साँझ ५ बजे सुरू हुने खेलमा यस सिजनमा पहिलो पटक मैदान उत्रिन लागेको पोखरा विजयी सुरुआत गर्दै प्लेअफको यात्रा सहज बनाउने दाउमा छ भने पहिलो खेलमा पराजित भएको सुदूरपश्चिम हार बिर्सदै पुनरागमन गर्न चाहन्छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले यसअघि आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। उक्त खेलमा सुदूरपश्चिमको ब्याटिङ धराशायी हुँदा जम्मा ८७ रनमै समेटिन पुगेको थियो। टोलीका प्रशिक्षक मिसबाह उल हकले पहिलो खेलको कमजोरी सुधार गर्दै ब्याटिङ पक्षलाई बलियो बनाउने बताएका छन्। अघिल्ला दुवै संस्करणमा सुदूरपश्चिमले पोखरालाई हराएको इतिहास रहेकाले सोही मनोबलका साथ मैदान उत्रने टोलीको योजना छ।
यता, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स यस सिजन उत्कृष्ट प्रदर्शनका साथ सुखद सुरुआत गर्ने दाउमा छ। अघिल्ला दुई सिजनमा चित्तबुझ्दो नतिजा ल्याउन नसकेको पोखराले यसपटक टोलीमा ठूला विदेशी तथा अनुभवी खेलाडीहरू समेटेको छ। बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसनको उपस्थिति र अन्य विदेशी खेलाडीहरूको गतिशीलताले पोखराको टोलीलाई थप बलियो बनाएको छ।
आजको खेलमा हेड टु हेड इतिहासमा सुदूरपश्चिम हावी देखिए पनि पोखरा नयाँ रणनीतिका साथ नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ। दुवै टोलीका लागि यो खेल अङ्क तालिकामा महत्त्वपूर्ण रहनेछ।