शेयर किनबेचको मध्यस्थता गरेरै ब्रोकरहरूले कात्तिकमा कमाए साढे २८ करोड

Nov 24, 2026 05:57 AM Merolagani



  • चार वटा ब्रोकर कम्पनीले गरे १ करोडभन्दा बढी खुद आम्दानी
  • नयाँ ब्रोकर र बैंकका सहायक कम्पनीहरूको कमाइ अझै सुस्त

सुवास निरौला

दोस्रो बजारमा शेयर खरिद–बिक्रीको मध्यस्थता गरेबापत ब्रोकर कम्पनीहरूले गत कात्तिक महिनामा मात्रै साढे २८ करोड रुपैयाँभन्दा बढी खुद आम्दानी गरेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक गरेको कात्तिक महिनाको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका ९१ ब्रोकर कम्पनीहरूले कुल २८ करोड ५९ लाख २३ हजार १२५ रुपैयाँ खुद कमिसन हात पारेका हुन्।

नेप्सेका अनुसार यो रकम ब्रोकरहरूको चोखो (खुद) आम्दानी हो। शेयर कारोबारबापत संकलित कुल कमिसनबाट नेप्से तथा धितोपत्र बोर्डलाई बुझाउनुपर्ने शुल्क र १५ प्रतिशत अग्रिम आयकर (टीडीएस) कट्टा गरेपछि ब्रोकरहरूले उक्त रकम प्राप्त गरेका हुन्। कर तथा नेप्से शुल्क कटाउनुअघि ब्रोकरहरूको ग्रस कमिसन भने ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी थियो।

चार ब्रोकरको कमाइ १ करोड माथि, नासा शीर्ष स्थानमा

कात्तिक महिनामा ब्रोकर कम्पनीहरूमध्ये सबैभन्दा बढी कमाउने सूचीमा नासा सेक्युरिटीज (ब्रोकर नं. ५८) अग्रस्थानमा देखिएको छ। नासा एक्लैले महिनाभरिमा २ करोड २६ लाख ४४ हजार ६६ रुपैयाँ खुद कमिसन कमाएको छ। यस अवधिमा कम्पनीले ५ अर्ब १४ करोड रुपैयाँको शेयर खरिद र ५ अर्ब ५३ करोड रुपैयाँको शेयर बिक्री गर्दै कुल १० अर्ब ६७ करोड रुपैयाँको कारोबार गरेको छ।

दोस्रो स्थानमा इम्पिरियल सेक्युरिटीज (ब्रोकर नं. ४५) रहेको छ। कम्पनीले ४ अर्ब ८७ करोड रुपैयाँको शेयर किनबेच गराएर १ करोड ६ लाख ११ हजार ९९ रुपैयाँ खुद कमिसन आम्दानी गरेको छ।

त्यस्तै, भिजन सेक्युरिटीज (ब्रोकर नं. ३४) १ करोड ५ लाख ४६ हजार २०१ रुपैयाँ आम्दानीसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको डायनामिक मनी म्यानेजर्स (ब्रोकर नं. ४४) ले १ करोड १ लाख ९७ हजार २९४ रुपैयाँ कमाएको छ। यसरी कात्तिक महिनामा कुल चार वटा ब्रोकर कम्पनी १ करोडभन्दा बढी खुद आम्दानी गर्न सफल भएका छन्।

शीर्ष १० मा पुरानाकै दबदबा

कात्तिक महिनामा ७० लाख रुपैयाँभन्दा बढी खुद कमिसन कमाउने ब्रोकर कम्पनीहरू उत्कृष्ट १० भित्र अटाएका छन्। पाँचौँ स्थानमा रहेको सनि सेक्युरिटीजले ९३ लाख २८ हजार, अनलाइन सेक्युरिटीजले ८६ लाख ८४ हजार र दीपशिखा धितोपत्र कारोबारले ८५ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेका छन्।

त्यसैगरी, एबिसी सेक्युरिटीजले ७४ लाख ५९ हजार, त्रिशक्ति सेक्युरिटीजले ७३ लाख १४ हजार र दक्षिणकाली इन्भेष्टमेन्टले ७० लाख ६४ हजार रुपैयाँ खुद आम्दानी गर्दै उत्कृष्ट १० भित्र आफ्नो उपस्थिति बलियो बनाएका छन्।

                                       कात्तिक महिनामा सर्वाधिक कमाउने शीर्ष १० ब्रोकरहरू:

 

नयाँ ब्रोकर र बैंकका सहायक कम्पनीको अवस्था सुस्त

यस पटक उत्कृष्ट १० भित्र कुनै पनि नयाँ ब्रोकर कम्पनी पर्न सकेनन्। नयाँ ब्रोकरहरूमध्ये सबैभन्दा अगाडि रहेको क्यापिटल म्याक्स सेक्युरिटीज (ब्रोकर नं. ६२) ५७ लाख ४४ हजार ९६९ रुपैयाँ आम्दानी गर्दै समग्र सूचीको १४ औँ नम्बरमा सीमित भएको छ। त्यसपछि कलश स्टक मार्केटले ४३ लाख ५१ हजार, सेयरप्रोले ३८ लाख ६१ हजार र सन सेक्युरिटीजले ३६ लाख ९७ हजार रुपैयाँ कमाएका छन्।

उता, बैंकका सहायक कम्पनीका रूपमा भित्रिएका ब्रोकरहरूको अवस्था अझै कमजोर देखिएको छ। केबिएल सेक्युरिटीज (२९ लाख ७८ हजार) र एनआईएमबी स्टक मार्केट्स (२९ लाख २८ हजार) बाहेक अन्य बैंक ब्रोकरहरूको कारोबार निकै सुस्त छ। विशेषगरी माछापुच्छ्रे सेक्युरिटीज महिनाभरिमा जम्मा २ लाख १७ हजार ४६७ रुपैयाँ मात्र कमाएर पुछारबाट पाँचौँ स्थान (८७ औँ) मा खुम्चिएको छ भने आरबिबी सेक्युरिटीजले ६ लाख ५६ हजार र ग्लोबल आइएमई सेक्युरिटीजले ७ लाख ८० हजार रुपैयाँ मात्र कमाएका छन्।

स्टक डिलरमा नबिल अघि

दोस्रो बजारमा स्टक डिलरको रूपमा कारोबार गरिरहेका दुई कम्पनीमध्ये यस पटक नबिल स्टक डिलरले नागरिक स्टक डिलरलाई स्पष्ट रूपमा पछि पारेको छ। नबिल स्टक डिलरले ४९ लाख ७५ हजार ६५१ रुपैयाँ आम्दानीका साथ १६ औँ स्थान हासिल गर्दा नागरिक स्टक डिलर ३० लाख ६१ हजार ३५४ रुपैयाँ आम्दानीसहित २५ औँ स्थानमा सीमित भएको छ।

धितोपत्र ऐन अनुसार सर्वसाधारण लगानीकर्ताले दोस्रो बजारमा शेयर खरिद–बिक्री गर्दा अनिवार्य रूपमा ब्रोकर कम्पनीमार्फत कारोबार गर्नुपर्ने व्यवस्था छ। त्यसबापत ब्रोकर कम्पनीहरूले नेपाल धितोपत्र बोर्डले तोकेको सीमाभित्र रहेर निश्चित प्रतिशत सेवा शुल्क (कमिसन) पाउने गर्दछन्।




सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।