आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले सार्वजनिक गरेको ‘कम्पिटिसन इन क्यापिटल मार्केट्स एन्ड इट्स कन्ट्रीब्युसन टु ग्रोथ एन्ड इनोभेसन’ शीर्षकको नयाँ अध्ययन प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। पूँजी बजारमा लगानीकर्ताहरूबीच प्रतिस्पर्धा कमजोर हुँदा पूँजीको लागत र उपलब्धतामा मात्र नभई लगानीका सर्त, व्यवस्थापनमाथिको नियन्त्रण र कम्पनीको भविष्य विस्तार गर्ने क्षमतामै गम्भीर प्रतिकूल असर परिरहेको प्रतिवेदनमा उल्लेख छ।
अमेरिकामा ९ वटा कम्पनीकै पोल्टामा आधा पूँजी
प्रतिवेदनअनुसार विकसित अर्थतन्त्र मानिने अमेरिकामा सन् २०२४ भित्र ३० वटा ठूला भेन्चर क्यापिटल कम्पनीले मात्रै कुल प्रतिबद्ध पूँजीको करिब तीन चौथाइ (७५ प्रतिशत) हिस्सा उठाएका छन्। अझ रोचक त के छ भने, केवल ९ वटा कम्पनीले कुल प्रतिबद्ध पूँजीको आधा हिस्सा जुटाएका छन्।
यस्तै अवस्था प्राइभेट इक्विटीको बाइआउट फन्डिङमा पनि देखिएको छ। विश्वभरका शीर्ष १० ठूला फन्डले कुल कोष संकलनको ३० देखि ४० प्रतिशत हिस्सा ओगट्ने गरेका छन्। सन् २०२४ मा प्राइभेट इक्विटी बाइआउटका लागि उठाइएको कुल पूँजीमध्ये ९८ प्रतिशत रकम पुराना र स्थापित व्यवस्थापकहरूको हातमा पुगेको छ। लगानीकर्ताहरूले अनुभव र विगतको प्रतिफललाई हेरेर स्थापित फन्ड रोज्नु स्वाभाविक भए पनि यसले बजारमा नयाँ फन्ड व्यवस्थापकहरूको प्रवेश र विस्तारलाई अत्यन्त कठिन बनाएको ओईसीडीको ठहर छ।
पूँजीसँगै सम्झौताका कडा सर्तको मारमा संस्थापकहरू
पूँजी बजारमा विकल्पहरू सीमित हुँदा लगानीकर्ताहरूले कम्पनीहरूमा आफ्नो अनुचित प्रभाव विस्तार गर्ने सर्तहरू लाद्ने गरेका छन्।
ओईसीडीले लगानीको प्रतिस्पर्धालाई केवल 'पूँजी पाउनु वा नपाउनु' सँग मात्र नजोडी समग्र वित्तीय प्याकेजका रूपमा हेर्नुपर्ने बताएको छ। प्रतिस्पर्धा हुँदा कम्पनीहरूले उच्च मूल्याङ्कन, अनुकूल लगानी रकम र सञ्चालक समितिमा सन्तुलित प्रतिनिधित्वको अवसर पाउँछन्। तर, बजारमा केही सीमित खेलाडी मात्र हाबी हुँदा सञ्चालक समितिमा एकाधिकार, प्रमुख निर्णयहरूमा भिटो (सहमति लिनैपर्ने) अधिकार, सूचनामा अत्यधिक नियन्त्रण र भविष्यमा शेयर खरिद गर्ने अग्राधिकारजस्ता कडा सर्तहरू थोपर्ने गरिन्छ। यसले संस्थापक तथा विद्यमान शेयरधनीहरूको निर्णय गर्ने अधिकारलाई कमजोर बनाइदिन्छ।
ग्रोथ मार्केटमा सूचीकरण र तरलताको चुनौती
स्टार्टअप तथा साना कम्पनीहरूका लागि सार्वजनिक शेयर बजार (ग्रोथ मार्केट) अर्को विकल्प हुनसक्ने भए पनि त्यहाँ पहुँच र शेयर कारोबारको तरलता मुख्य चुनौती बनेको छ। सन् २०२३ को अन्त्यसम्म विश्वका ५९ वटा क्षेत्राधिकारका ग्रोथ मार्केटमा १६ हजारभन्दा बढी कम्पनी सूचीकृत थिए। यो संख्या विश्वका कुल सूचीकृत कम्पनीको करिब एक तिहाइ भए पनि बजार पूँजीकरणमा यसको हिस्सा ४ प्रतिशतभन्दा कम छ।
एसियाली बजारमा सन् २०२४ को सुरुवातसम्म ८ हजार ५८६ वटा ग्रोथ कम्पनी सूचीकृत थिए, जसको संयुक्त बजार पूँजीकरण ३.३ ट्रिलियन अमेरिकी डलर (विश्वव्यापी ग्रोथ मार्केटको करिब ८० प्रतिशत) थियो। तर सूचीकृत हुँदैमा पूँजी जुट्ने ग्यारेन्टी नहुने अध्ययनले देखाएको छ। मुख्य शेयर बजारमा संस्थागत लगानीकर्ताको स्वामित्व ४६ प्रतिशत हुँदा ग्रोथ मार्केटमा भने यो हिस्सा केवल १८ प्रतिशतमा सीमित छ। उदाहरणका लागि, थाइल्यान्डमा कतिपय साना कम्पनीको शेयर आईपीओ जारी भएको दुई–तीन महिनासम्म मात्र सक्रिय कारोबार हुने र त्यसपछि कारोबार लगभग ठप्प हुने गरेको पाइएको छ।
चीन, दक्षिण कोरिया, इन्डोनेसिया र थाइल्यान्डले नाफा नकमाएका तर सम्भावना बोकेका कम्पनीलाई ग्रोथ मार्केटमा सूचीकृत हुन दिने नीति लिएका छन्, जसले केही राहत दिए पनि तरलताको अभाव कायमै छ।
सिन्डिकेट र प्रतिस्पर्धाविरोधी जोखिम
एउटै कम्पनीमा धेरै लगानीकर्ता मिलेर लगानी गर्दा (सिन्डिकेसन) जोखिम बाँडफाँट हुने भए पनि यसले प्रतिस्पर्धाविरोधी व्यवहार निम्त्याउने खतरा औँल्याइएको छ। प्रतिस्पर्धी लगानीकर्ताहरू मिलेर गोप्य रूपमा मूल्याङ्कन मूल्य तोक्ने, सम्झौताका सर्त साझा गर्ने वा लगानीका अवसर आपसमा बाँडफाँट गरेर एकअर्कालाई चुनौती नदिने अघोषित सहमति हुनसक्ने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, प्राइभेट इक्विटीले गर्ने मर्जर तथा एक्विजिसन (M&A) मा सम्भावित खरिदकर्ताको संख्या थोरै हुँदा कम्पनी बिक्री गर्ने संस्थापकहरूको मोलमोलाइ क्षमता घट्छ, जसले कम्पनीको वास्तविक बहिर्गमन (एक्जिट) मूल्य घटाउने र नयाँ कम्पनी खोल्ने उत्साहलाई कमजोर बनाउँछ।
नियामकलाई ओईसीडीको सुझाव
यी समस्याहरूको समाधानका लागि ओईसीडीले प्रतिस्पर्धा नियमन गर्ने निकाय र वित्तीय क्षेत्रका नियामकहरूबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएको छ।
-
बजार प्रवेशमा सहजता: नयाँ लगानीकर्ता तथा फन्ड व्यवस्थापकलाई बजार प्रवेशमा बाधा पुर्याउने अनावश्यक नियामकीय जटिलता हटाउनुपर्ने।
-
अनुचित सहकार्यमा निगरानी: लगानीकर्ताहरूबीच हुने प्रतिस्पर्धाविरोधी गठबन्धन र सिन्डिकेटको अनुगमन गर्नुपर्ने।
-
प्रतिस्पर्धात्मक मूल्याङ्कन: ठूला अधिग्रहण वा मर्जरले लगानीका विकल्प समाप्त पार्ने अवस्था आएमा त्यसको प्रतिस्पर्धात्मक प्रभावको सूक्ष्म विश्लेषण गर्नुपर्ने।
-
सार्वजनिक पूँजीको सन्तुलित भूमिका: सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण पूँजीले निजी लगानीलाई विस्थापित नगर्ने गरी निश्चित अवधिका लागि मात्र प्रवाह गरिनुपर्ने।
ओईसीडीको प्रतिस्पर्धा समितिको आगामी छलफलका लागि तयार गरिएको यो प्रतिवेदनले लगानीकर्ताको संख्या बढाउनु मात्र नभई स्टार्टअपहरूले आफ्नो आवश्यकताअनुसार उपयुक्त सर्तमा सहज वित्तीय विकल्प छनोट गर्न पाउने वातावरण निर्माण गर्नु नै दिगो आर्थिक वृद्धिको आधार भएको निष्कर्ष निकालेको छ।
तल हेर्नुहोस् ‘कम्पिटिसन इन क्यापिटल मार्केट्स एन्ड इट्स कन्ट्रीब्युसन टु ग्रोथ एन्ड इनोभेसन’ शीर्षकको नयाँ अध्ययन प्रतिवेदन