एसिया पावर इन्डेक्स २०२६ : अमेरिकाको शक्ति खस्किँदै, चीन थप शक्तिशाली, नेपाल पुछारबाट दोस्रोमा

Nov 23, 2026 05:14 PM Merolagani



२७ देश तथा क्षेत्र समेटिएको एसिया पावर इन्डेक्स २०२६ मा नेपाल २६औँ स्थान (नेपाल पुछारबाट दोस्रोमा) मा परेको छ।

अस्ट्रेलियाको प्रतिष्ठित अनुसन्धान संस्था Lowy Institute ले नोभेम्बर २२, २०२६ मा सार्वजनिक गरेको यो प्रतिवेदनले एसिया–प्रशान्त क्षेत्रमा रहेका २७ देश तथा क्षेत्रको समग्र शक्ति मूल्याङ्कन गरेको छ। सन् २०१८ देखि सुरु भएको यो वार्षिक अध्ययनको आठौँ संस्करण हो।

यस वर्षको प्रतिवेदनका लेखक हन्टर मार्स्टन र ज्याक सातो हुन्। उनीहरूले १३१ वटा सूचक तथा शक्तिका आठवटा प्रमुख आधार प्रयोग गरेर देशहरूको अवस्था मूल्याङ्कन गरेका छन्।

यस वर्षको सबैभन्दा ठूलो निष्कर्ष के हो भने अमेरिकाको अग्रता अझै कायम छ, तर चीनसँगको दूरी सन् २०१८ यताकै सबैभन्दा कम भएको छ। भारतको क्षेत्रीय प्रभाव बढेको छ। दक्षिणपूर्वी एसियाली देशहरूले विभिन्न संकटको सामना गरिरहेका छन्। नेपाल भने क्षेत्रीय शक्ति प्रतिस्पर्धामा सबैभन्दा कमजोर समूहमा परेको छ।

अंक १०० को अधिकतम सीमामा यस वर्ष अमेरिकाले ७८.९ अंक प्राप्त गरी पहिलो स्थान कायम गरेको छ। चीन ७३.६ अंकसहित दोस्रो स्थानमा छ।

दुई देशबीचको अन्तर केवल ५.३ अंक छ। सन् २०१८ मा इन्डेक्स सुरु भएयता यो सबैभन्दा साँघुरो अन्तर हो।

भारत ४०.५ अंकसहित तेस्रो स्थानमा छ। जापान ३८.६ र रुस ३२.२ अंकसहित क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। दक्षिण एसियामा भारत तेस्रो स्थानमा, पाकिस्तान १६औँ, बंगलादेश २०औँ, श्रीलंका २१औँ र नेपाल २६औँ स्थानमा छन्।

नेपालले यस वर्ष ५.१ अंक प्राप्त गरेको छ। २७ देश तथा क्षेत्रमध्ये नेपालभन्दा तल टिमोर लेस्टे मात्र छ।

तर नेपाललाई केवल अन्तिमबाट दोस्रो स्थानमा परेको भनेर विश्लेषण गर्नु पर्याप्त हुँदैन। नेपालको कुन पक्ष बलियो छ र कुन पक्ष कमजोर छ भन्ने तथ्य अझ महत्त्वपूर्ण छ।

लोवी इन्डेक्सअनुसार नेपालको सबैभन्दा बलियो पक्ष सांस्कृतिक प्रभाव (Cultural Influence) हो। यसमा नेपाल २२औँ स्थानमा छ।

यसको अर्थ नेपालसँग अन्तर्राष्ट्रिय आकर्षणका केही महत्त्वपूर्ण आधार छन्। हिमालय, सगरमाथा, बुद्धको जन्मस्थल लुम्बिनी, प्राकृतिक पर्यटन, सांस्कृतिक सम्पदा र नेपाली डायस्पोराले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माण गरेका छन्।

 

तर नेपालको सबैभन्दा कमजोर पक्ष आर्थिक सम्बन्ध (Economic Relationships) हो। यसमा नेपाल २६औँ स्थानमा छ।  यो तथ्य नेपालको अर्थतन्त्रका लागि विशेष चिन्ताको विषय हो।

नेपालसँग विश्वका विभिन्न मुलुकमा व्यापार विस्तार गर्ने, विदेशी लगानी आकर्षित गर्ने, निर्यात बढाउने र क्षेत्रीय आर्थिक सञ्जालमा प्रभावकारी भूमिका खेल्ने क्षमता अझै सीमित छ। 

एसियाका २७ देश तथा क्षेत्रको शक्ति क्रम

स्थान

देश

अंक

१

अमेरिका

७८.९

२

चीन

७३.६

३

भारत

४०.५

४

जापान

३८.६

५

रुस

३२.२

६

अस्ट्रेलिया

३१.७

७

दक्षिण कोरिया

३१.०

८

सिंगापुर

२६.९

९

इन्डोनेसिया

२१.७

१०

मलेसिया

२०.५

११

थाइल्यान्ड

२०.०

१२

भियतनाम

२०.०

१३

न्युजिल्यान्ड

१६.५

१४

ताइवान

१६.३

१५

फिलिपिन्स

१५.४

१६

पाकिस्तान

१५.०

१७

उत्तर कोरिया

१३.०

१८

ब्रुनाई

१०.५

१९

कम्बोडिया

९.४

२०

बंगलादेश

८.९

२१

श्रीलंका

८.२

२२

म्यानमार

७.२

२३

लाओस

७.०

२४

मंगोलिया

५.९

२५

पपुवा न्युगिनी

५.३

२६

नेपाल

५.१

२७

टिमोर लेस्टे

५.०

 

एसिया पावर इन्डेक्सले शक्ति कसरी मापन गर्छ ?

यो प्रतिवेदनको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको मूल्याङ्कन विधि हो। लोवी इन्स्टिच्युटले कुनै देशको शक्ति मापन गर्दा उसको अर्थतन्त्रको आकार वा सैनिक संख्या मात्रै हेर्दैन। आठवटा प्रमुख आधारलाई निश्चित भार दिएर समग्र अंक निकाल्छ।

शक्ति मापनका आठ आधार र तिनको भार

आर्थिक क्षमता  (जीडीपी, प्रविधि, उत्पादन र विश्व अर्थतन्त्रमा पहुँच)  17.5%

सैन्य क्षमता  (सैनिक खर्च, हतियार, सेना र युद्ध क्षमता आर्थिक सम्बन्ध ) 17.5%

 आर्थिक सम्बन्ध (व्यापार, विदेशी लगानी र आर्थिक कूटनीति) 15%

 प्रतिरोधात्मक क्षमता (आन्तरिक स्थिरता, ऊर्जा सुरक्षा र संकट सामना गर्ने क्षमता) 10%

 भविष्यका स्रोत (भविष्यको अर्थतन्त्र, जनशक्ति र रक्षा स्रोत)  10%

 रक्षा सञ्जाल ( सैन्य गठबन्धन, संयुक्त अभ्यास र रक्षा साझेदारी) 10%

कूटनीतिक प्रभाव (दूतावास, अन्तर्राष्ट्रिय संस्था र विदेश नीति) 10%

 सांस्कृतिक प्रभाव (पर्यटन, संस्कृति, सञ्चारमाध्यम र जनसम्बन्ध) 10%

 कुल भार  १०० प्रतिशत 

यसका लागि ३० वटा विषयगत उपसूचक र १३१ वटा मूल सूचक प्रयोग गरिएको छ। आधाभन्दा बढी सूचकमा लोवी इन्स्टिच्युटको आफ्नै अनुसन्धान समावेश छ भने बाँकी सूचक सयौँ सार्वजनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतबाट लिइएका छन्।

अमेरिकाको शक्ति किन खस्कियो?

यस वर्षको प्रतिवेदनको सबैभन्दा चर्चित निष्कर्ष अमेरिकाको शक्ति घट्नु हो।

अमेरिकाले सन् २०२५ को तुलनामा १.५ अंक गुमाएको छ। उसको कुल अंक ७८.९ पुगेको छ। यो गिरावटलाई प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मध्यपूर्व केन्द्रित नीतिसँग जोडेको छ।

विशेषगरी सन् २०२६ फेब्रुअरीमा सुरु भएको इरानसँगको युद्धले अमेरिकी सैन्य स्रोत र कूटनीतिक प्रभावमा दबाब सिर्जना गरेको प्रतिवेदनको निष्कर्ष छ।

यस युद्धका कारण अमेरिकाले लामो दूरीका क्षेप्यास्त्रको मौज्दात खर्च गर्नुपरेको छ। प्रशान्त क्षेत्रबाट सैनिक तथा रणनीतिक स्रोत मध्यपूर्वतर्फ मोडिएको छ। दक्षिण कोरियासँगका सैन्य अभ्यास घटाउने अमेरिकी संकेतले पनि एसियाली सहयोगीहरूमा चिन्ता बढाएको छ।

यसको अर्को प्रभाव अमेरिकी नेतृत्वप्रतिको विश्वासमा देखिएको छ। एसिया क्षेत्रका सर्वेक्षणमा सहभागीहरूले अमेरिकालाई एसियाप्रति कम ध्यान दिने र अन्य क्षेत्रमा बढी व्यस्त हुने शक्तिका रूपमा हेरेको प्रतिवेदनमा उल्लेख छ।

यसको अर्थ अमेरिका कमजोर राष्ट्र बन्यो भन्ने होइन। सैन्य क्षमता, आर्थिक स्रोत र अन्तर्राष्ट्रिय सञ्जालमा अमेरिका अझै अत्यन्त शक्तिशाली छ। तर उसको शक्ति प्रयोग गर्ने प्राथमिकता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ।

अमेरिकाको शक्ति केही घट्दा चीनको शक्ति उल्लेखनीय रूपमा स्थिर रह्यो। चीनले आफ्नो कूटनीतिक र सांस्कृतिक प्रभाव विस्तार गरेको छ भने प्रविधि र सैन्य आधुनिकीकरणलाई निरन्तरता दिएको छ।

यस वर्ष चीनको कुल अंक ७३.६ छ। उसको सबैभन्दा बलियो पक्ष कूटनीतिक प्रभाव हो, जहाँ ऊ एसियामा पहिलो स्थानमा छ। चीनको उदयमा तीनवटा पक्ष महत्त्वपूर्ण देखिन्छन्।

पहिलो, प्रविधि। चीनको अनुसन्धान तथा विकास क्षेत्रमा संलग्न जनशक्ति अमेरिकाको भन्दा तीन गुणाभन्दा बढी रहेको प्रतिवेदनले उल्लेख गरेको छ। कृत्रिम बुद्धिमत्ता अर्थात् एआईमा चिनियाँ मोडलहरूले अमेरिकी प्रतिस्पर्धीको स्तरमा चुनौती दिन थालेका छन्।

दोस्रो, आर्थिक सम्बन्ध। चीन एसियाका धेरै मुलुकको प्रमुख व्यापारिक साझेदार हो। व्यापार, लगानी, पूर्वाधार र आपूर्ति शृङ्खलामा उसको प्रभाव व्यापक छ।

तेस्रो, कूटनीति। चीनले एसियाली मुलुकसँग सम्बन्ध विस्तार गर्दै आफूलाई क्षेत्रीय स्थिरता र आर्थिक सहकार्यको साझेदारका रूपमा प्रस्तुत गरिरहेको छ।

तर चीनको एउटा कमजोरी पनि छ। लोवी इन्डेक्समा उसको रक्षा सञ्जालको स्थान तुलनात्मक रूपमा कमजोर छ। यसले अमेरिकाको जस्तो औपचारिक सैन्य गठबन्धन र सुरक्षा साझेदारीको व्यापक सञ्जाल चीनसँग नरहेको देखाउँछ।

अर्थात् चीन आर्थिक, प्राविधिक र कूटनीतिक प्रभावमा अगाडि बढे पनि अमेरिकी सैन्य गठबन्धन प्रणालीको विकल्प बन्न अझै सकेको छैन।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।