सोमबार बिहानसम्म दुवै कोषमा विभिन्न बैंक खातामार्फत जम्मा भएको मौज्दात रकम १८ अर्ब ९ करोड रुपैयाँ नाघेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार बिहान ९ बजेसम्म दुवै कोषमा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ बराबरको मौज्दात रहेको छ ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा नेपाली रुपैयाँमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको कोषको खातामा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ ।
भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रका बासिन्दाको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था र निकायले आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । विपद् प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम जम्मा हुने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउने प्रयास भइरहेका बेला दुवै कोषमा रहेको मौज्दात रकम १८ अर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।