रेमिट्यान्सले बढायो विदेशी मुद्रा सञ्चिति, तीन महिनामै व्यापार घाटा ५ खर्ब ३३ अर्ब

Nov 20, 2026 08:23 AM Merolagani



रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण नेपालको बाह्य क्षेत्रका सूचकहरू बलियो देखिएका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ भने शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढी बचतमा रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भएको हो। यस्तो सञ्चिति गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेकोमा असोज मसान्तमा ४१ खर्ब ६१ अर्ब १४ करोड पुगेको छ।

अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २७ अर्ब ३९ करोड पुगेको छ। विद्यमान सञ्चितिले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

रेमिट्यान्समा २७ प्रतिशत वृद्धि

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ थियो।

असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ रहेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ पुगेको छ।

रेमिट्यान्ससँगै पर्यटन आयमा भएको सुधार र वैदेशिक शिक्षाका लागि बाहिरिने रकममा आएको कमीले पनि बाह्य क्षेत्रलाई सकारात्मक प्रभाव पारेको छ।

चालु खाता र शोधनान्तर दुवै बचतमा

तीन महिनाको अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २८ अर्ब रुपैयाँ बचतमा थियो।

त्यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो।

पर्यटनबाट प्राप्त हुने भ्रमण आय ३२.७ प्रतिशतले वृद्धि भई २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। अर्कोतर्फ भ्रमण व्यय १५.७ प्रतिशतले घटेर ५४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ।

वैदेशिक शिक्षाका लागि बाहिरिने रकम पनि १४.७ प्रतिशतले घटेर ३६ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ।

यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १३७.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

निर्यात ५७ प्रतिशत बढ्दा आयात ३८ प्रतिशतले वृद्धि

बाह्य क्षेत्रका सूचकहरू सकारात्मक देखिए पनि वैदेशिक व्यापारमा भने असन्तुलन कायमै रहेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु निर्यात ५७ प्रतिशतले वृद्धि भई १ खर्ब १४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। चीनतर्फको निर्यात २५९.७ प्रतिशत, भारततर्फ ६१.७ प्रतिशत र अन्य मुलुकतर्फ ३३.८ प्रतिशतले वृद्धि भएको छ।

भटमासको तेल, पोलिष्टर धागो, पार्टिकल बोर्ड, जिंक सिट र पाम तेलको निर्यात बढेको छ।

तर निर्यातमा भएको वृद्धिभन्दा आयातको आकार निकै ठूलो छ। तीन महिनामा कुल वस्तु आयात ३८.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

भारतबाट हुने आयात ४१.७ प्रतिशत, चीनबाट २८ प्रतिशत र अन्य मुलुकबाट ३९.७ प्रतिशतले बढेको छ।

पेट्रोलियम पदार्थ, सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, रासायनिक मल, कच्चा भटमासको तेल र मेसिनरीको आयात बढेको छ।

यसको परिणामस्वरूप तीन महिनामै कुल वस्तु व्यापार घाटा ३४.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ३३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

यद्यपि, निर्यात र आयातको अनुपात भने अघिल्लो वर्षको १५.५ प्रतिशतबाट सुधार भई १७.६ प्रतिशत पुगेको छ।

व्यापारको सर्तमा गिरावट, उत्पादनमूलक आयात कमजोर

नेपालको वैदेशिक व्यापारको संरचनामा देखिएको कमजोरी अर्को चुनौतीका रूपमा रहेको छ।

राष्ट्र बैंकका अनुसार असोज महिनामा निर्यातको एकाइ मूल्य सूचकाङ्क ७.२ प्रतिशतले बढ्दा आयात मूल्य सूचकाङ्क १९.८ प्रतिशतले बढेको छ। यसले नेपालको व्यापारको सर्त १०.५ प्रतिशतले घटाएको छ।

अर्थात् नेपालले निर्यात गर्ने वस्तुको तुलनामा आयात गर्ने वस्तुको मूल्य बढी दरले बढिरहेको छ।

त्यस्तै, कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ७१ प्रतिशत र मध्यवर्ती वस्तुको हिस्सा २८.९ प्रतिशत रहेको छ। पुँजीगत वस्तुको हिस्सा भने ०.१ प्रतिशत मात्रै छ।

आयाततर्फ मध्यवर्ती वस्तुको हिस्सा ४९.९ प्रतिशत, अन्तिम उपभोग्य वस्तुको ४१.१ प्रतिशत र पुँजीगत वस्तुको ९ प्रतिशत रहेको छ।

यसले नेपालको वैदेशिक व्यापार अझै उपभोग्य वस्तुमा निर्भर रहेको र उत्पादन तथा औद्योगिक क्षमता विस्तारसँग जोडिने पुँजीगत वस्तुको आयात न्यून रहेको देखाउँछ।

समग्रमा, रेमिट्यान्सको बलियो प्रवाहले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिलाई मजबुत बनाएको छ। तर आयातमा उच्च निर्भरता, बढ्दो व्यापार घाटा र कमजोर निर्यात संरचनाले नेपालको बाह्य क्षेत्रको दीर्घकालीन स्थायित्वका लागि चुनौती कायमै रहेको देखिन्छ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।