सरकारले बजारको अपेक्षाभन्दा बढी सकारात्मक दृष्टिकोण राख्दै नीतिगत सरलता अपनाएको छ र नियामक निकायले पनि समयक्रममा नियमहरू खुकुलो बनाउँदै लगेका छन्। बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर निकै सस्तो हुँदा समेत बजारले अपेक्षित गति लिन नसक्नुमा बाह्य कारणभन्दा पनि ब्रोकरहरूको गलत प्रवृत्ति र लगानीकर्ताहरूको अपरिपक्व शैली प्रमुख कारक बनेका छन्।
बजारमा सूचीकृत कम्पनीहरूको संख्या बढ्नु, हकप्रद र बोनस शेयर थपिनु तथा लक-इन अवधिपछिको आपूर्तिको कुरा उठ्ने गरेको छ। तर, सूचीकृत कम्पनीहरू थपिँदैमा वा लक-इन अवधी पछि आपूर्ति बढ्दैमा लाभांश दिन नसक्ने कम्पनीहरूमा के लगानीकर्ताहरुले जथाभाबी लगानी गर्नु नै पर्छ र? हामी बजारमा एकमुठा साग किन्न जाँदा समेत छानेर, पल्टाएर र मोलतोल गरेर किन्छौँ भने आफ्नो पसिनाको कमाइ र बचतको पैसा शेयर बजारमा लगानी गर्दा कम्पनी नछानी अन्धाधुन्ध लगानी गर्नु के हाम्रो आफ्नै ठूलो गल्ती होइन र?
बजारमा खेल खेल्नेहरुले सधैं आफ्ना लागि मात्रै मैदान बनाउने हुन अरुका लगी होइन भन्ने कुरा त ब्रोकर फ्लोर सिट हेरेर र खेलाडीको पछि लागेर लगानी गर्दा को परिणाम बाट नैं प्रष्ट हुन्छ।
ब्रोकरहरूको भूमिका झन स्वार्थी देखिन थालेको छ। एकातिर ब्रोकर कम्पनीहरूले कार्यालय सञ्चालन गरी आफ्ना लागि आकर्षक बोनस र नाफा कमाइरहेका छन् भने अर्कोतिर वर्षौंदेखि नियमित कारोबार गर्ने आम लगानीकर्ताहरू भने निरन्तर आफ्नो सर्वस्व सम्पत्ति गुमाउन बाध्य छन्। अझ विडम्बना त यो छ कि, कतिपय ब्रोकरहरूले स्वस्थ र स्वतन्त्र बजार बसाल्नुको सट्टा निश्चित स्क्रिप्टहरू मात्र तोकेर लगानीकर्तालाई लिमिट दिने गरेको समेत सुनिन आएको छ । हामी लगानीकर्ताहरू पनि जानीबुझी तिनै ब्रोकर र बजारका खेलाडीहरूको जालझेल र पासोमा फस्दै गइरहेका छौँ।
यसमा हामी लगानीकर्ताहरूको पनि उत्तिकै ठूलो कमजोरी छ, जसलाई सुधार नगरी अरूलाई मात्र दोष दिनु पूर्णतया बेतुक हुन्छ। हामीले लगानी गरेका कम्पनीहरूले हामीलाई राति राम्रोसँग भोक र निद्रा लाग्न दिएको छैन? एकपटक छातीमा हात राखेर आफैँलाई गम्भीर प्रश्न सोध्नुपर्छ। हामीले सही रूपमा लाभांश क्षमता (Dividend Yield) र कम्पनीको वित्तीय आधार हेरेर लगानी गर्नुको सट्टा, यसलाई जुवाकोखाल जस्तै छोटो अवधिको सट्टावाजी र भाग्यको खेल ठान्यौँ। बजारमा छिटो पैसा कमाउने लोभमा अन्धाधुन्ध लाग्दा र विना अध्ययन बजारका ठेकेदारहरुले उक्साएका स्क्रिप्टहरूको पछि कुद्दासम्म हाम्रो पतन रोक्न सकिंदैन।
तसर्थ, अब पनि गल्ती स्वीकार नगर्ने हो भने पूँजी बजार सुधारको कल्पना गर्नु व्यर्थ हुन्छ। ब्रोकरहरूले आफ्नो स्वार्थपूर्ण सिन्डिकेट र स्क्रिप्टकेन्द्रित कारोबार बन्द गर्नुपर्छ भने हामी लगानीकर्ताहरूले पनि साग किनेजस्तै निकै विचार पुर्याएर, कम्पनीको वित्तीय अवस्था जाँचेर मात्र लगानी गर्ने बानी बसाल्नुपर्छ। नीति र नियम जतिसुकै राम्रो भए पनि ब्रोकरको नियत र लगानीकर्ताको जुवाडे प्रवृत्ति नसुध्रिएसम्म यो बजारमा कसैले पनि राहत पाउन सक्दैन।