पहिलाे त्रैमासमा कम्पनीले ४५ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ, जब कि गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी ३३ लाख ८६ हजार रुपैयाँ रहेको थियो।
यस नोक्सानीको मुख्य कारण यस वर्षको वर्षायाममा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा यसले पर्यटन आगमनमा पारेको प्रत्यक्ष नकारात्मक प्रभाव भएकाे वित्तीय विवरणमा उल्लेख छ। बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा पर्यटकहरूको आवागमन घटेको र कम्पनीको केबलकार तथा अन्य व्यावसायिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुन नसकेको व्यवस्थापनले जनाएको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालनबाट हुने आम्दानी घटेर ४२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको सोही अवधिमा ७२ लाख ८७ हजार रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफातर्फ पनि कम्पनी ६३ लाख ५४ हजार रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ। वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ५० पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १२० रुपैयाँ ५६ पैसा कायम भएको छ।