अवमूल्यन भनेको के हो ?
नेप्सेमा शेयरको बजार मूल्य माग र आपुर्तिले निर्धारण गर्छ। यस्तो बजार मूल्य र वास्तविक मूल्य बिच अन्तर रहने गर्छ। यदि वास्तविक मूल्य भन्दा बजार मूल्य कम छ भने त्यसलाई शेयरको अवमूल्यन भन्ने गरिन्छ। खासगरी देशको अर्थतन्त्र, राजनीति र लगानीकर्ताको कमजोर मनोभावका कारण सबल कम्पनीको शेयरको माग हुन नसक्दा बजारमा त्यस्ता शेयरले मूल्य पाउन नसकिरहेको हुन सक्छ। यस्तो अवस्थामा उक्त कम्पनीको शेयर बजार भाउ वास्तविक मूल्य भन्दा न्यून हुने गर्दछ। शेयरको वास्तविक मूल्यभन्दा बजार मूल्य न्यून रहनु नै शेयरको अवमूल्यन हो। कुनै पनि कम्पनीको वित्तीय विवरणमा दिएको तथ्याङ्कलाई गणना गरी उक्त कम्पनीको वास्तविक मूल्य निकाल्न सकिन्छ। नेप्सेको वेवसाइटमा गएर सो कम्पनीको बजार मूल्य लिन सकिन्छ। यसरी दुवै मूल्य पहिचान भएपछि यदि वास्तविक मूल्यभन्दा बजार मूल्य थोरै देखिएमा त्यस्तो शेयर अवमूल्यन छ भनि थाहा पाउन सकिन्छ। यदि बढी भएमा बजारले उक्त कम्पनीको शेयरलाई अधिक भुक्तानी गरिरहेको बुझिन्छ। यसैको आधारमा लगानीकर्ताले शेयरको कारोबार गर्नको लागि प्रारम्भिक रणनीति तयगर्न सक्छन्। कम्पनी सबल छ, व्यवस्थापन सही छन्, बजारमा उक्त कम्पनीको सेवा र वस्तुको उच्च माग छ, भविष्यमा अझै मुनाफा कमाउन सक्ने प्रशस्त सम्भावना देखिन्छ तर पनि शेयरको भाउ अवमूल्यन भईरहेको छ भने यस्तो समय लगानीकर्ताका लागि खरिदको मौका हुन सक्छ। तर कम्पनी सामान्य परिस्थितिमा चलिरहेको छ, बजारमा माग उल्लेख्य बढेको छैन, व्यवस्थापन र संचालकहरुमा ठुलो क्षमता पनि देखिदैन र भविष्यमा कम्पनी विस्तार भएर थप नाफा आर्जन गर्न सक्ने प्रतिस्पर्धात्मक क्षमता पनि खासै छैन तर बजार मूल्य वास्तविक मूल्य भन्दा अत्याधिक उच्च हुँदै गई रहेको छ भने यस्तो अवस्थामा लगानीकर्ताले आफुसँग भईरहेको शेयर बिक्री गरेर मुनाफा बुक गर्ने रणनीति लिन सक्छन्। यसैले शेयरको अवमूल्यन भएको छ/छैन पहिचान गरेर एक लगानीकर्ताले आफ्नो लगानी रणनीतिहरु फेरबदल गर्न सक्छन्। तसर्थ कुनै पनि कम्पनीको शेयरको मूल्य अवमूल्यन भएको थाहा पाउन विभिन्न वित्तीय सूचकहरुको प्रयोग गर्ने गरिन्छ। विश्वका ठुला लगानीकर्ताहरु वारेन्ट बफेट, पिटर लिन्च र बेन्जामिन ग्रेहमले शेयर कारोबार गर्नु अगाडि आफुले लगानी गर्न चाहेको कम्पनीको विभिन्न पक्षको अलवा मूल्य आम्दानी अनुपात (पिई रेसियो), बजार मूल्य र किताबी मूल्यको अनुपात (पिबी रेसियो), लाभांश प्रतिफल (डिभिडेन्ड यिल्ड) र ग्रेहम नम्बरका क्षेत्रहरु अनिवार्य रुपमा हेर्ने गर्थे। जसले उक्त कम्पनीको शेयरको बजारमूल्य अवमूल्यन छ वा उच्च भई सकेको छ पहिचान गर्न सहयोग पुग्छ। उनीहरुले सार्वजनिक रुपमा यसैको आधारमा धेरै पटक आफुले लगानी निर्णय लिएको र सफलता प्राप्त गरेको बताउने गरेका छन्। तसर्थ विवेकशील लगानीकर्ताले लगानी गर्नु पूर्व वा लगानी पछि बिक्री निर्णयमा पुग्नु पहिला उक्त कम्पनीको शेयर मूल्य अवमूल्यन भएको हो/होइन पहिलाउन सक्नु धेरै हदसम्म सफलताको आधार बन्ने देखिन्छ।
मूल्य आम्दानी अनुपात (प्राईस टु अर्निङ्ग रेसियो–पिई रेसियो)ः कुनै पनि शेयरको बजार मूल्यलाई त्यसै कम्पनीको प्रतिशेयर आयले भाग गर्दा आउने अनुपात नै पिई रेसियो हो। यस अनुपातले प्रतिशेयर आम्दानी र बजार मूल्य बिचको सम्बन्ध देखाउने गर्दछ। यसको अर्थ एक रुपैयाँ कमाउनका लागि लगानीकर्ताले कति पैसा लगानी गर्नु पर्छ भन्ने बुझाउँछ। शेयर खरिद बिक्रीका लागि पिई रेसियोलाई एउटा आधारको रुपमा लिन सकिन्छ। तर यसको आधारमा मात्रै खरिद बिक्री नगरी अन्य पक्ष समेत हेर्ने गर्नु पर्छ। यसलाई निम्न अनुसार गणना गर्न सकिन्छ।
|
स्टक
|
प्रतिशेयर बजार मूल्य
|
प्रतिशेयर आम्दानी
|
पिई रेसियो
|
|
‘क’
|
२००
|
१०
|
२०
|
|
‘ख’
|
३००
|
१२
|
२५
|
पिई रेसियाे = प्रतिशेयर बजार मूल्य / प्रतिशेयर आम्दानी
पिई रेसियाे (‘क’) = २००/१० = २०
पिई रेसियाे (‘ख’) = ३००/१२ = २५
निर्णयः (१) माथी ‘क’ कम्पनीको पिई रेसियो २० र ‘ख’ कम्पनीको २५ छ। लगानीकर्ताको लागि खरिद गर्न ‘क’ कम्पनी ‘ख’ को तुलनामा फाईदाजनक देखिन्छ। किनकी ‘क’ कम्पनीमा एक रुपैयाँ कमाउन २० रुपैयाँ लगानी गर्नु पर्छ तर ‘ख’ कम्पनीमा त्यति नै कमाउन २५ रुपैयाँ लगानी गर्नु पर्ने हुन्छ। यसर्थ, जति कम पिई रेसियो हुन्छ त्यति नै राम्रो मानिन्छ। सामान्यतया यस्तो अनुपात २० भन्दा कम भएको शेयरमा लगानी गर्नु उपयुक्त मानिन्छ।
(२) यसको साथै आफुले कारोबार गर्न खोजेको कम्पनीको शेयरलाई उद्योग भित्रका अन्य कम्पनीको पिई रेसियोसँग तुलना गरेर हेर्ने गर्नु पर्छ। यदि उद्योग र उद्योग भित्र रहेका कम्पनीहरु मध्ये आफुले अध्ययन गरिरहेको कम्पनीको पिई रेसियो अन्यको तुलनामा कम छ भने शेयर खरिदका लागि त्यस्तो कम्पनीलाई अवमूल्यन भएको शेयरको रुपमा लिन सकिन्छ।
बजार मूल्य र किताबी मूल्यको अनुपात (प्राईस टु बुक रेसियो–पिबी रेसियो): कुनै पनि कम्पनीको बजार मूल्यलाई सोही कम्पनीको प्रतिशेयर किताबी मूल्य (बुक भ्यालु) ले भाग गर्दा आउने अनुपात नै पिबी रेसियो हो। यस अनुपातले कम्पनीको बजार मूल्य र पुस्तक मूल्य बिचको सम्बन्ध देखाउने गर्दछ। बुक भ्यालुले कुनै कम्पनीको कुल सम्पतिबाट कुल दायित्व घटाउँदा आउने शुद्ध मूल्य (नेटवर्थ) जनाउँछ। यदि कम्पनीलाई पूर्ण रुपमा बन्द गरियो भने शेयरधनीहरुलाई प्राप्त हुने रकमलाई यसले संकेत गर्छ। बुक भ्यालु त्यस कम्पनीको सम्पूर्ण दायित्व घटाएपछि बाँकी रहन आउने सम्पति हो। लगानीकर्ताले यसलाई प्रयोग गरी कम्पनी अन्डरभ्यालुड वा ओभरभ्यालुड के छ भनेर अनुमान गर्न सक्छन्।
लगानी विश्लेषण गर्दा पिबी रेसियो एक आएमा यसले किताबी मूल्य र बजार मूल्य बराबर भएको देखाउछ। एकभन्दा बढी आएमा यसले कम्पनीको किताबी मूल्यभन्दा बजार मूल्य बढी भएको देखिन्छ। यस्तै एक भन्दा कम आएमा बजार मूल्य भन्दा किताबी मूल्य कम हुने गर्छ। यदि यस्तो अनुपात एक वा कम छ भने उक्त कम्पनीको शेयर मूल्य अवमूल्यन भएको देखिन्छ। भ्यालु इन्भेष्टरलाई दीर्घकालीन लगानीका लागि अवमूल्यन शेयरहरुले खरिद गर्ने मौका प्रदान गर्दछन्। यही अनुपातको आधारमा उद्योग भित्रका कम्पनीहरु बिच तुलना गर्न सकिन्छ। यसले गर्दा सबैभन्दा उत्तम कम्पनी छनोट गर्न सहयोग पुग्ने गर्छ। यसलाई निम्न अनुसार गणना गर्न सकिन्छ।
|
स्टक
|
प्रतिशेयर बजार मूल्य
|
प्रतिशेयर किताबी मूल्य
|
पिबी रेसियो
|
|
‘क’
|
२००
|
२००
|
१
|
|
‘ख’
|
३००
|
१५०
|
२
|
पिबी रेसियो = प्रतिशेयर बजार मूल्य / प्रति शेयर किताबी मूल्य
पिबी रेसियो ‘क’ = २०० / २०० = १
पिबी रेसियो ‘ख’ = ३०० / १५० = २
निर्णयः (१) ‘क’ कम्पनीको पिबी रेसियो एक र ‘ख’ कम्पनीको दुई रहेको छ। यसले बजारमा ‘ख’ कम्पनीको तुलनामा ‘क’ कम्पनी सस्तो देखिन्छ। खरिदको दृष्टिले ‘क’ कम्पनी उपयुक्त हुन्छ।
(२) साथै यदि ‘क’ कम्पनीको पिबी रेसियो सम्बन्धित उद्योगको औसत परिणामभन्दा कम छ भने खरिदका लागि छनोट गर्न सकिन्छ।
लाभांश प्रतिफल (डिभिडेन्ड यिल्ड): कुनै पनि कम्पनीले वितरणका लागि प्रस्ताव गरेको नगद लाभांशका दरलाई सो कम्पनीको शेयरको बजार मूल्यले भाग गरी सयले गुणा गर्दा आउने परिणाम नै डिभिडेन्ड यिल्ड हो। यसले बजार मूल्यमा प्रतिसय कति प्रतिशतले प्रतिफल प्राप्त हुन्छ भनेर देखाउछ। डिभिडेन्ड यिल्ड निकाले पछि उक्त परिणामलाई तपाईँ हामीले बैंकमा राखेको मुद्दती निक्षेप (फिक्स डिपोजिट) बाट प्राप्त प्रतिफलसँग तुलना गरेर हेर्न सक्छौँ। यदि डिभिडेन्ड यिल्ड यस्तो मुद्दती निक्षेपले दिने प्रतिफलको तुलनामा बढी भएमा पूँजी बजारमा लगानी गर्नु उत्तम देखिन्छ। तर कम भएमा मुद्दती निक्षेपमा राख्नु उपयुक्त हुन्छ। पूँजी बजारबाट प्राप्त हुने डिभिडेन्ड यिल्ड र अन्यत्र लगानी गर्दा प्राप्त हुने प्रतिफलको तुलना गर्दा यदि डिभिडेन्ड यिल्ड बढी छ वा बराबर भएमा शेयर बजारमा लगानी गर्नु बढी बुद्धिमता हुन जान्छ। किनकी पूँजी बजारले लाभांशको अलाव पूँजीगत लाभको अवसर समेत प्रदान गर्ने हुँदा लगानीमा दोहोरो लाभ पाउने उच्च सम्भावना रहन्छ। यसैले बजारले दिने प्रतिफलको तुलनामा डिभिडेन्ड यिल्ड उच्च छ भने सो कम्पनीको शेयर बजार मूल्य अवमूल्यन भएको हुन सक्छ। यसको साथै सिङ्गो उद्योगको औसत डिभिडेन्ड यिल्ड भन्दा सम्बन्धित कम्पनीको डिभिडेन्ड यिल्ड उच्च छ भने सो उद्योग भित्र त्यस कम्पनीको शेयरको मूल्य अवमूल्यन हुन जान्छ। यसरी पूँजी बजारमा रहेका विभिन्न कम्पनीका शेयरको मूल्य तुलनात्मक रुपमा त्यसले दिने बजारको प्रतिफलको तुलनामा के कस्तो छ भनेर थाहा पाउन र अवमूल्यन भएको अवस्थामा त्यसमाथि लगानी गरी लाभ उठाउँनका लागि डिभिडेन्ड यिल्डको गणना गर्ने र तुलना गरी हेर्ने गर्नु पर्दछ। यसले लगानीमा उच्च प्रतिफल प्राप्त गर्न, शेयरको मूल्य प्रतिफलको तुलनामा न्यून रहँदा खरिद गर्न, उद्योग भित्र उच्च प्रतिफल दिने कम्पनी पहिचान गर्न र बजार प्रतिफलको तुलना गरी शेयरको मूल्य अवमूल्यन वा उच्चमूल्यन के छ भनेर थाहा पाई आफ्नो लागनी रणनीति बनाउनको लागि मदत गर्ने गर्दछ। यसलाई निम्न अनुसार गणना गर्न सकिन्छ।
कम्पनी ‘क’
शेयरको बजार मूल्य = रु. ५००
नगद लाभांश = २० प्रतिशत
डिभिडेन्ड यिल्ड = (नगद लाभांश/प्रतिशेयर बजार मूल्य) × १००
= (२०/५००) × १००
= ४
कम्पनी ‘ख’
शेयरको बजार मूल्य = रु. ३००
नगद लाभांश = १५ प्रतिशत
डिभिडेन्ड यिल्ड = (नगद लाभांश / प्रतिशेयर बजार मूल्य)× १००
= (१५/३००) × १००
= ५
निर्णयः (१) यहाँ ‘क’ कम्पनीको डिभिडेन्ड यिल्ड चार छ भने ‘ख’ कम्पनीको पाँच छ। यसको मतलब तपाईले गरेको लगानीमा प्राप्त प्रतिफल ‘क’ कम्पनीको तुलनामा ‘ख’ कम्पनीको धेरै देखिन्छ। यसैले लगानीकर्ताले ‘क’ भन्दा ‘ख’ कम्पनीमा लगानी गर्नु डिभिडेन्ड यिल्डका आधारमा उपयुक्त देखिन्छ।
(२) साथै बजारबाट प्राप्त हुने ब्याजको तुलनामा यस्तो प्रतिफल बढी छ भने उक्त शेयरको मूल्य अवमूल्यन भएको हुन सक्ने उच्च सम्भावना रहन्छ।
ग्रेहम नम्बरः ग्रेहम नम्बर भनेको कुनै शेयरको उचित मूल्य कति हुन सक्छ भनेर अनुमान गर्ने एक विधि हो। उनका अनुसार ग्रेहम नम्बरले कम्पनीको प्रतिशेयर आम्दानी (ईपिएस) र प्रतिशेयर किताबी मूल्य (बुक भ्यालु पर शेयर–बिभिपिएस) लाई आधार बनाएर कुनै शेयरको वास्तविक मूल्य कति हुन सक्छ भनेर अनुमान गर्छ। ग्रेहमका अनुसार सामान्यतया पिई रेसियो १५ र पिबी रेसियो एक दशमलव पाँच भन्दा बढी भएमा उक्त शेयर स्विकार गर्नु हुँदैन। तर पिई रेसियो १५ भन्दा कम छ र पिबी रेसियो १.५ भन्दा कम छ भने कम्पनीको शेयर सस्तो हुन सक्छ। पिई रेसियो १५ भन्दा कम छ भने पिबी रेसियो १.५ भन्दा माथि रहेता पनि स्वीकार गर्न सकिन्छ। ग्रेहम नम्बर निम्न विधिद्वारा गणना गर्न सकिन्छ। उदाहरणको रुपमा नबिल बैंकलाई हेर्न सक्छौ।
प्रतिशेयर बजार मूल्य = रु. ५५०
प्रतिशेयर आम्दानी = रु. २८
प्रतिशेयर किताबी मूल्य = रु. २४७
पिई रेसियो = प्रति शेयर बजार मूल्य / प्रतिशेयर आम्दानी = ५५० / २८ = १९.६४
पिबी रेसियो = प्रतिशेयर बजार मूल्य / प्रतिशेयर किताबी मूल्य = ५५० / २४७ = २.२२
ग्रेहम नम्बर . √२२.५०× पिई रेसियो × पिबी रेसियो
= ४.७४ × १९.६४ × २.२२
= २०६.८१
निर्णयः (१) यहाँ नबिल बैंकको बजार मूल्य ५५० रुपैयाँ छ। ग्रेहम नम्बर २०६.८१ छ। जुन बजार मूल्यभन्दा ३४३.१९ ले कम हो। लगानीकर्ताले बुझ्नु पर्ने कुरा के हो भने यहाँ नबिल बैंकको बजार मूल्य ग्रेहम नम्बरभन्दा बढी भएका कारण उच्चमूल्यन भएको देखिन्छ। तर त्यसो नभई बजार मूल्यभन्दा ग्रेहम नम्बर बढी भएको भए शेयरको मूल्य अवमूल्यन भएको हुन सक्थ्यो। लगानीकर्ताले यसैको आधारमा मात्र नभई अन्य पक्षलाई समेत हेरेर लगानी गर्ने गर्नु पर्छ। यो विधि गणना गर्न र तुलना गर्न सजिलो भएकाले सुरुवाति चरणमा स्टक स्क्रिनिङ्ग गर्नको लागि प्रयोग गर्न सकिन्छ। यसले शेयर वास्तवमा कति मूल्यको हुन सक्छ भनेर अनुमान गर्न सकिन्छ।
(२) ग्रेहम नम्बरभन्दा बजार मूल्य कम छ। शेयर सस्तो हुन सक्छ। ग्रेहम नम्बर भन्दा बजार मूल्य बढी छ। शेयर महँगो हुन सक्छ।
किन ग्रेहम नम्बरमा २२.५ प्रयोग गरिन्छ?
ग्रेहमका अनुसार आफुले खरिद गर्न चाहेको सम्भावित पिई रेसियो १५ वा सो भन्दा कम र पिबी रेसियो १.५ वा सो भन्दा कम भएको हुनु पर्छ। तर यदि पिई रेसियो १५ भन्दा कम छ भने पिबी रेसियो १.५ भन्दा बढीलाई पनि बिचार गर्न सकिन्छ अन्यथा त्यस्तो स्टक स्वीकार गर्नु हुँदैन। ग्रेहम नम्बरमा २२.५ नै प्रयोग गर्नुको मुख्य उदेश्य यही पिई रेसियो र पिबी रेसियोको कारण हो। पिई रेसियो १५, पिबी रेसियो १.५ छ भने दुवैको गुणा गर्दा (पिई रेसियो × पिबी रेसियो) २२.५ हुन्छ। ग्रेहम नम्बरमा २२.५ प्रयोग गर्नुको प्रमुख कारण यही पिई रेसियो र पिबी रेसियोको सीमा निश्चित गरी सो भन्दा माथि रहेको शेयर खरिद नहोस् भनेर हो।
अन्तिममा, एक लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा माथिका चार कुरा मात्रै नहेरी यसले सिफारिस गरेका कम्पनीको कर्जा, नाफा वृद्धि, व्यवसायको अवस्था, लगानीमा प्रतिफल र भविष्यको सम्भावना पनि हेर्नु पर्छ। हरेक लगानीकर्ताले माथिका प्रविधिक पक्षको अध्ययन मार्फत स्टक छनोट गर्न सकियो भने पूँजी बजारमा सफलताका पाइला अगाडि बढाउन ढोका खुल्न सक्छ।