पहिलोपटक घर निर्माण गर्नेहरूले सरकारी ढाँचामा निर्माण गर्दा नदीजन्य पदार्थ नि:शुल्क पाउने व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकले निम्न र मध्यम आय भएकालाई सुरक्षित आवासको सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको प्रधानमन्त्रीले बताए ।
''पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा मापदण्डअनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ,'' प्रधानमन्त्री शाहले भने ।
त्यस्तै, गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको उनको भनाइ छ । “गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट रु ५० हजार र प्रदेश सरकारबाट रु २५ हजार गरी कूल रु ७५ हजारसम्म अनुदान उपलब्ध गराउने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ,'' प्रधानमन्त्रीले भनेका छन् ।
साथै, विपद्, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा समेटिएको प्रधानमन्त्रीले बताए ।
नयाँ भवन ऐन तथा नियमावलीले मध्यम आय भएका नागरिकका सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरेको छ ।
नागरिकले सहुलियतपूर्ण ऋणमार्फत घर प्राप्त गर्नसक्ने व्यवस्था पनि विधेयकमा छ । गरिएको छ । प्रारम्भिक रूपमा पाँच लाख अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक रु ११ हजार किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ ।
निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकारलाई कानुनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले नयाँ भवन ऐन ल्याएको हो । रासस