राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले पूर्वप्रधानन्यायाधीश जस्तो व्यक्ति पक्राउ पर्नुको कारण थाहा पाउनु नेपाली जनता र सार्वभौम संसदको अधिकार भएको बताए । यद्यपि पूर्वप्रधानन्यायाधीश जबरा समेत दुधले नुहाएको व्यक्ति नभएको टिप्पणी गरे । उनले जबराको न्यायाधीशका रूपमा कार्यकालमा भएका केही फैसला विवादित रहेको, प्रधानन्यायाधीश हुँदा ठूला मुद्दामा सफाइ दिएको तथा उनीविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशले आन्दोलन गरेको तथा नेपाल बार एशोसिएशनले उनका इजलास बहिष्कार गरेको उल्लेख गरे । उनले जबराको पक्राउको विषयमा आफूहरूको चिन्ता व्यक्ति विशेषभन्दा पनि यसको नजिर र त्यसले पार्न सक्ने प्रभावप्रति रहेको उनको भनाइ छ । उनले पूर्वप्रधानन्यायाधीशमाथि यस्तो अवस्था आउनसक्छ भने सर्वसाधारण नागरिकको अवस्था के होला ? भन्दै प्रश्न उठाए ।
उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगमा एसएसपी सन्तोष खड्काले दिएको लिखित बयान जान्ने अधिकार नेपाली जनतालाई छ, हामीलाई छ, सार्वभौम यो राष्ट्रिय सभालाई छ । त्यसैले उहाँले दिएको लिखित बयान सार्वजनिक गरियोस् भन्ने कुरा फेरि पनि म जोडदार रुपमा राख्न चाहान्छु । सम्माननीय अध्यक्ष महोदय, हुन त चोलेन्द्र शमशेर जबरा पनि कुनै दुधले नुहाएका व्यक्ति त होइनन् । उहाँले न्यायाधीश हुँदाखेरी विभिन्न तहमा गरेका फैसलाहरु विवादित छन् । त्यसैगरी ठूला ठूला मुद्दामा उहाँले सफाई दिनुभएको छ । यतिसम्म कि सर्वोच्च अदालतको न्यायाधीश हुँदाखेरी उहाँका विरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरुले नै हड्ताल गरेको नेपाल बार एशोसिएशनले उहाँका बेन्चहरुलाई बहिस्कार गरेको पनि छ । त्यसैगरी अकुत सम्पती कमाएको आरोप पनि उहाँलाई लागेको छ । त्यतिमात्र होइन, उहाँका विरुद्ध महाअभियोग प्रश्ताव दर्ता भएको थियो र त्यसपछि मात्रै उहाँ बाहिरिनुभएको छ । तर पनि आज उहाँ स्वतन्त्र नागरिक हुनुहुन्छ । आज हामी बुढो मर्यो वा बुढी मरी भनेर चिन्ता गरिरहेका छैनौँ । काल पल्क्यो भन्ने चिन्ता छ, हामीलाई । पूर्वप्रधानन्यायाधीशको सम्बन्धमा यस्तो हुनसक्छ भने हामी जस्ता ऐरेगैरेको के होला ?’
उनले कानूनी राज्यमा सरकार नियम र कानूनलाई मिचेर अघि बढ्न नहुनेतर्फ सचेत गराए ।