मेस्सीको सन्यासले विश्वव्यापी ब्राण्डको स्वरुपमा ल्याउँदै गरेको परिवर्तन र ‘मेस्सी इकोनोमिक्स’का दीर्घकालिन असरहरु

Oct 07, 2026 01:43 PM Merolagani



लियोनल मेस्सीले फुटबल खेलबाट सन्यास लिए । त्यसको अर्थ अब उनी व्यवसायिकरुपमा फुटबल खेल्ने छैनन् ।

तर, त्यसले केवल उनको खेल जीवनको समाप्ती मात्रै गरेको छैन, विश्वका ठूला बहुराष्ट्रिय कम्पनीका ब्राण्डहरुको व्यापारमा सोझै प्रभाव पारेको छ र अहिले उनीहरु नयाँ रणनीति बनाउन व्यस्त देखिएका छन् । मेस्सीको खेलाडी जीवनको अन्त्य एउटा विश्वव्यापी ब्रान्डको स्वरूप परिवर्तन हुने देखिएको छ ।

 

खेलाडीहरुमाथि कम्पनीहरुले मोटो रकम खर्चेर विज्ञापन गराउने, ब्राण्ड एम्बेसर बनाउने र त्यो खेलाडीले अवकाश लिएपछि उस्को साटो अर्काे खेलाडीमा लगानी गर्ने काम कम्पनीहरुले विगतदेखि नै गर्दै आएका छन् । त्यो आधारमा मेस्सीको अवकाश पछि पनि कम्पनीहरुले ब्राण्ड एम्बेसडर परिवर्तन गर्नु स्वभाविक जस्तो देखिन्छ । तर, कुरा त्यत्तिमा मात्र सिमित छैन । किनकी विगत दुई दशकको अवधिमा मेस्सी एक खेलाडी मात्र होइनन्, विश्वका सबैभन्दा ठूला ब्राण्ड बनेका छन् । त्यहीकारण उनी फुटबल मैदानमा मात्र होइन, विश्वकै अर्थतन्त्र, खासगरि विज्ञापन र ब्राण्ड बजारको लागि समेत सबैभन्दा महत्वपूर्ण व्यक्ति हुन् भन्दा अन्यथा हुँदैन । त्यसैले अहिलेको प्रश्न मेस्सीले सन्यास लिएपछि विश्व बजारमा के बदलिन्छ ? भन्ने हो।

उनको मूल्य गोल, ट्रफी र मैदानमा गरेको प्रदर्शनबाट मात्र बनेको छैन। उनले वर्षौं लगाएर आफूलाई Adidas, Apple, Mastercard, PepsiCo, Michelob Ultra, Hard Rockलगायत विश्वव्यापी ब्रान्डसँग जोडिएको व्यावसायिक सम्पत्ति बनाएका छन्। Forbes का अनुसार मेस्सीको कुल सम्पत्ति २०२६ मा करिब १.१ अर्ब अमेरिकी डलर पुगेको छ र करियरभर खेल तथा मैदानबाहिरबाट उनले अनुमानित १.८ अर्ब डलर कमाइसकेका छन् ।

मेस्सीको सबैभन्दा ठूलो ‘ब्रान्ड सम्पत्ति’ Adidas

मेस्सीको पोस्ट–फुटबल व्यावसायिक जीवनको सबैभन्दा बलियो आधार सम्भवतः Adidas हुनेछ।मेस्सी र Adidas को सम्बन्ध २००६ देखि निरन्तर छ। २०१७ मा उनीहरूले आजीवन सम्झौता गरेका थिए। त्यसैले मेस्सी खेलाडी नरहे पनि उनको नामसँग जोडिएका जुत्ता, जर्सी, कपडा र अन्य उत्पादनको बजार समाप्त हुने होइन। बरु त्यसको कथा बदलिन्छ—‘performance’ बाट ‘legacy’ तर्फ।

२०२६ को पहिलो छ महिनामा Adidas ले खेलकुद क्षेत्रमा १.९ अर्ब डलरको Media Impact Value सिर्जना गरेको Launchmetrics को तथ्यांकलाई उद्धृत गर्दै FashionUnited ले जनाएको छ। त्यस अवधिमा Adidas का पाँचमध्ये चार उच्च-मूल्यका प्लेसमेन्ट मेस्सीका आफ्नै पोस्ट थिए। यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ—मेस्सीको व्यावसायिक प्रभाव उनको खेल प्रदर्शनसँग मात्र बाँधिएको छैन। अर्थात्, मेस्सीले गोल गर्न छाडे पनि ‘मेस्सी ब्रान्ड’ले गोल गर्न छाड्दैन।

‘GOAT’बाट ‘Legacy’ ब्रान्डसम्म

खेलाडी सक्रिय हुँदा ब्रान्डले मेस्सीबाट मुख्यतः तीन कुरा बेच्यो—प्रदर्शन, जित र स्टारडम।

सन्यासपछि अवस्था बदलिनेछ । अब विज्ञापनमा ‘आज मेस्सीले कति गोल गरे ?’ भन्नेभन्दा ‘उनले फुटबलमा के छाडे ?’ भन्ने कथा विक्नेछ ।

यही कारण खेलकुद मार्केटिङका विज्ञहरूले पनि मेस्सीको व्यावसायिक मूल्य सन्याससँगै अनिवार्य रूपमा समाप्त नहुने बताएका छन्। खेलाडीको सक्रियता सकिएपछि उसको छवि ‘ऐतिहासिक व्यक्तित्व’मा बदलिने र त्यसले दीर्घकालीन ब्रान्ड मूल्य कायम राख्न सक्ने उनीहरूको विश्लेषण छ।

Michael Jordan को उदाहरण यहाँ सान्दर्भिक हुन्छ। Jordan ले बास्केटबल खेल्न छाडेपछि पनि उनको नाम, लोगो र उत्पादनले Nike को Jordan Brand लाई दशकौँसम्म ठूलो व्यावसायिक सम्पत्तिका रूपमा कायम राखेको छ। मेस्सीको बाटो पनि त्यतातिर जान सक्छ। 

Apple का लागि मेस्सीको अर्थ

मेस्सीको व्यावसायिक प्रभाव जर्सी र जुत्तामा मात्र सीमित छैन । Apple सँगको सम्बन्ध विशेष रूपमा महत्वपूर्ण छ। मेस्सीको MLS आगमनपछि Apple TV को MLS Season Pass को व्यावसायिक सम्भावनासँग उनको नाम जोडियो। Forbes का अनुसार मेस्सीको Miami सम्झौताको संरचनामा MLS का साझेदार Adidas र Appleसँग सम्बन्धित revenue-sharing पक्षसमेत रहेको छ। यसको अर्थ मेस्सी आफैं एउटा media asset पनि बनेका छन्।

एक जना खेलाडीका खेल हेर्न मानिसले streaming subscription लिन्छन् भने त्यो खेलाडीको मूल्य टिकट बिक्रीभन्दा धेरै ठूलो हुन्छ। मेस्सीले अमेरिकी फुटबलमा यही प्रभाव सिर्जना गरेका छन् । 

Inter Miami : मेस्सीपछि सबैभन्दा ठूलो परीक्षा

मेस्सीको सन्यासको प्रत्यक्ष आर्थिक असर पर्ने अर्को संस्था हो—Inter Miami।

मेस्सी २०२३ मा Miami पुगेपछि क्लबको अन्तर्राष्ट्रिय पहिचान नाटकीय रूपमा बढ्यो। Forbes का अनुसार क्लबको मूल्यांकन मेस्सी आउनुअघि करिब ६० करोड डलरबाट बढेर २०२६ मा १.३५ अर्ब डलर पुगेको छ।

यो वृद्धि मेस्सीको खेल प्रदर्शन मात्र होइन—टिकट, जर्सी, प्रायोजन, अन्तर्राष्ट्रिय दर्शक, सामाजिक सञ्जाल र क्लबको समग्र ब्रान्डसँग जोडिएको छ। अझ रोचक कुरा, मेस्सीले सन्यासपछि Inter Miami मा equity stake प्राप्त गर्ने विकल्पसमेत आफ्नो सम्झौताको हिस्सा बनाएका छन्। यसले उनलाई खेलाडीबाट मालिक/लगानीकर्ता/ब्रान्ड एम्बेसडरमा रूपान्तरण गर्ने सम्भावना खोल्छ।

Inter Miami ले पनि ‘post-Leo era’ का लागि योजना बनाइरहेको जनाएको छ र क्लबका प्रमुख व्यावसायिक अधिकारीका अनुसार मेस्सीले खेलाडी जीवन समाप्त गरेपछि पनि क्लबमा भूमिका पाउने सम्भावना छ। अर्थात् मेस्सी मैदानबाट बाहिरिए पनि Miami बाट बाहिरिनुपर्ने छैन। 

Mastercard, PepsiCo र अरू ब्रान्डलाई के हुन्छ ?

मेस्सीसँग जोडिएका ब्रान्डहरूको ठूलो सूची छ। Forbes ले Adidas, Mastercard, Apple, PepsiCo, Anheuser-Busch InBev, Hard Rock, Konami, Lowe’s लगायतलाई उनका प्रमुख साझेदारका रूपमा उल्लेख गरेको छ।

Mastercard को उदाहरण अझ रोचक छ। मेस्सी २०१८ देखि कम्पनीका ग्लोबल एम्बेसडर छन् । अहिले Mastercard ले Inter Miami को नयाँ स्टेडियममा समेत क्लबको आधिकारिक साझेदारका रूपमा प्रवेश गरेको छ । यसको अर्थ ब्रान्डहरूले मेस्सीलाई केवल फुटबल खेलाडीका रूपमा होइन, फुटबल संस्कृतिको विश्वव्यापी प्रतीकका रूपमा प्रयोग गरिरहेका छन्। त्यसैले उनको सन्यासले धेरै ब्रान्डलाई सम्झौता तत्काल तोड्न बाध्य पार्ने सम्भावना कम छ। बरु विज्ञापनको विषय बदलिन सक्छ।

तर जोखिम पनि छ खेलाडीभन्दा लिजेन्ड, प्रदर्शनभन्दा विरासत, प्रतिस्पर्धाभन्दा प्रेरणा र वर्तमानभन्दा इतिहास मेस्सीको ब्रान्ड जति ठूलो छ, त्यति नै ठूलो चुनौती पनि छ—उनको विकल्प को हो ? ब्रान्डले नयाँ पुस्ताको खेलाडी खोज्नुपर्नेछ ।

अहिले नै Lamine Yamal जस्ता युवा खेलाडीलाई Adidas लगायतका ब्रान्डले अघि सारिरहेका छन्। २०२६ विश्वकपमा मेस्सी र यामालको स्टार पावरले विश्वव्यापी मार्केटिङ अवसर सिर्जना गरेको Sports Business Journal ले उल्लेख गरेको छ। यसले फुटबल बजारमा स्वाभाविक संक्रमण देखाउँछ।

मेस्सी र Ronaldo को पुस्ताले विश्व बजार कब्जा गरेको अवस्थामा अब नयाँ पुस्ताका खेलाडीहरूले त्यस ठाउँमा प्रवेश गर्नुपर्नेछ। तर समस्या के हो भने मेस्सीको ठाउँमा अर्को मेस्सी तुरुन्तै आउँदैन। किनकि ब्रान्ड मूल्य खेलाडीको प्रतिभाबाट मात्र बन्दैन। विश्वकप जित, लामो करियर, व्यक्तिगत कथा, विवादबाट तुलनात्मक दूरी, सामाजिक सञ्जालको विशाल पहुँच र दशकौँको निरन्तर प्रदर्शन सबै एकै ठाउँमा जोडिनुपर्छ। 

मेस्सी आफैं अब कम्पनीजस्तै

मेस्सीको सबैभन्दा ठूलो व्यावसायिक परिवर्तन यही हो । उनी अब केवल विज्ञापन गर्ने खेलाडी होइनन् । उनी आफैं लगानीकर्ता र व्यवसायी पनि हुन् ।

उनको लगानी होटल, रियल इस्टेट, रेस्टुरेन्ट तथा फुटबल क्लबहरूमा फैलिएको छ। Forbes का अनुसार उनले २०२४ मा Edificio Rostower Socimi नामको सार्वजनिक रियल–इस्टेट लगानी संरचना स्थापना गरेका थिए । साथै उनले फुटबल क्लबहरूमा समेत स्वामित्व लिएका छन्।

२०२६ मा उनी स्पेनको दोस्रो श्रेणीको क्लब CD Eldense को बहुमत स्वामित्वतर्फ समेत अघि बढेका छन्, नियामकीय स्वीकृति बाँकी रहेको Reuters ले जनाएको छ। यसअघि उनले UE Cornellà पनि किनेका थिए। यसले देखाउँछ—मेस्सीको भविष्य केवल विज्ञापनमा निर्भर छैन। उनको खेलाडी करियर सकिँदा उनको व्यवसायिक करियर अझ विस्तारित हुन सक्छ।

‘Messi economy’ को वास्तविक अर्थ

मेस्सीबाट प्रत्यक्ष आम्दानी गर्ने व्यक्ति स्वयं मेस्सी मात्र होइनन् । उनको खेल हेर्न आउने दर्शकले टिकट किन्छन् ।  जर्सी किन्छन्। होटलमा बस्छन् । रेस्टुरेन्ट जान्छन्। उडान भर्छन्। सामाजिक सञ्जालमा सामग्री हेर्छन् । प्रायोजकको विज्ञापनसँग जोडिन्छन् । यसरी एउटा खेलाडीले सिर्जना गर्ने आर्थिक गतिविधि क्लबको तलबभन्दा धेरै ठूलो हुन्छ ।

मेस्सी Miami आएपछि MLS लाई यही ‘attention economy’ प्राप्त भयो। त्यसैले उनको पूर्ण सन्यासको प्रभावको सबैभन्दा ठूलो प्रश्न तलबमा होइन, दर्शकको ध्यान कहाँ जान्छ? भन्नेमा हुनेछ । 

मेस्सीपछि पनि मेस्सी बिकिरहन्छन्

मेस्सीको खेलाडी जीवन अन्त्य भएपछि उनको आर्थिक मूल्य घट्नेभन्दा स्वरूप परिवर्तन हुने सम्भावना बढी देखिन्छ । Adidasले उनको विरासत बेच्नेछ ।  Appleले उनको कथालाई सामग्री र फुटबलसँग जोड्न सक्छ। Mastercardले उनको विश्वव्यापी पहिचानलाई प्रयोग गरिरहनेछ । Inter Miamiले उनको नामबाट बनेको अन्तर्राष्ट्रिय प्रशंसक आधारलाई दीर्घकालीन क्लब ब्रान्डमा बदल्नुपर्नेछ। र मेस्सी स्वयं भने खेलाडीबाट लगानीकर्ता, मालिक, ब्रान्ड र सम्भावित फुटबल व्यवसायिक व्यक्तित्वमा रूपान्तरण हुनेछन् ।

यही कारण मेस्सीको सन्यासलाई ‘एक खेलाडीको अन्त्य’ भन्दा ‘एक व्यवसायिक युगको पुनर्संरचना’ का रूपमा बुझ्नु बढी अर्थपूर्ण हुन्छ । फुटबल मैदानमा उनको स्थान नयाँ पुस्ताले लिन सक्छ । तर बजारमा बनिसकेको ‘Messi’ नामको ब्राण्ड र त्यसको मूल्य भने सम्भवतः धेरै वर्ष, दशक वा शताब्दीसम्म कसैले उछिन्न सक्ने छैन ।

(रोयटर्सलगायतका समाचार संस्थाहरुमा प्रकाशित समाचारहरुको आधारमा तयार गरिएको विश्लेषण)

 




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।