मस्कले भारतका शीर्ष उद्योगपति मुकेश अम्बानीमाथि बजारमा एकाधिकार (मोनोपोली) जोगाउन स्टारलिङ्कलाई रोकेको आरोप लगाउँदै ‘डियर प्राइम मिनिस्टर अम्बानी’ सम्म भन्न भ्याएपछि भारतमा नयाँ तरंग पैदा भएको हो। यस विवादमा कांग्रेस नेता राहुल गान्धी, अभिनेता तथा सांसद कमल हासनदेखि अभिनेत्री कङ्गना रनौटसम्म होमिएका छन् भने भारत सरकारले पनि मस्कको आरोपलाई ठाडै खारेज गरेको छ।
आखिर यो विवाद कहाँबाट सुरु भयो, कसले के भने र अहिले भारतमा स्टारलिङ्कको वास्तविक अवस्था के छ? प्रस्तुत छ यसको विस्तृत लेखाजोखा:
विवादको सुरुवात : मस्कको सिधा प्रहार— ‘के अम्बानी नै देशका असली हाकिम हुन्?’
विवादको आगो गत अक्टोबर ७ मा मस्कको एउटा सामाजिक सञ्जाल पोस्टबाट सल्कियो। मस्कले ‘एक्स’ (X) मा लेख्दै भारतका केही ठूला व्यवसायीले आफ्नो एकछत्र राज जोगाउन स्टारलिङ्कलाई रोक्न खोजेको आरोप लगाए। उनले यसलाई ‘भारतीय जनताविरुद्धको अपराध’ समेत भने।
त्यसको भोलिपल्ट मस्क अझ आक्रामक रूपमा प्रस्तुत भए। उनले लेखे, “स्टारलिङ्कलाई विश्वका १६५ भन्दा बढी देशमा सेवा दिने अनुमति मिलिसकेको छ। कम्पनीले विगत पाँच वर्षदेखि भारत सरकारको हरेक कानुन र सुरक्षा सर्त पालना गर्दै आएको छ। यति हुँदाहुँदै पनि भारतमा लाइसेन्स किन दिइएको छैन? के अम्बानी नै यो देशका रियल बोस (असली हाकिम) हुन्?”
त्यतिमा मात्र नरोकिई मस्कले मुकेश अम्बानीलाई व्यंग्य गर्दै लेखे, “डियर प्राइम मिनिस्टर अम्बानीजी, कृपया भारतको असली मालिक तपाईँ नै हुनुहुन्छ भन्ने नबुझेकोमा मेरो गल्ती क्षमा गर्नुहोस्। के तपाईँ भारतका जनतामाझ आफ्नो एकाधिकार कायमै राख्दै पनि स्टारलिङ्कलाई प्रतिस्पर्धा गर्न दिनेबारे सोच्नुहुन्छ?”
राजनीतिक घम्साघम : राहुल गान्धीको व्यङ्ग्य र कमल हासनको कडा जवाफ
मस्कको यस कटाक्षले भारतीय राजनीतिमा तत्कालै प्रवेश पायो:
-
राहुल गान्धीको इन्ट्री:
मस्कको पोस्टमा प्रतिक्रिया दिँदै लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले लेखे, “भारतमा स्वागत छ इलन। अर्का व्यक्तिलाई नभेटुञ्जेल धैर्य गर्नुहोस् (Wait till you meet the other guy)।” राहुलको संकेत उद्योगपति गौतम अडानीतर्फ थियो। मस्कले पनि तत्कालै जवाफ दिए, “धन्यवाद राहुल, यो साँच्चै चिन्ताजनक छ।”
-
कमल हासनको राष्ट्रियता झल्किने प्रहार:
मस्कको अभिव्यक्तिको विरोध गर्दै अभिनेता तथा राज्यसभा सांसद कमल हासनले कडा शब्दमा जवाफ फर्काए। हासनले लेखे, “मिस्टर मस्क, कुनै पनि अर्बपतिले कुनै देशको नीति निर्धारण गर्न सक्दैन— चाहे ऊ भारतीय होस् वा अमेरिकी। भारत एक स्वतन्त्र लोकतन्त्र हो, कसैको उपनिवेश (गुलाम) होइन। हामी विश्वका हरेक लगानीकर्ता र प्रविधिलाई स्वागत गर्छौँ, तर भारतको भविष्य केवल र केवल भारतका जनताले तय गर्नेछन्; पश्चिमी स्वार्थी तत्व, तिनीहरूको दोहोरो मापदण्ड वा कुनै अर्बपतिले होइन।”
-
कङ्गना र कुणालको समर्थन:
कमल हासनको यो भनाइलाई समर्थन गर्दै भाजपा सांसद कङ्गना रनौटले मस्कमाथि व्यंग्य गरिन्, “ओह! यो त मस्कलाई मज्जाले बिझ्यो होला। एकदमै तीखो, सटीक र व्यंग्यात्मक जवाफ।” अर्का अभिनेता कुणाल कपुरले पनि पश्चिमी प्रविधि अर्बपतिहरूमा आफूलाई ‘मसिहा’ ठान्ने रोग रहेको भन्दै मस्कको विगतका विवादहरू (थाइल्यान्डको गुफा उद्धार र ब्राजिलको सर्वोच्च अदालतसँगको टकराव) को स्मरण गराए।
मूल्य र प्रतिस्पर्धाको बहस : मस्कको नयाँ दाबी
विवाद चुलिँदै जाँदा धेरैले भारतमा विश्वकै सस्तो इन्टरनेट (महिनाको ३००–४०० रुपैयाँमा ६० जीबी डेटा) उपलब्ध भइरहेको अवस्थामा महिनाको २,२०० रुपैयाँभन्दा बढी पर्ने स्टारलिङ्क कसले किन्ला भनी प्रश्न उठाए।
यसको जवाफमा मस्कले भारतमा स्टारलिङ्कको सेवा निकै सस्तो दरमा ल्याइने प्रस्ट पारे। उनले भने, “यदि स्टारलिङ्क धेरै महँगो भयो भने भारतमा कसैले किन्दैन, त्यसैले स्पेसएक्सले यहाँ टिक्नका लागि आफ्ना प्लानहरू सस्तो बनाउनैपर्छ। स्टारलिङ्कको प्रवेशले अम्बानीको नाफा केही घट्न सक्छ तर उनको व्यापार बन्द हुने छैन। बजारमा स्वस्थ प्रतिस्पर्धा बढ्दा अन्तिम फाइदा भारतीय उपभोक्तालाई नै हुनेछ।”

सरकारको स्पष्टोक्ति : ‘सबैलाई नियम बराबर, कसैको मोनोपोली चल्दैन’
मस्कको निरन्तर आरोपपछि भारत सरकारले औपचारिक रूपमै खण्डन गरेको छ। केन्द्रीय सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले ‘इन्डिया मोबाइल कंग्रेस २०२६’ मा बोल्दै भारतमा कुनै पनि क्षेत्रमा एकाधिकार (Monopoly) हुन नदिइने स्पष्ट पारे।
सरकारका अनुसार स्याटेलाइट इन्टरनेटका लागि तीन कम्पनीहरू प्रक्रियामा छन्:
१. रिलायन्स जियो स्याटकम
२. भारती एयरटेल समर्थित युटेलस्याट वानवेब
३. इलन मस्कको स्टारलिङ्क
सञ्चार मन्त्रालयले नियम कसैका लागि भेदभावपूर्ण नभएको र यी तीनवटै कम्पनीहरू हाल एउटै प्रक्रियागत चरणमा रहेको जनाएको छ। राष्ट्रिय सुरक्षा जाँच (Security Clearance) र स्पेक्ट्रमको मूल्य निर्धारण निर्देशिका टुंगिएपछि मात्र अन्तिम अनुमति दिइने सरकारको अडान छ।
ग्राउन्ड रियालिटी : भारतमा स्टारलिङ्कको तयारी कस्तो छ?
लाइसेन्सको विवाद चले पनि स्टारलिङ्कले भारतमा आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ:
-
२० वटा गेटवे स्टेसन : देशभर सयौँ एन्टिनासहित २० वटा जमिनमा आधारित गेटवे साइट्स निर्माण भइसकेका छन्।
-
सम्झौता : दुर्गम क्षेत्रमा इन्टरनेट पुर्याउन स्टारलिङ्कले रिलायन्स जियो र एयरटेलसँग समेत प्रारम्भिक समझदारी (MoU) गरेको छ भने महाराष्ट्र, गुजरात र मेघालय सरकारसँग आशयपत्र (LoI) मा हस्ताक्षर गरिसकेको छ।
-
सुरक्षा चासो : सन् २०२४ मा अण्डमानमा लागुऔषध तस्करी अनुसन्धानका क्रममा र मणिपुर हिंसाका बेला सेनाको अपरेसनमा स्टारलिङ्कका उपकरणहरू फेला परेपछि भारतीय सुरक्षा निकायहरू यसको डेटा सेक्युरिटी र कल इन्टरसेप्सनका विषयमा थप सतर्क बनेका छन्।
आकाशको लडाइँ, जमिनको बजार
विश्वकै दोस्रो ठूलो इन्टरनेट बजार मानिने भारतमा कब्जा जमाउन विश्वका धनाढ्य इलन मस्क र एसियाकै धनी मुकेश अम्बानीबीचको द्वन्द्व सतहमा आएको हो। एकातिर मस्कले ग्रामीण र दुर्गम क्षेत्रमा डिजिटल क्रान्तिको नारा दिँदै बजार छिर्न दबाब बढाइरहेका छन् भने अर्कोतिर भारत सरकार र घरेलु उद्योगीहरू राष्ट्रिय सुरक्षा, स्थानीय कानुन र स्पेक्ट्रम नीतिको सर्त अघि सारिरहेका छन्। तत्कालका लागि यो वाक्युद्ध थामिए पनि स्टारलिङ्कले अन्तिम सेक्युरिटी क्लेयरेन्स नपाएसम्म यो बहुआयामिक विवाद अझै केही समय तन्किने निश्चित छ।