तिहारमा विशेषगरी सेलरोटी,अनरसा,फिनी, झिलङ्गी, मिठाईलगायतका परिकारहरु बनाउने गरिन्छ। यीमध्ये सेलरोटी नेपालीको मौलिक परिकारका रूपमा परिचित छ। चामलको पिठोबाट तयार गरिने सेलरोटी स्वादिष्ट हुनुका साथै लामो समयसम्म राखेर खान पनि सकिन्छ।
सेलरोटी बनाउन धेरै सामग्री आवश्यक पर्दैन। घरमै उपलब्ध हुने चामल, चिनी, घिउ, गहुँको पिठो र केही मसलाको प्रयोगबाट स्वादिलो सेलरोटी तयार गर्न सकिन्छ। विशेषगरी बाहिरबाट काँडेदार र कुरकुरे तथा भित्रबाट नरम सेलरोटी बनाउन पिठो तयार गर्ने र घोल फिट्ने तरिकामा ध्यान दिनु पर्ने हुन्छ।
सेलरोटी बनाउन सबैभन्दा पहिले चामलको तयारी गर्नुपर्छ। त्यसका लागि आवश्यकता अनुसार चामल लिएर रातभर पानीमा भिजाउनु पर्छ। भिजेको चामललाई भोलिपल्ट जालीमा राखेर पानी राम्रोसँग तारेपछि नाङ्लो वा ट्रेमा फैलाएर तीनदेखि चार घण्टासम्म सुकाउनुपर्छ। चामलको पानी सुकेपछि त्यसलाई मिक्सरमा थोरैथोरै राखेर पिस्नुपर्छ। सेलरोटीलाई काँडेदार बनाउन पिठो एकदमै मसिनो बनाउनुको सट्टा हल्का रवादार राख्नु उपयुक्त हुन्छ।
त्यसपछि सेलरोटीमा मिठास र बास्ना थप्न दालचिनी, ल्वाङ र सुकमेललाई पिसेर मसला तयार गर्नुपर्छ। एउटा ठूलो भाँडामा चामलको पिठो राखेर त्यसमा तयार गरिएको मसला, तीन ठूलो चम्चा घिउ र स्वाद अनुसार चिनी मिसाउनुपर्छ। सेलरोटीलाई नरम बनाउन चाहनेले एक सानो चम्चा बेकिङ पाउडर पनि थप्न सक्छन्। सबै सामग्रीलाई हातले राम्रोसँग मोल्नुपर्छ।

सेलरोटीको घोल तयार गर्दा विशेष ध्यान दिनुपर्छ। चामलको पिठोमा थोरैथोरै पानी थप्दै करिब १५ मिनेटसम्म राम्रोसँग फिट्नुपर्छ। घोल न धेरै बाक्लो न धेरै पातलो हुनुपर्छ। सेलरोटी पकाउँदा फुट्ने वा तेलमा हाल्नेबित्तिकै आकार बिग्रिने समस्या कम गर्न दुई डाडु गहुँको पिठो पनि मिसाउन सकिन्छ। गहुँको पिठोले घोललाई केही बाँध्न सहयोग गर्छ र सेलरोटीको आकार राम्रो बनाउन मद्दत पु-याउँछ। घोल तयार भएपछि भाँडालाई छोपेर करिब दुई घण्टासम्म राख्नुपर्छ।
दुई घण्टापछि घोललाई फेरि राम्रोसँग चलाउनुपर्छ। आवश्यकता अनुसार थोरै पानी थपेर घोलको बाक्लोपन मिलाउन सकिन्छ। त्यसपछि कढाइमा सेलरोटी डुब्ने गरी तेल राखेर तताउनु पर्छ। तेल पर्याप्त तातेपछि बोतल वा हातको सहायताले घोललाई गोलो आकारमा तेलमा हाल्नुपर्छ। गोलो आकार दिँदा बीचमा खाली ठाउँ रहने गरी घुमाएर हाल्नुपर्छ।
सेलरोटीलाई एकातर्फ पाकेपछि सिन्का वा झिरको सहायताले पल्टाएर अर्कोतर्फ पनि राम्ररी पकाउनुपर्छ। दुवैतर्फ सुनौलो खैरो रङ आएपछि तेलबाट झिक्नुपर्छ। यसरी तयार भएको सेलरोटी बाहिरबाट कुरकुरे र भित्रबाट नरम हुन्छ।
तिहारमा घरमै सेलरोटी बनाउँदा स्वादसँगै पारिवारिक आत्मीयता पनि जोडिन्छ। बजारबाट किनेर ल्याउनुभन्दा आफ्नै घरमा सफा र ताजा सामग्री प्रयोग गरी तयार गरिएको सेलरोटी परिवारका सदस्य तथा पाहुनालाई खुवाउन सकिन्छ। चामलको पिठो तयार गर्नेदेखि घोल फिट्ने र तेलमा तार्ने प्रक्रियासम्म केही समय र धैर्य आवश्यक पर्ने भए पनि सही विधि अपनाउँदा घरमै स्वादिलो सेलरोटी बनाउन सकिन्छ।