हैदरावाद हाउसमा आज बालेन–मोदी वान–टु–वान वार्ता, ऊर्जा र पूर्वाधारका विभिन्न परियोजना उद्घाटन तथा शिलान्यास हुँदै

Nov 23, 2026 09:42 AM Merolagani



दुईदिने राजकीय भारत भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज सोमबार (मंसिर ७ गते) हैदरावाद हाउसमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता हुँदैछ।

 भेटवार्ताअघि हैदरावाद हाउसमा भारतीय समकक्षी मोदीले प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको छ, जसपश्चात् दुवै प्रधानमन्त्रीबीच एक्लाएक्लै (वान–टु–वान) तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार आजको उच्चस्तरीय भेटवार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल हुनेछ। सोही अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन तथा केही नयाँ परियोजनाको संयुक्त शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता सहकार्यका विविध क्षेत्र समेटिएका समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछन्। यसले दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्यलाई थप विस्तार गर्ने विश्वास लिइएको छ।

आजै बिहान प्रधानमन्त्री शाहले नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण तथा श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रम छ। दिउँसो उनले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीसहितको टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह हिजो आइतबार नयाँदिल्ली प्रस्थान गरेका थिए। राजकीय भ्रमणका सम्पूर्ण कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यतालिका रहेको छ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।