नेरुडे मिर्मिरे लघुवित्त घाटामा, निष्क्रिय कर्जा २१.७३ प्रतिशत पुग्यो

Oct 29, 2026 06:46 AM Merolagani



नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (NMLBBL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्त क्षेत्रमा देखिएको दीर्घकालीन सुस्तता र उच्च खराब कर्जाको असर यस लघुवित्तको वित्तीय विवरणमा स्पष्ट रूपमा देखिएको छ, जसकारण लघुवित्त यस त्रैमासमा खुद नोक्सानीमा पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तले २ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद नोक्सानी (घाटा) व्यहोरेको छ। जब कि अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा लघुवित्तले ५ करोड ५३ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्ष ४० करोड ३५ लाख रुपैयाँ रहेको लघुवित्तको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर २८ करोड ८९ लाख रुपैयाँमा खुम्चिएको छ। त्यस्तै, गत आर्थिक वर्ष ७ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा रहेकोमा चालु आर्थिक वर्ष ३ करोड ७ लाख रुपैयाँ ऋणात्मक भएको छ।

लघुवित्तका लागि मुख्य चुनौती बनेको निष्क्रिय कर्जा नेरुडे मिर्मिरेमा अत्यधिक मात्रामा बढेको छ। गत आर्थिक वर्ष १५.७० प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर २१.७३ प्रतिशत पुगेको छ। जसका कारण खराब कर्जा बापत लघुवित्तले १० करोड २७ लाख प्रोभिजनिङ गर्नुपरेको छ। यसले गर्दा लघुवित्तको नाफामा ठूलो धक्का लागेको छ। कुल निष्क्रिय कर्जाको ३९.७२ प्रतिशत बराबर प्रोभिजन कभरेज कायम गरिएको छ।