केन्द्रीय बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाहरूलाई पर्याप्त नयाँ नोट पठाइसकिएको र सर्वसाधारणले सहजै पाउने जनाएको थियो। तर, काठमाडौँ उपत्यकाका वाणिज्य बैंकहरूमा गरिएको स्थलगत रिपोर्टिङले भने राष्ट्र बैंकको थापाथलीस्थित काउन्टरबाहेक अन्यत्र सर्वसाधारणले नयाँ नोट पाउनै नसकेको तीतो यथार्थ देखाएको छ।

सर्वसाधारण सेवाग्राही बनेर उपत्यकाका वाणिज्य बैंकका शाखाहरूमा पुग्दा अधिकांश काउन्टरबाट कर्मचारीहरूले नयाँ नोट छैन भन्दै फर्काइरहेका छन् भने राष्ट्र बैंकले दाबी गरेको ‘एटीएमबाट सयको नोट झिक्ने’ व्यवस्था पनि अधिकांश ठाउँमा चलेको छैन।
तीन वाणिज्य बैंकमा स्थलगत रिपोर्टिङ : बहानाबाजी र रित्ता काउन्टर
काठमाडौँका तीन प्रमुख वाणिज्य बैंकका शाखाहरूमा पुगेर नयाँ नोट सटहीबारे बुझ्दा बैंकपिच्छे फरक–फरक र गैरजिम्मेवार जवाफ पाइएको छ:
सिद्धार्थ बैंक :
सिद्धार्थ बैंकको शाखामा नयाँ नोट साट्न पुग्दा साना दरका नोट सबै सकिइसकेको जानकारी दिइयो। काउन्टरका कर्मचारीले भने, “५, १०, २०, ५० र १०० दरका नयाँ नोट सकिएका छन्, आवश्यक परे ५०० र १००० का नयाँ नोट मात्र दिन सकिन्छ।” जबकी दसैँको दक्षिणाका लागि सर्वसाधारणलाई साना दरकै नोटको बढी खाँचो पर्छ।
एनएमबि बैंक :
एनएमबि बैंकको शाखामा पुग्दा त्यहाँ नयाँ नोट नै नभएको जवाफ मिल्यो। बैंकका कर्मचारीहरूले आफूहरूसँग नयाँ नोटको मौज्दात नै नभएको भन्दै सेवाग्राहीलाई काउन्टरबाटै फर्काइरहेका थिए।
ग्लोबल आइएमई बैंक :
ग्लोबल आइएमई बैंकको शाखामा बुझ्दा कर्मचारीहरूले नयाँ नोट आउने त बताए तर कहिले आइपुग्छ भन्ने कुनै टुङ्गो नभएको गैरजिम्मेवार जवाफ दिए। “नयाँ नोट आउँछ होला, तर कहिले आउँछ निश्चित छैन,” त्यहाँका कर्मचारीको भनाइ थियो।
राष्ट्र बैंकले सबै बैंकलाई नोट वितरण गरिसकिएको दाबी गरे पनि वाणिज्य बैंकहरूले आफ्ना पहुँचवाला र ठूला निक्षेपकर्तालाई मात्र भित्रभित्रै नोट बाँडेर सर्वसाधारणलाई रित्तो हात फर्काउने गरेको गुनासो सेवाग्राहीको छ।
एटीएमबाट सयको नोट : राष्ट्र बैंकको दाबी असफल
यस वर्ष राष्ट्र बैंकले बैंकको काउन्टरमा लाग्ने भीड कम गर्न धेरैजसो एटीएम मेसिनबाटै १ सय दरका नयाँ नोट झिक्न मिल्ने व्यवस्था मिलाइएको प्रचार गरेको थियो। तर, दसैँको मुखसम्म आइपुग्दा पनि यो योजना पूर्ण रूपमा असफल देखिएको छ।
काठमाडौँ उपत्यकाका अधिकांश बैंकका एटीएम बुथहरूमा १ सय दरका नोट राख्ने क्यासेट नै जडान गरिएको छैन। एकाध बैंकले सीमित मुख्य कार्यालयका एटीएममा देखावटी रूपमा यो सुविधा सुरु गरे पनि सर्वसाधारणले प्रयोग गर्ने सडक र बजारका अधिकांश एटीएमबाट अझै पनि ५०० र १००० दरका नोट मात्र निस्किरहेका छन्। जसका कारण एटीएमबाट सयको नोट निकालेर दसैँ टार्ने सोच बनाएका आमउपभोक्ता निराश बनेका छन्।
थापाथलीमा भने वितरण जारी : क्युआरबाट पनि सटही
वाणिज्य बैंकहरूले नयाँ नोट छैन भनिरहँदा नेपाल राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा भने नयाँ नोट सटहीको व्यवस्था नियमित रूपमा चलिरहेको छ।
राष्ट्र बैंक थापाथलीस्थित एक जिम्मेवार अधिकारीसँग गरिएको कुराकानि अनुसार काउन्टरमा प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपैयाँ (२ सेट) वा १८ हजार ५०० रुपैयाँ (१ सेट) सम्म नयाँ नोट साट्न पाउने सीमा तोकिएको छ।
१८ हजार ५०० रुपैयाँको १ सेट लिँदा ५ देखि १०० सम्मका साना दरका नोट दिइने र त्योभन्दा कम रकम सटही गर्दा ५०० र १००० का नोटसमेत मिलाएर लिन सकिने ती अधिकारीले बताए। थापाथलीमा नगद नहुनेहरूका लागि मोबाइल बैंकिङमार्फत क्युआर (QR) कोड स्क्यान गरेर पनि नयाँ नोट साट्ने सुविधा उपलब्ध छ।
कागजमा विकेन्द्रीकरण, सडकमा सास्ती
वाणिज्य बैंकहरूले आफ्नो दायित्व पन्छाउँदा र एटीएमबाट खुद्रा नोट झिक्ने योजना असफल हुँदा नयाँ नोट लिन चाहने सर्वसाधारण फेरि पनि राष्ट्र बैंककै थापाथली काउन्टरमा लाम लाग्न बाध्य भएका छन्। केन्द्रीय बैंकले नीतिगत निर्णय र प्रचार गरे पनि वाणिज्य बैंकहरूले सर्वसाधारणलाई नोट दिए/नदिएको विषयमा प्रभावकारी अनुगमन नगर्दा यसपालि पनि नयाँ नोटका लागि आमउपभोक्ताले सास्ती नै खेप्नुपरेको छ।