ह्याकरहरूले बैंकको खाता चोर्ने, ग्राहकको व्यक्तिगत विवरण कब्जा गर्ने वा कम्प्युटरका फाइल बन्द गरेर फिरौती माग्ने परम्परागत शैलीभन्दा फरक तरिका अपनाए । उनीहरूले सुपरमार्केटमा खाद्य पदार्थ सुरक्षित राख्न प्रयोग हुने विद्युतीय शीतकरण प्रणालीलाई नै निशाना बनाए ।
अक्टोबर ११ देखि १२ को राति भएको भनिएको यस हमलामा धेरै सुपरमार्केटका फ्रिज तथा फ्रिजरको तापक्रम टाढैबाट परिवर्तन गरिएको थियो। कतिपय उपकरणको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको विवरण सार्वजनिक भएको छ। परिणामस्वरूप ताजा मासु, दुग्धजन्य पदार्थ र जमाएर राखिएका खाद्य सामग्री बिग्रिए। केही पसलमा आगलागीसमेत भएको अधिकारीहरूले बताएका छन् । यो घटना कसले गरायो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन नसक्नुले घटनालाई झन रहस्यमय बनाएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

यो घटना केवल एउटा खुद्रा व्यापार कम्पनीको प्राविधिक समस्या होइन। इन्टरनेटसँग जोडिएका उपकरणलाई नियन्त्रणमा लिएर खाद्य आपूर्ति प्रणालीमै क्षति पुर्याउन सकिने जोखिमको उदाहरण हो । साइबर आक्रमणबाट करिब १ हजार सुपरमार्केट पूर्णरुपमा क्षति पुगेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
इन्टरमार्चे सञ्चालक समूहले आफ्ना करिब १५० पसलमा फ्रिजको तापक्रम बढेको पुष्टि गरेको थियो। सबै कम्पनीमा प्रभावित पसलको अन्तिम सङ्ख्या भने एउटै समयमा निश्चित भइसकेको थिएन।फ्रान्सको पेरिसस्थित अभियोजन कार्यालयले धेरै प्रमुख खाद्य खुद्रा शृङ्खलाका जडित फ्रिजमा भएको ठूलो साइबर हमलाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
फ्रिजलाई कसरी हतियारजस्तै प्रयोग गरियो ?
आधुनिक सुपरमार्केटमा हरेक फ्रिज अलग्गै सञ्चालन हुँदैन। धेरै पसलमा मासु, दूध, जमेको खाना र अन्य नाशवान् सामग्री राख्ने दर्जनौँ उपकरणलाई एउटै केन्द्रीय नियन्त्रण प्रणालीले सञ्चालन गर्छ।यस्ता प्रणालीले तापक्रम नियन्त्रण गर्ने, फ्रिजरको बरफ हटाउने प्रक्रिया सञ्चालन गर्ने, ऊर्जा खपत निगरानी गर्ने र प्राविधिक कर्मचारीलाई टाढैबाट उपकरण जाँच गर्न दिने काम गर्छन्। मर्मतसम्भार सजिलो बनाउन तीमध्ये केही नियन्त्रण उपकरण इन्टरनेटसँग जोडिएका हुन्छन्। यही सुविधामा सुरक्षा कमजोरी हुँदा जोखिम उत्पन्न भयो।
समाचार विवरणअनुसार आक्रमणकारीले फ्रिजको तापक्रम तथा बरफ हटाउने स्वचालित प्रक्रियामा परिवर्तन गरे। सामान्य अवस्थामा फ्रिजरमा जमेको बरफ हटाउन तापक्रम केही समयका लागि परिवर्तन गरिन्छ र त्यसपछि चिस्याउने प्रक्रिया पुनः सुरु हुन्छ। तर त्यस प्रक्रियालाई अनधिकृत रूपमा सक्रिय वा परिवर्तन गर्दा चिसो राख्नुपर्ने खाद्य पदार्थ न्यानो हुन थाले।
रोयटर्सका अनुसार प्रभावित प्रणालीमध्ये डेनमार्कको डानफस कम्पनीले बनाएका नियन्त्रण उपकरण पनि थिए। ती उपकरणमा पुरानो फर्मवेयर प्रयोग भइरहेको थियो। कम्पनीले ग्राहकलाई समर्थित प्रणालीको अद्यावधिक संस्करण प्रयोग गर्न सिफारिस गरेको बताएको छ।
यस घटनाको महत्त्वपूर्ण पक्ष के हो भने ह्याकरले खाद्य पदार्थ चोर्नु परेन, गोदाममा प्रवेश गर्नु परेन र कुनै कर्मचारीलाई प्रत्यक्ष धम्क्याउनु पनि परेन। उपकरणको नियन्त्रण प्रणालीमा पहुँच पाएपछि तापक्रम परिवर्तन गरेर खाद्य भण्डारलाई नै क्षति पुर्याउन सकियो।
खाद्य पदार्थको सुरक्षा केवल उत्पादनको गुणस्तरमा निर्भर हुँदैन। उत्पादन भएको क्षणदेखि उपभोक्ताले खरिद गर्ने समयसम्म उचित तापक्रममा राख्न सकियो कि सकिएन भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यस प्रक्रियालाई खाद्य पदार्थको शीत शृङ्खला भनिन्छ।
मासु, माछा, दूध, दुग्धजन्य पदार्थ र धेरै तयार खाद्य सामग्री निश्चित तापक्रममा राख्नुपर्छ। फ्रिजको तापक्रम लामो समयसम्म बढेमा हानिकारक सूक्ष्मजीव बढ्न सक्छन्। जमेको खाद्य पदार्थ पग्लिएपछि त्यसलाई फेरि जमाउँदैमा पहिलेको सुरक्षा सुनिश्चित हुँदैन।
त्यसैले फ्रान्सका सुपरमार्केटले प्रभावित खाद्य सामग्रीलाई पुनः बिक्री गर्नुको सट्टा नष्ट गर्ने निर्णय गरे। इन्टरमार्चेका सञ्चालकले स्वास्थ्य जोखिम रोक्न प्रभावित खाद्य पदार्थ फालिएको बताएका थिए। यस घटनाले खाद्य सुरक्षा र साइबर सुरक्षाबीचको सम्बन्ध स्पष्ट पारेको छ। कम्प्युटर प्रणालीमा भएको कमजोरीले अन्ततः मानिसले खाने खाद्य पदार्थ असुरक्षित बनाउन सक्छ।
आर्थिक क्षति कति भयो ?
हमलाबाट भएको कुल क्षतिको अन्तिम हिसाब तत्काल उपलब्ध थिएन। तर इन्टरमार्चेका प्रमुख कार्यकारी अधिकृत थिएरी कोटियारले फ्रान्सभरि एकै दिनको क्षति दशौँ मिलियन युरो पुग्न सक्ने अनुमान व्यक्त गरेका थिए।
फ्रान्समा मात्र सीमित रहेन घटनाको जोखिम
फ्रान्सको घटनापछि अर्को चिन्ता देखियो—यस्तै नियन्त्रण उपकरण अन्य देशका सुपरमार्केटमा पनि प्रयोग भइरहेका छन्। अक्टोबर १३ मा ले मोन्द ले डिक्सेल प्रविधि प्रयोग गर्ने केही फ्रान्सेली पसलमा पनि समान प्रकृतिको अर्को आक्रमण भएको विवरण प्रकाशित गर्यो। एउटा पसलमा प्राविधिक टोलीले असामान्य तापक्रम वृद्धि समयमै पत्ता लगाएकाले खाद्य सामग्री नष्ट हुनबाट जोगिएको थियो। अर्को पसलले भने फ्रिजमा राखिएका सामान फाल्नुपरेको जनाएको थियो।
अर्कोतर्फ, नेदरल्यान्ड्सको सुपरमार्केट सञ्चालक आहोल्ड डेलहाइजले आफ्नो सञ्जालमा छुट्टै साइबर सुरक्षा समस्या आएको बताएको थियो। युरोन्युजले अक्टोबर १४ मा प्रकाशित समाचारमा युरोपभरि यस्ता जोखिममा रहेका हजारौँ उपकरण अनलाइनमै खुला हुन सक्ने चिन्ता उल्लेख गरेको छ।