एनपीएलमा महिला दर्शकको क्रेजः क्रिकेटको नयाँ बजार र खेल अर्थतन्त्र

Nov 05, 2026 02:05 PM Merolagani



क्रिकेटको मैदानमा महिला दर्शकको उपस्थिति पहिलेभन्दा बढ्दै गएको छ। कुनै समय क्रिकेटलाई पुरुषको खेल र पुरुष दर्शकको रुचिसँग जोडेर हेरिन्थ्यो।

तर नेपाल प्रिमियर लिग (एनपीएल)ले यो पुरानो मान्यतालाई विस्तारै बदलिरहेको छ। अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्न पुग्ने दर्शकमध्ये महिला पनि उल्लेख्य रूपमा देखिन थालेका छन्। उनीहरू खेलको नतिजा हेर्न मात्र होइन, मनपर्ने खेलाडीलाई प्रत्यक्ष हेर्न, साथीहरूसँग समय बिताउन, मनोरञ्जन लिन र सामाजिक सञ्जालमा आफ्ना अनुभव साझा गर्न पनि मैदान पुगिरहेका छन्।

यसले नेपाली क्रिकेटमा एउटा नयाँ सम्भावना देखाएको छ– महिला दर्शक केवल खेल हेर्ने उपभोक्ता होइनन्, उनीहरू क्रिकेटको व्यावसायिक बजार विस्तार गर्ने महत्वपूर्ण शक्ति पनि हुन् ।

एनपीएलको तेस्रो संस्करण चलिरहँदा महिला दर्शकको सहभागितालाई केवल रंगशालामा देखिने भीडका रूपमा मात्र होइन, खेल पर्यटन, टिकट बिक्री, विज्ञापन, पोशाक तथा खेल सामग्रीको व्यापार र महिला क्रिकेटको भविष्यसँग जोडेर हेर्नुपर्ने भएको छ।

१५ हजार रुपैयाँको सिजनल पास किन्ने महिला दर्शक

एनपीएलमा महिला दर्शकको बढ्दो आकर्षण बुझ्न अभिनेत्री ऋचा शर्मा एउटा प्रतिनिधि उदाहरण हुन्। उनले यसपटक एनपीएलका सबै खेल हेर्न मिल्ने १५ हजार रुपैयाँको सिजनल पास किनेकी छन्।

उनको क्रिकेटप्रतिको रुचि पनि रोचक छ। सुरुमा क्रिकेटमा खासै चासो नराख्ने उनी अभिनेत्री निशा अधिकारीसँगको भेट र क्रिकेटर शरद भेषावकरसँगको परिचयपछि खेलप्रति आकर्षित भइन्। अहिले उनी सुदूरपश्चिम रोयल्सकी समर्थक हुन्। साथीहरूसँग बसेर क्रिकेट हेर्ने र सम्भव भएसम्म मैदानमै पुग्ने उनको बानी बनेको छ।

ऋचाले महिला क्रिकेट लिग सञ्चालन गर्नुपर्ने विषयमा पनि आवाज उठाउँदै आएकी छन्। महिला क्रिकेटलाई व्यावसायिक बनाउन लिग आवश्यक रहेको उनको धारणा छ।

ऋचाको उदाहरणले एउटा महत्वपूर्ण व्यावसायिक सम्भावना देखाउँछ। क्रिकेटको बजार विस्तार गर्न पुरुष दर्शकलाई मात्र लक्षित गरेर पुग्दैन। महिला दर्शकलाई पनि नियमित ग्राहक र समर्थकका रूपमा विकास गर्न सकिन्छ।

क्रिकेट बुझ्ने मात्र होइन, मनोरञ्जनका लागि पनि मैदानमा

गत वर्षको एनपीएलको दोस्रो संस्करणबारे नेपाली टाइम्सले प्रकाशित गरेको एउटा स्थलगत रिपोर्टले महिला दर्शकको उपस्थितिको अर्को रोचक पक्ष उजागर गरेको थियो।

रिपोर्टमा मैदानमा महिला र पुरुष दुवै दर्शक खेलसँगै नाचगान, मनोरञ्जन र उत्सवमा रमाइरहेको उल्लेख छ। कतिपय दर्शकका लागि कुन टोलीले जित्छ भन्नेभन्दा पनि साथीहरूसँग समय बिताउनु, फोटो खिच्नु र रंगशालाको वातावरणमा रमाउनु महत्वपूर्ण देखिएको थियो।

रिपोर्टमा केही जोडी डेटिङका लागि समेत मैदान पुगेको उल्लेख छ। परिवारसहित बालबालिका लिएर आउने अभिभावक पनि थिए। रिपोर्टले एनपीएललाई क्रिकेट प्रतियोगिताभन्दा बढी एउटा सामाजिक उत्सवका रूपमा चित्रण गरेको छ।

यसले खेलकुद बजारमा एउटा नयाँ उपभोक्ता समूह थपिएको संकेत गर्छ। क्रिकेटका सबै नियम नबुझे पनि मनोरञ्जनका लागि मैदान पुग्ने दर्शक भविष्यमा क्रिकेटका नियमित प्रशंसक बन्न सक्छन्। महिला दर्शकको हकमा यो पक्ष झन् महत्वपूर्ण छ। उनीहरूलाई खेलसँग जोड्ने माध्यम खेलाडीको लोकप्रियता, सामाजिक सञ्जाल, मनोरञ्जन, साथीभाइको समूह र परिवार पनि हुन सक्छन्।

विश्व क्रिकेटको दर्शक बजारमा महिलाको हिस्सा उल्लेखनीय छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको विश्वव्यापी अनुसन्धानअनुसार क्रिकेटका कुल दर्शकमध्ये ३९ प्रतिशत महिला तथा किशोरी छन् भने ६१ प्रतिशत पुरुष छन्।  अनुसन्धानमा विश्वका विभिन्न देशका १९ हजारभन्दा बढी व्यक्तिसँग अन्तर्वार्ता गरिएको थियो। तीमध्ये ६ हजार ६०० भन्दा बढी क्रिकेटप्रेमीसँग विस्तृत अध्ययन गरिएको थियो। अध्ययनले १६ देखि ६९ वर्ष उमेर समूहलाई समेटेको थियो।

आईसीसीको त्यही अनुसन्धानले अर्को रोचक तथ्य पनि सार्वजनिक गरेको थियो।

६८ प्रतिशत क्रिकेट दर्शकले महिला क्रिकेटप्रति रुचि देखाएका थिए।

६५ प्रतिशतले आईसीसी महिला क्रिकेट विश्वकपमा रुचि राखेका थिए।

७० प्रतिशत दर्शकले महिला क्रिकेटको प्रत्यक्ष प्रसारण अझ बढी हेर्न पाउनुपर्ने बताएका थिए।

यसले महिला दर्शकको संख्या मात्र होइन, महिला क्रिकेटप्रतिको समग्र बजार सम्भावना पनि ठूलो रहेको देखाउँछ।

YouGov को सन् २०२५ को Indian Cricket Fandom Report अनुसार भारतमा क्रिकेटप्रतिको महिलाको रुचि बढिरहेको छ।

त्यस्तै, Star Sports 1 हिन्दी च्यानलको दर्शक तथ्यांकअनुसार आईपीएलको प्रत्यक्ष प्रसारण हेर्ने महिलाको हिस्सा सन् २०२३ मा ४०.६ प्रतिशत थियो भने सन् २०२४ मा बढेर ४१.६ प्रतिशत पुगेको थियो।

न्युजिल्यान्ड क्रिकेटको सन् २०२२ को प्रतिवेदनअनुसार त्यहाँ अन्तर्राष्ट्रिय क्रिकेटको टिकट खरिद गर्ने महिलाको हिस्सा सन् २०१६/१७ मा २९ प्रतिशत रहेकोमा २०२०/२१ मा बढेर ४३ प्रतिशत पुगेको थियो। 

महिला दर्शक बढाउन रंगशाला कति सहज छ?

महिला दर्शकको संख्या बढाउने हो भने टिकट बिक्री र खेलाडीको लोकप्रियता मात्र पर्याप्त हुँदैन। रंगशालामा उनीहरूले पाउने सुविधा पनि महत्वपूर्ण हुन्छ।

विशेषगरी शौचालयको पर्याप्त व्यवस्था, सफा खानेपानी, सुरक्षित प्रवेश तथा निकास, सहज यातायात र भीड व्यवस्थापनमा ध्यान दिनुपर्छ।

एनपीएलका अघिल्ला संस्करणमा दर्शकले शौचालयको अभाव र मैदान वरिपरिको धुलोको समस्या उठाएका थिए। तेस्रो संस्करणअघि क्यानले दर्शकको सुविधामा सुधार गर्ने प्रतिबद्धता जनाएको थियो।

अर्कोतर्फ, टिकट बिक्री र वास्तविक उपस्थिति पनि महत्वपूर्ण विषय हो। यस सिजनमा टिकट बिक्री भएको भनिएका केही खेलमा रंगशालाका सिट खाली देखिएको समाचारसमेत प्रकाशित भएको छ। त्यसैले टिकट बिक्रीको तथ्यांकले मात्र महिला वा पुरुष दर्शकको वास्तविक उपस्थिति मापन गर्न सकिँदैन।

महिला दर्शकलाई आकर्षित गर्न सुरक्षित र सहज वातावरण आवश्यक छ। परिवारसहित खेल हेर्न सकिने वातावरण बनेमा महिला र बालबालिकाको सहभागिता थप बढ्न सक्छ।

महिला दर्शकबाट महिला क्रिकेट लिगसम्म

एनपीएलमा महिला दर्शकको बढ्दो उपस्थितिलाई महिला क्रिकेटको विकाससँग पनि जोड्नुपर्छ।

नेपालमा महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। तर पुरुष क्रिकेटको तुलनामा महिला क्रिकेटको व्यावसायिक संरचना, खेलाडीको आम्दानी, प्रायोजन र नियमित प्रतियोगिताको अवसर कमजोर छ।

एनपीएल हेर्न आउने महिला दर्शकलाई महिला क्रिकेटसँग जोड्न सकियो भने यसले नयाँ बजार निर्माण गर्न सक्छ।

महिला क्रिकेटको आफ्नै फ्रेन्चाइज लिग सञ्चालन गर्न सकेमा खेलाडीले आम्दानीको अवसर पाउनेछन्। प्रायोजकले नयाँ बजार पाउनेछन् र महिला दर्शकले आफूलाई प्रतिनिधित्व गर्ने खेलाडी तथा टोलीसँग भावनात्मक सम्बन्ध बनाउन सक्नेछन्।

यसका लागि एनपीएलका फ्रेन्चाइज टोलीले पनि महिला क्रिकेटमा लगानी गर्ने सम्भावना खोज्न सक्छन्।