सेबोनद्वारा पहिलोपटक ६ चरणमा आईपीओ आवेदन वर्गीकरण, अन्तिम चरणमा २ र पाँचाैमा १० कम्पनी

Oct 29, 2026 10:40 AM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्काशनका लागि परेका आवेदनलाई पहिलोपटक प्रक्रियागत अवस्थाका आधारमा ६ चरणमा वर्गीकरण गरेको छ। बोर्डले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार १ सय १७ कम्पनीका ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीका आईपीओ आवेदन प्रक्रियामा छन्। 

तीमध्ये दुई कम्पनी अन्तिम समीक्षा चरणमा पुगेका छन् भने १० कम्पनीको आवेदन पाँचौँ चरणमा समीक्षा भइरहेको छ।

पाइपलाइनमा रहेका कम्पनीहरूले कुल ५१ करोड ९ लाख ८१ हजार ९ सय ४६ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्। सेबोनले कम्पनीहरूको आवेदनलाई प्रक्रियागत अवस्थाका आधारमा छ चरणमा वर्गीकरण गरेको छ। यसअनुसार आवेदन प्राप्त भएको अवस्थादेखि प्रारम्भिक समीक्षा, कैफियत पठाइएको, जवाफ प्राप्त भएको, जवाफको समीक्षा भइरहेको र अन्तिम समीक्षासम्मका चरण छुट्याइएको छ।

अन्तिम समीक्षामा दुई कम्पनी

सेबोनको विवरणअनुसार आईपीओ निष्काशन प्रक्रियाको छैटौँ तथा अन्तिम समीक्षा चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पुगेका छन्। यी दुई कम्पनीले कुल २९ लाख कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्।

आशुतोष इनर्जीले १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ लाख कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका हुन्। आशुतोष इनर्जीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको विवरणमा उल्लेख छ।

अन्तिम समीक्षा चरणमा पुग्नु आईपीओ निष्काशनको स्वीकृति प्राप्त हुनु भने होइन। बोर्डले आवश्यक कागजात, वित्तीय विवरण र नियामकीय मापदण्डको परीक्षण पूरा गरेपछि मात्रै स्वीकृतिसम्बन्धी निर्णय गर्छ।

त्यसअघिको चरणमा १० कम्पनी

आईपीओ निष्काशन प्रक्रियाको पाँचौँ चरणमा १० कम्पनी छन्। यी कम्पनीले बोर्डमा पेस गरेका जवाफ तथा परिमार्जित कागजातको समीक्षा भइरहेको छ। यस चरणमा एनसी एग्रोटेक इन्डष्ट्रिज, सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड र सिउरी न्यादी पावरलगायत कम्पनी रहेका छन्।

यी कम्पनीले कुल ५ करोड १९ लाख ४ हजार ७ सय १ कित्ता सेयर निष्काशनका लागि आवेदन दिएका छन्। बोर्डको समीक्षा र आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै उनीहरूको आवेदन अर्को चरणमा प्रवेश गर्ने वा स्वीकृतिसम्बन्धी निर्णय हुने अवस्था आउँछ।

त्यसैगरी, चौथो चरणमा बोर्डले पठाएको कैफियतको जवाफ प्राप्त गरिसकेका १९ कम्पनी छन्। यस चरणमा डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट र ह्यास हस्पिटललगायत कम्पनी रहेका छन्। यी कम्पनीले कुल ११ करोड ९८ लाख ७८ हजार ५ सय ९५ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्।

तेस्रो चरणमा भने बोर्डले आवश्यक सुधार वा थप विवरण माग गर्दै कैफियत पठाएका चार कम्पनी छन्। महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट यस चरणमा रहेका छन्।

प्रारम्भिक चरणमै ८२ कम्पनी

आईपीओ निष्काशनका लागि आवेदन प्राप्त भएको पहिलो चरणमा सबैभन्दा धेरै ७६ कम्पनी रहेका छन्। यस चरणमा मारुती सिमेन्ट, अम्बे स्टिल्स र रिद्धिसिद्धि सिमेन्टलगायत कम्पनी छन्। उनीहरूले २८ करोड ८ लाख २२ हजार ३ सय १३ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्।

दोस्रो चरणमा ६ कम्पनीका आवेदनको प्रारम्भिक समीक्षा भइरहेको छ। यस सूचीमा आकामा होटल र अपेक्स मकालु हाइड्रोपावरलगायत कम्पनी छन्। यसरी पहिलो र दोस्रो चरणमा मात्रै ८२ कम्पनी रहेका छन्।

मापदण्ड पूरा भएपछि मात्रै स्वीकृति

सेबोनले कम्पनीहरूले पेस गरेका कागजात, वित्तीय विवरण, विवरणपत्र तथा प्रचलित कानुनी र नियामकीय मापदण्ड पूरा भए–नभएको परीक्षण गरेर मात्रै आईपीओ निष्काशनको स्वीकृति दिने व्यवस्था छ।

बोर्डले कम्पनीहरूको पछिल्लो प्रतिशेयर नेटवर्थसमेत परीक्षण गरिरहेको छ। जलविद्युत् कम्पनीको हकमा व्यावसायिक उत्पादन सुरु भएको मिति अर्थात् कमर्सियल अपरेसन डेट (सीओडी) समेत परीक्षण गरिनेछ।

यसरी १ सय १७ कम्पनीका आईपीओ आवेदन विभिन्न छ चरणमा रहेका छन्। तीमध्ये अधिकांश कम्पनी प्रारम्भिक प्रक्रियामै छन् भने १० कम्पनी अन्तिम चरणभन्दा अघिल्लो समीक्षामा र दुई कम्पनी अन्तिम समीक्षामा पुगेका छन्। सबै कम्पनीले स्वीकृति पाउने समय भने आवश्यक कागजात, नियामकीय परीक्षण र बोर्डको निर्णयमा निर्भर रहनेछ।