कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५:०० बजे हुने महामुकाबलामा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्दै छन्।
प्रतियोगिताको लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ७ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको लुम्बिनी सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै सिधै फाइनलमा पुगेको थियो। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लगातार दोस्रो पटक उपाधि उचाल्दै आफ्नो साख जोगाउने दाउमा छ। यसअघि गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै हराएर उपाधि जितेको इतिहास छ।
उता, लिग चरणमा १० अंकसहित दोस्रो स्थानमा रहेकाे सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै लगातार तेस्रो पटक फाइनलमा पुग्न सफल भएको हो। कप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम गत दुई संस्करणको फाइनल हारको तीतो अनुभवलाई बिर्संदै यसपटक पहिलोपटक ट्रफी उचाल्ने र लुम्बिनीसँग गत हारको बदला लिने सुवर्ण अवसरमा छ।
दुवै टोलीका मुख्य आधारहरू:
-
लुम्बिनी लायन्स: ब्याटिङतर्फ अस्ट्रेलियन ब्याटर डार्सी सर्ट, कप्तान रोहित पौडेल तथा बलिङतर्फ किशोर महतो र शेर मल्ल को उच्च लयले टोलीलाई बलियो बनाएको छ। टोलीसँग सन्तुलित ब्याटिङ र बलिङ विकल्प उपलब्ध छन्।
-
सुदूरपश्चिम रोयल्स: अलराउन्डर तथा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोली पुनरागमन गर्न सक्षम देखिएको छ। प्रतियोगिताभर विदेशी तथा स्वदेशी खेलाडीहरूको सम्मिश्रणबाट उत्कृष्ट प्रदर्शन गर्दै आएको सुदूरपश्चिम दबाबका बीच पनि नतिजा आफ्नो पक्षमा पार्न काबलियत राख्छ।
गत वर्षको फाइनलको पुनरावृत्तिक रूपमा हेरिएको आजको यस रोमाञ्चक उपाधि भिडन्तले एनपीएल २०२६ को ट्रफि कसले उचाल्छ भन्ने टुंगो लगाउनेछ।