फ्रान्समा पुनः चर्कियो विरोध प्रदर्शन, करिब एक हजार पक्राउ

Oct 25, 2026 10:49 AM Merolagani



जोनी हल्लाम(बीबीसी)

फ्रान्सभरि शनिबार लाखौँ नागरिकले विभिन्न मागसहित विरोध प्रदर्शन गरेका छन्। फ्रान्सेली आन्तरिक (गृह) मन्त्रालयका अनुसार अधिकांश स्थानमा प्रदर्शन शान्तिपूर्ण रहे पनि केही ठाउँमा झडप भएका छन्।

देशभर सडकमा उत्रिएका ४ लाख १० हजारभन्दा बढी प्रदर्शनकारीमध्ये करिब १ लाख १० हजार राजधानी पेरिसमा मात्रै थिए। गत सप्ताहन्तमा पनि राजधानीमा लगभग यही संख्यामा मानिसहरू प्रदर्शनमा सहभागी भएका थिए।

प्रदर्शनकारीहरूले शिक्षा प्रणालीमा लगानी बढाउनुपर्ने, युवाहरूलाई रोजगारीका थप अवसर सिर्जना गर्नुपर्ने र आकासिँदो महँगी नियन्त्रण गर्नुपर्ने माग राखेका छन्।

फ्रान्सेली गृहमन्त्री लरेन्ट नुनेजका अनुसार शनिबारको प्रदर्शनका क्रममा देशभरबाट करिब १ हजार जनालाई नियन्त्रणमा लिइएको छ। गत हप्ता ३८५ जनालाई पक्राउ गरिएकोमा यस पटक यो संख्या उल्लेख्य रूपमा बढेको हो।

"देशभर भएका अधिकांश र्‍यालीजस्तै पेरिसमा पनि प्रदर्शन सामान्यतया शान्तिपूर्ण नै रह्यो," गृहमन्त्री नुनेजले पत्रकारहरूसँग भने।

प्रदर्शनकारीहरूलाई अनधिकृत रूपमा सहरका मुख्य केन्द्रहरूतर्फ अघि बढ्नबाट रोक्न सुरक्षाकर्मीले आवागमनमा कडाइ गरेको उनले बताए। "केही सहरका सीमित पसल तथा व्यवसायहरूमा तोडफोड र लुटपाट भएको छ," नुनेजले भने, "तर यो गत हप्ताको तुलनामा निकै कम हो।"

गत सप्ताहन्तको जस्तो यस पटक नगर परिषद् (टाउन हल) वा प्रहरी चौकीजस्ता सार्वजनिक भवनहरूमा लक्षित आक्रमण नभएको उनले स्पष्ट पारे।

तथापि, सुरक्षाकर्मीले प्रदर्शनकारीको तर्फबाट "अत्यधिक हिंसाको सामना गर्नुपरेको" गृहमन्त्रीले बताए। उनका अनुसार सुरक्षाकर्मीमाथि लगातार ढुङ्गा, इँटा र आतिशबाजी प्रहार गरिएको थियो। लुटपाट तथा अप्रिय घटना रोक्न शनिबार साँझ अबेरसम्म पनि सुरक्षाकर्मी तैनाथ रहने उनले जानकारी दिए।

विरोध प्रदर्शनको दोस्रो चरणलाई मध्यनजर गर्दै फ्रान्सेली प्रशासनले देशभर करिब ७० हजार प्रहरी परिचालन गरेको थियो। गत शनिबार ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएपछि यस पटक विशेष कमान्डो दस्ता (स्वाट), हेलिकप्टर, बख्तरबन्द गाडी, तालिमप्राप्त कुकुर र पानीको फोहोरा हान्ने गाडीहरू तयारी अवस्थामा राखिएका थिए।

पेरिसमा शान्तिपूर्ण पदयात्रा सकिएपछि हजारौँ प्रदर्शनकारीको भीड प्रहरीसँग आमनेसामने भएको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको सीएनएनको टोलीले जनाएको छ। र्‍यालीको अन्तिम विन्दु 'पोर्टे डे भिन्सेनेस' नजिक झडप भएको थियो, जहाँ १ लाखभन्दा बढी मानिस जम्मा भएका थिए।

त्यस्तै, फ्रान्सको दोस्रो ठूलो सहर मार्सेलीमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आतिशबाजी प्रहार गरेका थिए। सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभी (BFMTV) का अनुसार त्यहाँका केही गहना पसलका सिसा फुटाएर तथा सुपरमार्केटहरूमा लुटपाट मच्चाइएको छ।

एटलान्टिक तटीय सहर बोर्डोको चर्चित 'प्लेस डे ला बोर्स' चोकमा पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। सार्वजनिक भएका भिडियोहरूमा अश्रुग्यासको धुवाँबीच मुख छोपेका केही प्रदर्शनकारीले प्रहरीमाथि विभिन्न वस्तुहरू प्रहार गरिरहेको देखिन्छ।

त्यसैगरी निस (Nice) सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका नागरिकमाथि दर्जनौँ अति-दक्षिणपन्थी कार्यकर्ताहरूले आक्रमण गरेको बीएफएमटीभीले जनाएको छ।

यसैबीच, वामपन्थी पार्टी 'ला फ्रान्स इन्सुमिसे'का नेता जाँ-लुक मेलेन्चोनले राष्ट्रपति इमानुएल म्याक्रोनले मागहरू सम्बोधन नगरे नोभेम्बर ५ देखि देशव्यापी हड्ताल हुने चेतावनी दिएका छन्। शनिबार पेरिसको प्रदर्शनको अग्रभागबाट बोल्दै उनले भने, "यदि सरकारले माग सुनेन भने नोभेम्बर ५ मा फ्रान्सेली ट्रेड युनियन (CGT) ले देशव्यापी आम हड्ताल गर्ने जोखिम छ।"

शनिबार फ्रान्सका विभिन्न सहरहरू अशान्त बनिरहँदा युरोपका अन्य मुलुकहरूमा पनि सरकार विरोधी प्रदर्शनहरू देखिएका छन्।

इटालीका नेपल्स, रोम र मिलान जस्ता सहरहरूमा विगतका प्रदर्शनमा भएका लुटपाटका कारण व्यापारीहरूले पसलका झ्याल-ढोकाहरू बन्द गरी सुरक्षित राखेका थिए। अल्बानियाको राजधानी तिरानामा प्रदर्शनकारीहरूले फोहोरका कन्टेनरहरूमा आगो लगाउनुका साथै ढुङ्गा र अश्रुग्यासका सेल प्रहार गरेका छन्। त्यस्तै, बेल्जियमको ब्रसेल्समा विद्यार्थीहरूले सडक अवरुद्ध गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको त्यहाँको राष्ट्रिय सञ्चारमाध्यम वीआरटी (VRT) ले जनाएको छ।




शेयर बजारबाट कसरी पैसा बनाउने?

Oct 23, 2026 05:47 PM

अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये पूँजी बजार मुख्य आकर्षणको क्षेत्र हो। आम लगानीकर्ताहरूले शेयर बजारलाई आम्दानीको बलियो स्रोतका रूपमा लिने गरेका छन्।