६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको मोदी र बालेनले गरे संयुक्त शिलन्यास

Nov 23, 2026 02:26 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीले सोमबार भर्चुअल माध्यमबाट सङ्खुवासभामा निर्माण हुने आयोजनाको शिलान्यास गरेका हुन् ।

९२ अर्ब ६७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुने आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ ।

आयोजनाबाट उत्पादित कुल विद्युतकाे २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ भने २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीले आयोजना निर्माण गरिरहेको छ । नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता भएको थियो ।

अरुण–३ आयोजनाबाट निस्कने पानीलाई १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याएर थप विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट नेपालले निःशुल्क ऊर्जा, रोयल्टी, कर तथा रोजगारीलगायत आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।