धितोपत्र ऐन २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी बोर्डले असोज २३ गते एक परिपत्र जारी गर्दै यसअघि भदौ ९ गते जारी गरिएको निर्देशनमा संशोधन तथा थप परिमार्जन गरेको छ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को व्यवस्था बमोजिम लकइन अवधि समाप्त भए पश्चात् कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बखत कायम रहेका आधारभूत शेयरधनीहरूले आफूले धारण गरेको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि ५ कारोबार दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ। यसअघि ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्दा १५ दिन अगावै कम्पनीलाई जानकारी गराई सो सूचना नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई परिमार्जन गर्दै १५ प्रतिशत वा सोभन्दा बढी शेयरको हकमा ५ कारोबार दिन अगावै जानकारी दिनुपर्ने बनाइएको हो।
सूचना प्राप्त भएपछि सूचीकृत कम्पनीले यथाशीघ्र नेप्से मार्फत उक्त बिक्री आशयको सूचना सार्वजनिक गर्नुपर्नेछ भने सो सूचनाको वैधता तीन महिनासम्म कायम रहने व्यवस्था गरिएको छ। यसैगरी बोर्डले निर्देशनको नम्बर १ (क) थप गर्दै शेयर बिक्री गर्ने आशयले सूचना प्रवाह गरेका आधारभूत शेयरधनीले तोकिएको शेयर बिक्री नगरेको वा पूर्ण रूपमा बिक्री गरिनसकेको अवस्थामा पुनः सोही कम्पनीको शेयर खरिद गरेमा कारोबार सम्पन्न भएपछि यथाशीघ्र त्यसको जानकारी दिनुपर्ने नियम बनाएको छ। त्यस्ता शेयरधनीले मूल्य तथा परिमाण सहितको खरिद सम्बन्धी विवरण सूचीकृत कम्पनीमा गराउनुपर्नेछ र कम्पनीले सो विवरण नेप्से मार्फत यथाशीघ्र सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्ने बोर्डले जनाएको छ।
