जनाइएको छ।