३५ जना सरकारी—प्रतिनिधिमण्डल, ५२ जना उद्यमी व्यवसायीसहितको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी सविना काफ्ले भने सहभागि छैनन् । राष्ट्र वा सरकार प्रमुखको उच्चस्तरिय दुईपक्षीय भ्रमणमा उनीहरुकी श्रीमतीलाई सहभागि गराउने प्रचलन विश्वव्यापीरुपमै रहेको छ । पत्नी वितिसकेको अवस्थामा उनीहरुका छोरीहरुलाई ‘फस्ट लेडी’को हैसियतमा भ्रमण दलमा सहभागि गराउने गरिन्छ र आतिथ्यता दिने राष्ट्रले पनि त्यहीअनुसारको सम्मान र हैसियत दिने गर्छ । कतिसम्म भने विधवा अवस्थामा रहेकी प्रथम महिला राष्ट्रपति विद्या भण्डारीले समेत आफ्नो भ्रमणमा जेठी छोरी उषा किरणलाई सोही हैसियतमा सहभागि गराउने गरेकी थिइन् ।
पत्नी वितिसकेको अवस्थामा प्रथम राष्ट्रपति डा. रामवरण यादवले कान्छी छोरी अनिता यादव तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले छोरी सुजाता कोइराला र प्रचण्डले पनि कान्छी छोरी गंगा दाहाललाई ‘फस्ट लेडी’कै हैसियतमा भ्रमण दलमा सहभागि गराउँथे । अविवाहित रहेका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई र सुशील कोइरालाबाहेक २००७ सालयताका हरेक प्रधानमन्त्री र राजा तथा राष्ट्रपतिहरुले आफ्ना पत्नीहरुलाई त्यसरी भ्रमण दलमा सहभागि गराउने गरेका थिए ।
यसरी पत्नी (वा महिला सरकार भएको बेला उनीहरुका पति)लाई र उनीहरु नभएको अवस्थामा छोरीहरुलाई ‘फस्ट लेडी’ वा सोही हैसियतको उच्च वरियतामा राखेर भ्रमण दलमा सहभागि गराउने प्रचलन रहेकोले प्रधानमन्त्री बालेन शाहसँग पत्नी काफ्ले पनि भारत भ्रमणमा सहभागि हुने अपेक्षा सरकारी अधिकारीहरुले नै गरेका थिए । त्यहीकारण परराष्ट्र मन्त्रालयका अधिकारीहरुले अन्तिम समयसम्म पनि काफ्लेको नाम भ्रमण दलमा राख्नको लागि तयारी गरेका थिए । तर, प्रधानमन्त्रीको सचिवालयबाट उपलब्ध गराइएको अन्तिम सूचीमा पनि काफ्लेको नाम नपरेपछि प्रधानमन्त्री शाहले उनलाईसँगै लैजान नचाहेको स्पष्ट भएको थियो । यसअघि संयुक्त राष्ट्र संघको महासभामा अमेरिका जांदा पनि प्रधानमन्त्री शाह पत्नी नलिइ एक्लै गएका थिए ।

विश्वमा निरंकुश र संकास्पद तथा आफ्नो पारिवारिक जीवनलाई रहस्यमयरुपमा राख्न चाहाने शासकहरुले मात्र उच्च स्तरिय भ्रमणमा पत्नीहरुलाई सहभागि गराउँदैनन् । वर्तमान विश्वमा उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लामिदर पुटिन त्यस्ता शासकहरुमा पर्छन् ।
निश्चय पनि प्रधानमन्त्री बालेन शाहलाई किम जोङ उन र पुटिनसँग तुलना गर्न मिल्दैन । त्यसमाथि शाहको पारिवारिक जीवन पुरै रहस्यमय पनि देखिदैन, परिवारका हरेक सदस्यहरुको बारेमा सार्वजनिक जानकारी पाइन्छ । पत्नी काफ्ले त विभिन्न गतिविधिमा सक्रिय देखिन्छन् । त्यति हुँदा पनि प्रधानमन्त्री शाहले आफ्नो भ्रमणमा पत्नी काफ्लेलाई किन सहभागि गराइरहेका छैनन् ? यसको पछाडि ‘पुरानाभन्दा फरक देखिने रहर’ को निरन्तरता मात्रै हो, वा अन्य कुनै कारण छ ? त्यो भने यसैभन्न सकिन्न ।