दसैँका लागि गाउँ फर्किनेको लर्को : ९ दिनमै नयाँ बसपार्कबाट २ लाख बढी यात्रु बाहिरिए

Oct 12, 2026 11:26 AM Merolagani



बडादसैँ नजिकिएसँगै राजधानी काठमाडौँबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप ह्वात्तै बढेको छ। 

अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका नागरिकहरू दसैँ मनाउन धमाधम घर फर्किन थालेपछि नयाँ बसपार्कसहितका प्रमुख नाकाहरूमा यात्रुको बाक्लो चहलपहल देखिएको छ।

नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार असोज १७ देखि २५ गतेसम्मको ९ दिनको अवधिमा बसपार्कबाट मात्रै २ लाख ७ हजार २५१ जना यात्रु बाहिरिएका छन्।

प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार नयाँ बसपार्कबाट दैनिक बाहिरिने यात्रुको सङ्ख्या यस प्रकार छ:

  • असोज १७: १८,७२९

  • असोज १८: १९,५३०

  • असोज १९: २३,०१६

  • असोज २०: २९,६०२

  • असोज २१: २२,२८८

  • असोज २२: २५,२०१

  • असोज २३: ३१,२३५ (सबैभन्दा धेरै)

  • असोज २४: १६,९७०

  • असोज २५: २९,३८०

सडकको अवस्थाले व्यवस्थापनमा चुनौती
घर फर्किनेको चाप तीव्र रूपमा बढे पनि बिग्रिएका सडकका कारण यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको यातायात व्यवसायीहरूले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सडक अवरोधका कारण सवारीसाधन समयमै काठमाडौँ फर्कन नसक्दा तालिका व्यवस्थापनमा समस्या परेको हो।

विशेषगरी अग्रिम टिकट बुकिङ खुला गरिएको दिन (असोज २३ गते) धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिँदा सवारी आवागमन लामो समय अवरुद्ध भएको थियो, जसका कारण राजधानी भित्रिने र बाहिरिने सवारीसाधन जाममा परेका थिए।

यसैबीच, महासङ्घले यात्रुहरूलाई आधिकारिक काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न, सरकारले तोकेको भाडादर मात्र तिर्न र सवारीसाधनको अवस्था जाँच गरी सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ।