कम्पनीले यस त्रैमासमा २५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० कराेड रुपैयाँ खुद नाफा कमाएको थियो।
चाडपर्वको सिजनमा बिक्री बढेर कम्पनीको राजस्वमा आकर्षक वृद्धि भए पनि लागत दबाब र प्राकृतिक प्रकोप राहत कोषमा गरेको सहयोगका कारण खुद नाफामा गत वर्षको तुलनामा १६ प्रतिशतले कमी आएको छ।
समीक्षा अवधिमा कम्पनीको मुख्य व्यावसायिक आम्दानी १२ प्रतिशतले बढेर २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा २ अर्ब ३७ लाख रुपैयाँ रहेको थियो। चाडपर्व लक्षित बजार विस्तार र भोल्युम-बेस्ड वृद्धिका कारण होम केयर लगायतका सबै बिजनेस ग्रुपहरूले बलियो प्रदर्शन गरेका छन्। तर, बढेको कच्चा पदार्थको लागत, प्रतिकूल उत्पादन मिश्रण र मुद्रास्फीतिजन्य दबाबका कारण खुद नाफा प्रभावित भएको हो।
यसका साथै, गत भदौ महिनामा आएको भोटेकोशी बाढीबाट प्रभावित समुदायको उद्धार र पुनर्स्थापनाका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ नगद सहयोग तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराएको थियो। यदि यो आपत्कालीन राहत योगदानलाई समायोजन गरेर हेर्ने हो भने कोर व्यवसायको वास्तविक खुद नाफामा करिब ४ प्रतिशतले मात्र घटेकाे देखिन्छ।
कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित मुनाफामा ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।
वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको पहिलो त्रैमासिक प्रतिशेयर आम्दानी २७४ रुपैयाँ छ। कम्पनीकाे प्रतिशेयर नेटवर्थ ५ हजार ८३० रुपैयाँ रहेको छ।
