घरमा खसी काट्ने, आफन्त र परिवारका सदस्य मिलेर मासुका विभिन्न परिकार बनाउने र रमाइलो गर्दै खाने परम्पराले दसैँलाई अझ विशेष बनाउँछ।
खसीको मासुबाट धेरै प्रकारका परिकार बनाउन सकिन्छ। कसैलाई झोलिलो मासु मन पर्छ भने कसैको रोजाइ भुटुवा हुन्छ। कतिपय ठाउँमा पक्कु बनाउने चलन छ भने पछिल्लो समय मटन बिरयानी, सेकुवा र कबाबजस्ता परिकार पनि लोकप्रिय हुँदै गएका छन्।
१. खसीको पक्कु
आवश्यक सामग्री
- खसीको मासु — १ केजी
- तोरीको तेल — ३ चम्चा
- अदुवा–लसुनको पेस्ट — २ चम्चा
- जिरा र धनियाँको धुलो — डेढ चम्चा
- खुर्सानीको धुलो — १ चम्चा
- सुकमेलको धुलो — आधा चम्चा
- घिउ — २ चम्चा
- मरिचको धुलो — एक चिम्टी
- तेजपत्ता — ४ पत्ता
- नुन — स्वादअनुसार
बनाउने विधि
- खसीको मासुलाई साना टुक्रामा काट्नुहोस्।
- मासुमा तोरीको तेल, अदुवा–लसुनको पेस्ट, जिरा, धनियाँ, खुर्सानी, सुकमेल, मरिच, तेजपत्ता र नुन राखेर राम्ररी मोल्नुहोस्।
- मसलामा मोलिएको मासुलाई छोपेर आधा घण्टादेखि एक घण्टासम्म राख्नुहोस्।
- बाक्लो भाँडोमा मासु राखेर मन्द आगोमा पकाउनुहोस्। बीच–बीचमा चलाउँदै जानुहोस्, ताकि मासु भाँडोमा नटाँसियोस्।
- मासु पाक्दै जाँदा पानी सुक्छ। आवश्यकताअनुसार थोरै पानी थपेर मासु नरम हुने गरी पकाउन सकिन्छ।
- अन्त्यमा घिउ राखेर चलाउनुहोस्। मासु पाकेपछि करिब १० मिनेट छोपेर राख्नुहोस्। त्यसपछि पक्कु तयार हुन्छ।

२. खसीको लेदोबेदो
आवश्यक सामग्री
- खसीको मासु — १ केजी
- प्याज — २ वटा
- गोलभेँडा — २ वटा
- अदुवा–लसुनको पेस्ट — २ चम्चा
- गरम मसला — १ चम्चा
- धनियाँको धुलो — १ चम्चा
- बेसार, खुर्सानी र जिराको धुलो — स्वादअनुसार
- तोरीको तेल — ३ चम्चा
- धनियाँको पात — एक मुठी
- टिमुरको धुलो — आधा चम्चा
- मेथी — १ चम्चा
- तेजपत्ता — १–२ पत्ता
- नुन — स्वादअनुसार
बनाउने विधि
- कराही वा प्रेसर कुकरमा तोरीको तेल तताउनुहोस्। तेल तातेपछि मेथी पड्काउनुहोस्।
- मसिनो काटेको प्याज राखेर खैरो हुने गरी भुट्नुहोस्।
- तेजपत्ता र बेसार राखेर चलाउनुहोस्। त्यसपछि खसीको मासु राखेर केही समय भुट्नुहोस्।
- अदुवा–लसुनको पेस्ट, गरम मसला, धनियाँ, जिरा, खुर्सानी र नुन राखेर राम्ररी चलाउनुहोस्।
- आवश्यकताअनुसार पानी थपेर मासु नरम हुने गरी पकाउनुहोस्।
- अन्त्यमा मसिनो गरी काटेको गोलभेँडा र टिमुरको धुलो राख्नुहोस्। गोलभेँडा पाकेपछि धनियाँको पात छर्कनुहोस्। स्वादिलो लेदोबेदो तयार हुन्छ।
३. मटन बिरयानी
आवश्यक सामग्री
- खसीको मासु — १ केजी
- बिरयानी चामल — १ केजी
- बेसार — १ चम्चा
- तोरीको तेल — ६० मिलिलिटर
- घिउ — २ चम्चा
- नुन — स्वादअनुसार
- सिङ्गो गरम मसला — करिब ६० ग्राम
- जिरा र धनियाँको धुलो — २ चम्चा
- खुर्सानीको धुलो — १ चम्चा
- अदुवा–लसुनको पेस्ट — २ चम्चा
- प्याज — ३ वटा
- दही — १ डाडु
- पुदिनाको पात — १५ ग्राम
- धनियाँको पात — एक मुठी
- तेजपत्ता — ४ पत्ता
- फुड कलर — एक चिम्टी (ऐच्छिक)
- गुलाबजल — २ चम्चा
- भुटेको प्याज — १०० ग्राम
- काजु — ८० ग्राम
बनाउने विधि
- सबैभन्दा पहिले बिरयानी चामललाई धोएर केही समय भिजाउनुहोस्।
- भाँडोमा तेल तताएर प्याजलाई खैरो हुने गरी भुट्नुहोस्। त्यसपछि सिङ्गो गरम मसला राख्नुहोस्।
- खसीको मासु राखेर केही समय भुटेपछि बेसार, जिरा–धनियाँको धुलो, खुर्सानी, अदुवा–लसुनको पेस्ट र नुन राख्नुहोस्।
- मासुमा मसला राम्ररी मिसिएपछि दही राखेर पकाउनुहोस्। आवश्यकताअनुसार पानी थप्दै मासु नरम हुने गरी ग्रेभी तयार गर्नुहोस्।
- अर्को भाँडोमा पानी उमालेर सिङ्गो गरम मसला र तेजपत्ता राख्नुहोस्। त्यसमा चामल राखेर करिब ७० प्रतिशत पाक्ने गरी उमाल्नुहोस् र पानी छान्नुहोस्।
- अब अर्को भाँडोमा पहिले मासुको तह र त्यसपछि चामलको तह मिलाएर राख्नुहोस्। बीच–बीचमा भुटेको प्याज, धनियाँ, पुदिना र घिउ थप्नुहोस्। गुलाबजल र फुड कलर प्रयोग गर्ने भए थोरै मात्रामा राख्नुहोस्।
- यसरी दुईदेखि चार तह बनाएपछि भाँडोलाई राम्ररी छोप्नुहोस् र मन्द आगोमा करिब ३० मिनेट पकाउनुहोस्।
- अन्त्यमा भुटेको काजु राखेर तात्तातो मटन बिरयानी पस्कनुहोस्।
यी तीनै परिकार दसैँमा परिवार र पाहुनालाई खुवाउन सकिन्छ। पक्कु परम्परागत स्वादका लागि, लेदोबेदो बाक्लो झोल मन पराउनेका लागि र बिरयानी केही फरक स्वाद चाहनेका लागि उपयुक्त विकल्प हुन्।