प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो। यसबाट स्थानीय बासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल तथा घरेलु उद्योग लाभान्वित हुनेछन्।
खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिकाको कार्यालय र हाहियास्थित अस्पतालमा थ्री फेजका मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ। राष्ट्रिय प्रसारण लाइन विस्तारले स्थानीय क्षेत्रमा विद्युत् आपूर्तिको नियमितता र विश्वसनीयता बढाउन सहयोग पुग्ने चौधरीले बताए।
चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ। उक्त क्षेत्रमा विद्युत् पुर्याउन ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ। चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ।
सङ्खुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै प्राधिकरणले दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारको कामलाई निरन्तरता दिइरहेको छ। प्राधिकरणका अनुसार जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तारले स्थानीय बासिन्दाको जीवनस्तर सुधार, स्वास्थ्य तथा शिक्षा सेवाको प्रभावकारी सञ्चालन र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।