मंगलबार नेप्से परिसूचक ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ७ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४९ स्टकको ५७ हजार ४४( पटकको कारोबारमा ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन शिखर पावर डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन रिभर फल्स पावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ। पछिल्ला दिनहरुमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य यस दिन सबैभन्दा बढी ५.०४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २३ करोड १४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।